काठमाडौं। अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने बारे थप प्रष्टीकरण पठाउन नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई निर्देशन दिएको छ।
सेबोनले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै पत्र पठाएपछि मन्त्रालयले थप प्रष्टीकरण खोजेको हो। मन्त्रालयले सोमबार नै सेबोनलाई पत्र पठाएको थियो।
सेबोनको गत शुक्रबार बसेको संचालक समिति बैठकले स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन अनुरोधको निर्णय गरेको थियो। अर्थको पत्रपछि सेबोन अध्यक्ष रमेशकुमार हमालले मंगलबारनै संचालक समिति बैठक डाकेर प्रष्टीकरण पठाउन खोजेका थिए।
तर नेपाल राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै संचालकमा आएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले नभ्याउने जानकारी दिएपछि बुधबारलाई संचालक समिति बैठक डाकिएको छ। राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै गएका मुकुन्दकुमार क्षेत्रीको विदाई भइसकेको छ भने श्रेष्ठको स्वागत भइसकेको छैन।