नीतिपत्र
सरकारकाे चार महिनाकाे खर्च साढे ३ खर्ब बढी

काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे ३ खर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्म सरकारले ३ खर्ब ५५ अब ६३ करोड खर्च गरेको छ। सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा भने १.३ प्रतिशतले मात्र वृद्घि भएको छ।

चालू खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पुँजीगत खर्च २९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ।

समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब ७६ अर्ब ६४ करोड भएको छ। गत आर्थिक वर्ष पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व समीक्षा अवधिमा ३ प्रतिशतले बढेको छ। यसअन्तर्गत कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड र गैरकर राजस्व २२ अर्ब ३४ करोड परिचालन भएको छ।

सरकारको नगद मौज्दात २०८० कात्तिक मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ। गत असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोडमात्र थियो।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update