नीतिपत्र
मस्कलाई पछि पार्दै जेफ फेरि बने संसारकै धनाढ्य

काठमाडौं : अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले टेस्लाका संस्थापक इलन मस्कलाई संसारको सबैभन्दा धनी व्यक्ति बन्ने दौडमा पछि पारेका छन् ।

सोमबार अर्बपति बेजोसको नेटवर्थ २ खर्ब डलर पुगेपछि सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा आएको ब्लुमबर्गले उल्लेख गरेको छ । बेजोस करिब ३ वर्षपछि पुनः अर्बपतिहरुको सूचीमा शीर्ष स्थानमा आएका हुन् ।पछिल्लो पटक सन् २०२१ मा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

सोमबार टेस्लाको सेयर भाउमा ७.२% ले गिरावट आएपछि मस्क ब्लुमबर्गको अर्बपतिहरुको सूचीमा दोस्रो स्थानमा झरेका छन् । मस्कको नेटवर्थ भने १ खर्ब ९७ अर्ब डलर कायम भएको छ । कुनै समय मस्कको नेटवर्थ बेजोसको भन्दा १ खर्ब ४२ अर्ब डलर बढीसम्म पुगेको थियो ।

तर अमेजन र टेस्लाको सेयर विपरीत दिशामा सर्दा दुई अर्बपतिबीचको सम्पतिको खाडल पनि संकुचित हुँदै गएको ब्लुमबर्गले उल्लेख गरेको छ । अमेजनको सेयर भाउ सन् २०२२ को अन्त्ययता दोब्बर भन्दा बढीले वृद्धि भएको छ ।

अर्कोतर्फ, टेस्लाको सेयर भाउ भने सन् २०२१ को उच्चतम विन्दुबाट अझै ५०% तल रहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स बुमका कारण ठूला प्रविधि कम्पनीहरुको सेयरमा आएको उछालले बेजोसलाई पुनः शीर्ष स्थानमा ल्याएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update