धादिङ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका ७ जनामध्ये तीन जनाको सनाखत भएको छ ।
टिकटका आधारमा प्राप्त विवरणअनुसार कपिलवस्तुका रामकिशोर जैसवाल र काठमाडौं सतुंगलका बेखराज भण्डारीको सनाखत भएको प्रहरीले जनाएको छ । यस्तै गरी बुटवलकी रुवी श्रेष्ठको पनि सनाखत भएको छ ।
आज बिहान लु १ ख २१-२१ नम्बरको बस त्रिशूली नदीमा खसेको थियो । बसमा आएका ४६ जना यात्रुमध्ये ६ पुरुष र १ जना महिलाको दुर्घटनामा परी मृत्यु भएको हो । यस्तै ३९ जना घइते भएका छन् । घाइतेमध्ये सिकिस्त रहेका १० जनालाई काठमाडौं ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नदीमा खसेको बसबाट स्थानीयवासी र सुरक्षाकर्मीले घाइतेको उद्धार गरेका हुन् । दुर्घटना हुनुअघि चालकले मोबाइल कुराकानी गर्दै आफूलाई निद्रा लागिरहेको भनेका एक यात्रुले बताएका छन् । प्रहरीले पनि चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने जनाएको छ ।
बस दुर्घटनामा दुई जना यात्रु बेपत्ता भएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।