नीतिपत्र
अर्थमन्त्रीलाई नेप्सेको स्वागत, ९.३३ अंकले वृद्धि

काठमाडौं-सोमबार उच्च अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार सामान्य अंकले वृद्धि भएको छ।

पछिल्लो राजनीतिक गतिविधिले नेप्से परिसूचक लगातार तीन दिन उतारचढाव देखिएको छ। नयाँ बनेको सत्ता गठबन्धनसँगै अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने हल्लासँगै सोमवार नेप्से परिसूचक ११७.७० अंक अर्थात ६ प्रतिशतले बढेको थियो।

तर सोमबार नेकपा माओवादीमा वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लासँगै ७० अंकले गिरावट आएको थियो। बुधवार अर्थमन्त्री पुन हुने भएसँगै ओरालो लाग्न थालेको बजार अन्तिम समयमा ९.३३  अंकले बढेको छ। बुधबार नेप्से परिसूचक ९.३३ अंक बढेर २०१७.०३ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

बुधबार कारोबारमा आएका ३०८ कम्पनीको ९१ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलवारको तुलनामा कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

बुधबार १३ उपसमूहमध्ये  १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जसमा वित्त उपसमूहको परिसूचक १.६८ प्रतिशत बढेको छ भने अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। तर बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

सामान्य अंकले बढेको नेप्से परिसूचकसँगै डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। तर यता मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य भने ९.७१ प्रतिशत घटेको छ।

बुधबारको कारोबारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update