नीतिपत्र
नयाँ गठबन्धनको खाका कोरिँदै, रास्वपाले गृह पाए अर्थ मन्त्रालयमा एमाले

काठमाडौं– कांग्रेस सम्मिलित १० दलीय गठबन्धन विघटन हुने भएपछि सत्ताको चाबी हाल प्रमुख प्रतिपक्षी रहेको नेकपा एमालेमा सर्ने निश्चित भएको छ।

नयाँ गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता लिइसकेका छन्। उनकै अगुवाइमा बालुवाटारमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुबीच छलफल भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सत्ताबाट घोक्रेठ्याक लगाएपछि एमाले र रास्वपासँग गठबन्धनको हात अगाडि बढाएका हुन्। पछिल्लो समीकरणमा उपेन्द्र यादव नेतृत्वको जसपा पनि सहभागी हुने भएको छ। 

सत्ता गठबन्धनभित्र खिचडी पाकिरहेको भनिरहेका बेला आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग एक्लै वार्ता गरेका थिए। बेलुकी महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो।

त्यो छलफलमा सरकारमा सहभागी कांग्रेस मन्त्रीहरु भ्रष्टाचारमा मुछिएको र अर्थमन्त्री प्रकाशशरण महतले आफूले भनेको नमानेको गुनासो प्रधानमन्त्री ओलीसमक्ष पोखेको बताइन्छ।

कांग्रेसलाई सत्ता विमुख गरेसँगै आज बिहानैदेखि एमाले गठबन्धनसहितका दलहरु बालुवाटार बैठकमा जुटेका छन्। माओवादीको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटारमा बसेको थियो। एमाले सचिवालय बैठक ओली निवास बालकोटमा बसिरहेको छ। आजै रास्वपाले पनि सचिवालय बैठक डाकेको छ।

आज बिहान ८ बजे बस्ने भनिएको निवर्तमान सत्ता गठबन्धनको बैठक पनि स्थगित भएको छ। आजै फिनल्यान्ड जाने तयारीमा रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई भ्रमणमा नजान भनिएको छ। 

कांग्रेसरहित सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा आइतबार मात्रै जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा तीन घन्टा लामो छलफल भएको थियो।

त्यो छलफलमा एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव वर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादवबीच नयाँ सत्ता गठबन्धनको धागो बलियो बनाउनेबारे सहमति जुटेको बताइएको छ।

छलफलपछि प्रधानमन्त्री प्रचण्ड र ओलीसँग एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी उपमहासचिव वर्षमान पुनले फेरि छलफल गरेका थिए। गठबन्धनको अन्तिम खाका बनाउने जिम्मेवारी यी दुई नेतालाई दिइएको छ।

नयाँ गठबन्धनमा भएको सहमतिअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै सत्तामा प्रवेश गर्नेछन् भने प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन्। अर्थमा रास्वपाकै स्वर्णिम वाग्लेको चर्चा छ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि अर्थमन्त्री हुने चर्चा छ। एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउनेछ। सभामुख एमालेकै छन्। राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कुरा नमिलेपछि सत्ता गठबन्धन भत्किने हल्ला सुरु भइसकेका थिए।

ओली र प्रचण्डबीच भएको मोटामोटी छलफलमा रास्वपा सभापति लामिछाने गृह मन्त्रालय पाए एमालेलाई अर्थ मन्त्रालयको जिम्मा दिने सहमति जुटेको बताइन्छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update