पछिल्लो नेपाली विद्वत वर्गमा सहिद कसलाई भन्ने र नभन्ने विषय अलि पेचिलो बन्दै गइरहेको छ। हिंजो राणा विरोधी आन्दोलन मध्येका चारजना मात्र सहिद हुन् भन्ने कुरालाई नेपाली जनजिभ्रोमा मुखरित छंदैछ। १९९७ सालदेखि २००७ सालसम्म आउँदा धेरै नेपाली सहिदहरुले रगत बगाए।काँङ्ग्रेस कम्युनिष्ट भएपाबत दरबारिया इतिहासकारले महत्व दिएनन्। राणाका कठपुतली राजालाई २००७ सालमा उन्मुक्ति प्राप्त भएपछि राजा त्रिभुवनका छायामुनि चार सहिदलाई सम्मान दिइयो। वि.सं.१९९७ सालपछिका दिनहरुमा सहिदहरुको विषयमा राज्यस्तरबाट आजसम्म पनि न्यायोचित व्यवहार हुन पाएको छैन। सातसालको सेरोफेरो हुँदै आजसम्म नेपालमा हजारौं हजार सहिदहरुले अमरत्व प्राप्त गरेका छन्।
नेपाल राष्ट्र निर्माणदेखि महान जनयुद्ध र जनआन्दोलनका वीर विरङ्गनाहरुलाई कसरी सम्झने र कसरी व्यवस्थित गर्ने, वास्तविक सहिद गाथा के हो ? माघ १६ ले मात्र सम्पूर्ण सहिदहरुलाई प्रतिनिधित्व गर्छ कि गर्दैन ? वा तत्कालीन माओवादीले जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेलले शहादत गरेको दिन फाल्गुण १४ देखि झापा आन्दोलनका सहिदलाई सुखानीको जङ्गलमा हत्या भएको दिनको सम्झनामा सहिद सप्ताह मनाउँदै आएको फाल्गुण २१ ले समेट्न सक्ला ? नेपालमा वि.सं. १९९७ साल सालको झझल्को दिने सयकडौं सहिदको सम्झनालाई सम्झने सेरोफेरोमा रहेर यो आलेख तयार गरिएको छ।
विषय प्रवेशः
आजसम्मको मानव इतिहास उत्पीडित वर्ग र उत्पीडक वर्ग बीचको संघर्षको गाथा हो। इतिहास आगतलाई सन्देश प्रवाह गर्ने विगत हो। इतिहासका सर्जक जनसमुदाय भए बमोजिम जनसमुदायकै रगत पसिनाबाट इतिहास कोरिएको छ। सम्पूर्ण मानव जातिको उन्नति, प्रगति र मुक्तिको प्रयत्नमा यो दुनियाँमा धेरै रगत बगिसकेको छ। इसापूर्व ७३ मा प्राचीन रोमन साम्राज्यमा दाश नेता स्पार्टाकसको नेतृत्वमा भएको दास विद्रोहमा उनीसहित १० औं हजार दाश विद्रोहीलाई शुलीमा झुण्ड्याई तड्पाएर मारिएको थियो।
ग्यालेलियो र जर्दानोब्रुनोहरु धार्मिक अन्धविश्वासी मतको विपक्षमा वैज्ञानिक मतलाई आत्मसात गरेको वापत मारिएका थिए। फ्रान्सिसी राज्य क्रान्ति र पेरिस विद्रोहमा ३० हजार भन्दा धेरै मजदूरले बलिदान गरेका थिए।
त्यस्तै भारतीय दुई दुईवटा स्वतन्त्रता संग्राममा थुप्रै जलियावाग काण्ड, भगत सिंह तथा चन्द्र शेखर आजाद काण्ड, मात्र हैन महात्मा गान्धी समेत हजारौ हजारको शहादत भएको थियो। रुसी क्रान्ति दोस्रो विश्वयुद्धसम्म आउँदा २ करोड जनताको बलिदान उसले व्यहोरेको थियो। चिनियाँ भियतनाम क्रान्तिमा बलिदान दिनेहरु पनि करोड ज्यादा थिए।
नेपालको इतिहास निर्माण र एकीकृत राष्ट्र निर्माणको सन्देशदेखि आजको सार्वभौम सत्ता सम्पन्न गणतन्त्र नेपाल बन्ने सन्दर्भमा हजारौं नेपालीले बलिदान दिनु परेको छ।
अझ दुई दुईवटा विश्व युद्ध र क्षेत्रीय युद्धमा अनाहकमा बगेको रगतको हिसाब नै हुन सकेको छैन। २००७ साल सेरोफेरोको राणा शासन विरुद्धको आन्दोलन २००७ साल पछिको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, २०१७ सालपछिको पञ्चायती व्यवस्था विरुद्धको अन्दोलन,झापा विद्रोह, २०४६ सालको आन्दोलन, दसवर्षे जनयुद्धको पृष्ठभूमिमा भएको जनआन्दोलन नेपाली जनताका उच्चतम छोराछोरीले गरेको बलिदानलाई आज हामीले अवमूल्यन गर्न सक्दैनौं। यसमा हामीले गौरव गर्नैपर्छ। उनीहरुको शहादत र गौरवपूर्ण वीरगाथालाई नयाँ आधारमा पुनमूल्याङ्कन गर्नुपर्छ।
सहिदको परिभाषाः
हामीले आम रुपमा उच्चारण गर्ने सहिद शब्दको अर्थ बलिदान भन्ने हुन्छ। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित बृहद नेपाली शब्दकोष अनुसार आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति भनिएको छ।
त्यस्तै वसन्तकुमार शर्मा नेपालको नेपाली शब्द सागर अनुसार कुनै पनि शुभ परिणामको निम्ति लाग्दालाग्दै प्राण गुमाउने व्यक्ति, जाति र जनताको निम्ति संघर्ष गर्दागर्दै मरेको व्यक्ति भन्ने उल्लेख छ। विशाल नालन्दा शब्द सागर अनुसार कुनै शुभ प्रयत्नमा आफ्नो प्राण दिनेवाला व्यक्ति भन्ने रहेको छ। यी तीनवटै शब्दकोषको आशय र अर्थ एउटै छ।
सहिद शब्को अङ्ग्रेजी शब्द martyr भन्ने हुन्छ। अक्सफोर्ड डिक्सनरीअनुसार धार्मिक वा अन्य विश्वासका कारण मारिएको वा सताइएको व्यक्ति भन्ने आशय रहेको छ। येशू ख्रिष्ठलाई ईश्वर पुत्रका रुपमा मान्दै आए पनि उनी धार्मिक विश्वासका कारण मारिएका थिए। त्यसैले अङग्रेजी शब्द martyr ले धार्मिक तथा राजनीतिक राष्ट्रियतालाई समेत महत्व दिएको छ।
वास्तवमा परिवर्तनको पक्ष लोकहितको पक्षमा जीवनको प्रवाह नगरी लागेको व्यक्ति सहिद हो। सहिद इतिहासको त्यस्तो पात्र हो, जसले देश जनता र परिवर्तनको पक्षमा आस्था र विश्वासका साथ अविचलित रुपमा लड्दालड्दै जीवन बलिदान गर्न पुगेको हुन्छ।
उसको जीवनगाथा आम जनताको लागि प्रेरणाको श्रोत बन्न पुग्छ। जुन प्ररणाले जनसमुदायमा जागृति ल्याउँछ र आन्दोलन वा क्रान्तिले ठूलो शक्ति प्राप्त गर्दछ। परिणाम स्वरुप क्रान्तिलाई उत्कर्षतर्फ धकेल्ने गर्दछ र सफलता दिलाउने गर्दछ।
हामी भन्न सक्छौं हरेक आन्दोलन तथा क्रान्तिको सम्बन्ध रगतको लेनदेनसँग गासिने गर्छ। एकै शब्दमा भन्न सकिन्छ सहिद भनेको परिवर्तन र न्यायका लागि लड्दालड्दै प्राण उत्सर्ग गर्ने सपुतको विशेषता हो।
युगौयुगसम्म सहिदहरु सम्मानित हुन्छन्। सहिद राष्ट्रको निधि सम्पत्ति र प्रतिष्ठाको धरोहर हुन्। उनीहरु मरेर पनि बाँचिरहेका हुन्छन्। यिनी कुनै दल, क्षत्र जाति, र सम्प्रदाय विशेषको निजी सम्पत्ति हुन सक्दैनन्।
विषयवस्तु
नेपाल राष्ट्र निर्माण प्रक्रियादेखि नेपालको प्रजातान्त्रिक तथा जनतान्त्रिक क्रान्तिको संग्राममा अनेकौं देशभक्त वीर सपुतहरुले आफ्नो प्राणको आहुति दिएका छन्। यी आन्दोलन र जनयुद्धहरुमा नेपाली जनताहरुले इतिहासको बेग्ला बेग्लै काल खण्डमा भिन्नभिन्नै तबरले रगत र पसिना बगाएका छन्।
नेपाल एकीकरणको सम्बन्धमा कालु पाण्डे, रामकृष्ण कुँवर, भक्ति थापा, नयन सिंह थापा सरदार शिवराम सिंह बस्नेत आदि वीर योद्धाहरु सहित सयौं वीर सपुतहरुले वीरगति पाएका थिए। प्रथम कोतपर्वमा दरबारिया र भारदारी षडयन्त्रमा दामोदर पाण्डे, वंशराज पान्डे, जस्ता अदम्य साहस र वीरताका प्रतीकहरु मूला काटेजस्तै काटिएका थिए।यिनै र यस्तै वीर सपुतहरुबाट निर्माण भएको गौरवशाली राष्ट्रमा दोस्रो कोतपर्वबाट राणा शासनको उदय भएको थियो। यो राणा शासनको १०४ वर्षे कालखण्डमा लखन थापा, कृष्णलाल अधिकारी, (मकै पर्व)हरुले बलिदान दिनु परेको थियो। राणा शासन विरुद्धको आन्दोलनको क्रममा वि.सं.१९९७ माघ १० देखि १५ सम्ममा चारजना सपुतहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले हासीहासी फाँसी र छातीमा गोली थाप्नु परेको थियो।
वि.सं.२००७ सात साल सेरोफेरोमा नेपालमा जनजागृतिको व्यापक लहर फैलिएको थियो। नेपाली कङ्ग्रेसको मूल नेतृत्वमा सशस्त्र संघर्ष घोषणा भएको थियो। यस आन्दोलनमा नेपालीहरुले प्राणको बाजी लगाएर हजारौले रगत र पसिना बगाएका थिए। यस आन्दोलनमा बीरगन्ज कब्जा गर्दागर्दै थिरबम मल्ल र तेजबहादुर खत्रीले वीरगति पाएका थिए। यो आन्दोलन अन्ततः सम्झौतामा टुङ्गिएता पनि राणा शासनको अन्त्य भएको थियो। यो सम्झौताको विपक्षमा र राष्ट्रियताको पक्षमा विद्रोहको ज्वाला उठेका थिए।
काठमाण्डौंमा चिनियामान काजी र २०१० श्रावण १० मा पश्चिम नेपालका क्रान्तिकारी योद्धा भिमदत्त पन्तको शिर छेदन गरी हत्या गरिएको थियो। उनले उच्चकोटीको शहादत प्राप्त गरेका थिए। २०१७ सालको कालोकाण्डपछि निरङ्कुश पञ्चायती व्यवस्था लादियो। यसको विरुद्ध पुनः नेपाली कङ्ग्रेसले सशस्त्र संघर्ष घोषणा ग¥यो। यो संघर्षको क्रममा समशेरबहादुर खत्री, सरोज कोइराला, केशव कोइराला, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ, दुर्गानन्द झाँ, राम लक्ष्मण, सूर्यनाथ यादव लगायत सयौं प्रजातान्त्रिक योद्धाहरुले शहादत प्राप्त गरेका थिए।
नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलोपटक वर्ग संघर्षको उच्चतम रुप सशस्त्र झापा विद्रोह भएको थियो। उक्त विद्रोहले एउटा क्रान्तिकारी मूल्य मान्यता र आदर्शको स्थापना गरेको थियो। झापा विद्रोह क्रान्तिको श्रोत, आदर्शको प्रतीक र प्रेरणाको केन्द्र बनेको थियो।
नेपाली सर्वहारा वर्गको चेत र रगत पसिनाले नेपाली धर्तीलाई सिन्चित पारेको थियो। यो आन्दोलनमा चन्द्रकान्त भट्टराई,कृष्ण योङहाङ्, लक्ष्मी पाण्डे, छविलाल राजवंशी,चन्द्र डाँगी, रत्नकुमार बान्तवाहरुको बलिदान अमर छ।
त्यस्तै झापा आन्दोलनका नेता रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल, र नारायण श्रेष्ठलाई २०२९ फाल्गुण २१ गतेका दिन सुखानीको जङ्गलमा लगी पञ्चायती आतातायीहरुले गोली ठोकेर मारे। नेपाली जनवादी आन्दोलनमा सुखानीका यी वीर सहिदहरुले बगाएको रगतको ठूलो मूल्य रहेको छ।
छिन्ताङ्ग, पिस्करसँगै सिन्धुलीको भिमान जङ्गलमा सहिद ऋषि देवकोटा आजादले वीरगति प्राप्त गरेका थिए। त्यसरी नै ४० को दशकमा नेत्रलाल अभागी टंक भुसाल, मित्रमणि आचार्य, फणिन्द्र तिमिल्सिनाहरुले बगाएको रगतले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमि बनाएको थियो।
नेपाली जनक्रान्तिको इतिहासमा २००७ साल, २०३६ साल २०४६ सालमा भएका आन्दोलनबाट पूर्ण लोकतन्त्र प्राप्त हुन सकेको थिएन। यी आन्दोलनहरुले राजतन्त्रको मूलच्छेदन गर्न सकेनन्। राजतन्त्र संविधानमाथि नै रह्यो। राजामहाराजाका राजकीय अधिकारहरु छिन्न सकेनन्। यस्तो अवस्थामा परिवर्तन संस्थागत हुने कुरै भएन। नेपालमा बहुदलीयता र राजतन्त्रका सँगसँगै जान सक्दैनन् भन्ने कुरा स्पष्ट थियो। त्यसै पृष्ठभूमिमा जनयुद्धको शुरुआत भयो।
पूर्ण लोकतन्त्रको लागि सशस्त्र विद्रोहको क्रममा ठूलो बलिदानी भयो। नेपालमा आमूल परवर्तन गर्ने क्रान्तिचेत, विप्लवी आस्था, र बलिदानको भावनाका साथ अगाडि बढ्दा रामवृक्ष यादव, सुरेश वाग्ले, दण्डपाणि न्यौपाने, रितबहादुर खड्का, मोहनचन्द्र गौतम, शेरमान कुँवर,किमबहादुर थापा, नेपबहादुर केसी, लगायत दर्जनौ केन्द्रीय तहका नेताहरुको शहादत भएको छ। जनयुद्धका प्रथम बालसहिद दिलबहादुर रम्तेल, माक्र्सवादी सौन्दर्यशास्त्री कृष्णसेन इच्छुकदेखि भीमसेन पोखरेल, तेजमान घर्ती, अजवलाल यादव, चुन्नु गुरुङ्ग, दौलतराम घर्ती, दिलबहादुर रोका, डिबी थापा, टिकाराम गौतम, कुमारी बूढा, लरी रोकालगायत दशहजार बरावर सहिदहरुले शहादत प्राप्त गरेका छन्। २०६३ सालको जन विद्रोहमा थप थुप्रै वीर रङ्गनाहरुले कुर्वानी गर्नु भएको छ।शान्ति प्रक्रियापछि पनि रौतहट, रुपन्देही, कपिलवस्तुमा भएका बलिदानहरुको उच्च मूल्याङ्कन गर्नुपर्ने हुन्छ।
यसरी नेपाली शहादातको इतिहास केलाउँदा नेपाल राष्ट्र निर्माणदेखि १९९७ सालहुँदै १० वर्षे जनयुद्धको सेरोफेरोसम्म उच्च शहादतको एउटा लामो पंक्ति खडा भएको छ। जसको परिणाम लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र नेपाली जनता सार्वभौम भएका छन्। नयाँ नेपाल निर्माणको बाटो खुल्ला भएको छ। नेपाली समाज समाजवादउन्मूख भएको छ।
उपसंहारः
हजारौं अमर सहिदबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ पार्नु आज हामी सबैको दायित्व हो। सहिद र सहिद दिवसको गुणगानले मात्र सच्चा श्रद्धान्जली हुन सक्दैन। उनीहरुका सपनाहरु पूरा गर्नुछ। यो देशको माटोले धेरै सहिद जन्माएको छ।सहिदको सपना कसरी विपनामा ढाल्न सकिन्छ ? यो अहिलेको मुख्य प्रश्न हो।
उनीहरुको जीवन र आदर्श हाम्रो पनि सपना बन्नु पर्छ। त्यसलाई योजनामा ढाल्नुपर्छ। त्यसै अनुसारको आचरण गर्नुपर्छ। सहिद परिवारका आशाहरु पूरा गर्नुपर्छ। आउनुहोस् हामीहरुले तिनको सपनाको उँचो झण्डालाई अझ उँचो पारौं। तिनको रगतले गाढा भएको बाटोमा दृढतापूर्वक अगाडि बढौं। सहिद दिवसको अन्तिम दिन फाल्गुण २१ को सन्दर्भमा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हार्दिक श्रद्धान्जली अर्पण गरौं।