काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने निर्णय गरेको छ । सामान्य प्रशासनमन्त्री अनिता देवीको अध्यक्षतामा बसेको विषयगत समितिको शुक्रबारको बैठकले तहको वडा विभाजन र सीमाना परिवर्तन गर्ने प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधनका लागि तयार पारिएको मस्यौदा उपर प्रदेश सरकार सँग समेत सुझाव माग गर्ने निर्णय पनि गरेको मन्त्रालयका सहसचिव सुमन दाहालले जानकारी दिए । बैठकले प्रदेश र स्थानीय तहका सगठन संरचना र दरबन्दी सिर्जना व्यवस्थापन सम्बन्धी राष्ट्रिय मापदण्ड तर्जुमा गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुको अभिलेख प्रविष्टि गर्न निजामती किताबखानाको प्राविधिक समन्वयमा सबै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालनमा स्पाउन यस मन्त्रालयले सोको नीतिगत निर्णय गर्ने र जारी भएका प्रदेश निजामती सेवा कानूनहरुको प्रावधानगत विश्लेषण असार मसान्त भित्र सम्पन्न गरी सोको प्रतिवेदन विषयगत समितिका अध्यक्ष समक्ष पेश गर्नका निम्ति समिति गठन गर्ने निर्णय पनि भएको छ ।