अहिले विश्वभर नै मोटोपनबाट पीडित हुनेको संख्या बढिरहेको छ । यसमा व्यस्त जीवनशैली र बदलिंदो खानपान मुख्य कारण हुन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानअनुसार विश्वभर मोटोपनबाट पीडितको संख्या एक अर्बभन्दा बढी छ । जसमध्ये वयस्कको संख्या ८८ करोड र बालबालिकाको संख्या १५ करोड ९० लाख छ ।
महिलामा मोटोपनको दर उच्च भएको देशमा दुई ओसनिया मुलुक टोङ्गा र सामोआ छन् भने पुरुषमा तीव्र रुपमा मोटोपन बढिरहेका देशमा सामोआ र नाउर छन् । यी मुलुकमा ७० देखि ८० प्रतिशत पुरुष मोटोपनको सिकार भएका छन् ।
पुरुषमा मोटोपन तीव्र रुपमा बढिरहेको देशमा बेलायत ५५ औं स्थानमा छ भने महिलातर्फ यो ८७ औं स्थान छ । अमेरिका पुरूषमा मोटोपन छिटो वृद्धि हुने सूचीको १० औं छ भने महिलामा ३६ औं स्थानमा छ । भारतमा महिलातर्फ १९ र पुरुषतर्फ २१ औं स्थानमा छ । चीनमा महिलामा मोटोपनको दर ११ र पुरुषको दर ५२ औं स्थानमा छ ।
वैज्ञानिकहरुको टोलीले मोटोपनसँग लड्न नयाँ कदम चाल्नुपर्ने सुझाव दिएको छ । मोटोपनले मुटुरोग, टाइप २ मधुमेह र क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ ।
बालबालिका र किशोरकिशोरीमा मोटोपन तीव्र
इम्पेरियल कलेज लण्डनका वरिष्ठ अनुसन्धानकर्ता माजिद इज्जतीका अनुसार धेरै देशमा मोटोपन बढ्नुको मुख्य कारण अस्वस्थकर खानपान हो । ‘केही अवस्थामा यो मार्केटिङ कम्पनीहरूको आक्रामक रणनीति हो, जसले अस्वस्थ खानालाई बढावा दिइरहेको,’ उनी भन्छन् ।
यसबाहेक कहिलेकाहीं स्वस्थ खानाको मूल्य महँगो हुँदा वा नपाउँदा पनि मानिस मोटोपन बढाउने खानेकुरालाई प्राथमिकता दिन बाध्य हुने उनी बताउँछन् ।
प्राध्यापक इजिप्टी लामो समयदेखि मोटोपनसम्बन्धी तथ्यांकको विश्लेषण गर्दै आइरहेका छन् । मोटोपनको बढ्दो गति र त्यसको बदलिंदो तस्वीर देखेर उनी अचम्भित छन् । अहिले धेरै देशले मानिसमा मोटोपन बढ्ने समस्याको सामना गरिरहेका छन् ।
अध्ययन प्रतिवेदनअनुसार सन् १९९० देखि २०२२ सम्म बालबालिका र किशोरकिशोरीमा मोटोपनको दर चार गुणाले बढेको छ । यो दर वयस्क महिलामा दोब्बर बढीले वृद्धि भएको छ भने वयस्क पुरुषमा तीन गुणा छ ।
यसैबीच, कम तौल भएका वयस्कको अनुपात ५० प्रतिशतले घटेको छ । तर गरिब मुलुकहरुमा अझै पनि यो समस्या रहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।
कोभिड पनि मोटोपनको कारण
प्राध्यापक इजिप्टी भन्छन्, ‘जलवायु परिवर्तनको प्रभाव, कोभिड-१९ र युक्रेन युद्धजस्ता कारणले पनि बढी तौल र कम तौल दुवैको समस्या बढाएको छ । किनभने यी अवस्थाले गरिबी बढेको छ र मानिसहरू पौष्टिक खानाबाट टाढिएका छन् ।’
डब्लुएचओसँगको सहकार्यमा १५ सयभन्दा बढी अनुसन्धानकर्ताहरूको सञ्जालले पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको उचाइ र तौल नापेको थियो । यसका लागि बडी मास इन्डेक्स अर्थात् बीएमआईको सहयोग लिइएको थियो ।
बीबीसीबाट