भैरहवा । रुपन्देहीको भैरहवामा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सिंगापुर कलोनीमा ५ वर्ष लगाएर तयार गरेको होटललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।
होटलको शनिबार लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले पर्यटनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने बताए ।
सम्राट ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको होटल चौथो हो । यो ग्रुपले काठमाडौं, चितवन र पोखरामा गुणस्तरीय हस्पिटलिटी सेवा दिदै आएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकका साथै भारतबाट आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत सी एन पाण्डेले बताए । होटलमा हालसम्म ५० करोड लगानी भइसकेको छ ।
उनका अनुसार १० कठ्ठा क्षेत्रफलमा रहेको होटल निकट भविष्यमै १ विघा क्षेत्रफलमा १० हजार स्वायरफुटको पार्टी र सेमिनार हलको सुविधा समेत यही होटलबाट उपलब्ध गराइनेछ । ६ सय र २ सय क्षमताका दुई हल बन्ने उनले बताए ।
होटलमा हाल डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठा छन् । होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिनेछ । केही कोठामा सुर्योदयको पहिलो किरण बेडमा पुग्ने गरी होटलमो निर्माण गरिएको पाण्डेले बताए । होटलमा कोटियार्ड लायञ्ज, स्वीमिङ पुल, रुफटप बार पनि रहेको उनले बताए ।
ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क भैरहवा, पोखरा, काठमाडौं र पोखरा प्रतिवद्ध रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौता नहुने समेत बताए ।
होटलमा आउने पाहुनाका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएका छौं,उनले भने ।
ल्याण्डमार्क भैरहवा विश्व सम्पदा क्षेत्र लुम्बिनीको भ्रमण गर्ने पर्यटक, व्यवसाय वृद्धिका लागि हुने कार्यक्रमहरु सामाजिक जमघट, विवाह लगायतको कार्यक्रमका लागि प्रमुख गन्तव्य बन्ने विश्वास लिइएको पाण्डेले बताए ।