नीतिपत्र
५७ लाख परिवार आफ्नै घरमा, साढे ८ लाख भाडाको घरमा

काठमाडौँ — मुलुकमा रहेका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवार साढे ८ लाख परिवार भाडाको घरमा बस्दै आएका छन् । ५७ लाख २८ हजार ५ सय ८६ परिवार (८६ प्रतिशत) को मात्र आफ्नै घर छ । ८ लाख ५० हजार ५ सय ६२ (१२.८ प्रतिशत) भने भाडाको घरमा बस्दै आएको गत साता राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आवासीय घर र घरायसी सुविधासम्बन्धी विश्लेषणले देखाएको हो ।


५७ लाख परिवारको आफ्नै घर, साढे ८ लाख भाडाको घरमा
राष्ट्रिय जनगणना ०७८ बाट प्राप्त तथ्यांकका आधारमा गरिएको विश्लेषणमा ३६ हजार ८ सय ९ परिवार संस्थागत घरमा (सेना, प्रहरी, कारागार, आश्रम आदि) र बाँकी ४४ हजार ८ सय ८४ परिवार अन्य (स्वामित्व नखुलेको) घरमा बस्दै आएको उल्लेख छ ।


पछिल्ला वर्षहरूमा परिवार संख्या बढ्दै गए पनि आफ्नै स्वामित्वको घर रहेको संख्या भने निरन्तर घटिरहेको र भाडामा बस्ने बढिरहेको देखिन्छ । ०४८ मा ९२.६ प्रतिशत परिवार आफ्नै घरमा बस्दै आएकामा ०७८ सम्म आइपुग्दा यो संख्या घटेर ८६ प्रतिशतमा झरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सुविधाका लागि एक स्थानबाट अन्यन्त्र बसाइँ सर्दा आफ्नो घरमा बस्ने परिवार घटेको र भाडामा बस्ने बढेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले बताए ।

‘पछिल्ला वर्षमा औसत परिवार संख्या र परिवारको आकार पनि घटिरहनुले आफ्नो संयुक्त घर छाडेर छुट्टै भाडाको घरमा बस्ने परिवार बढेको देखाउँछ,’ उनले भने । प्रतिवेदनले आफ्नो स्वामित्व, भाडाको, सरकारी र अन्य घरमा बस्ने परिवारको तथ्यांक विश्लेषण गरे पनि कति परिवारसँग आफ्नो घर छैन भन्ने खुलाएको छैन ।

‘नगरपालिका क्षेत्रमा करिब ८१ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा र करिब १८ प्रतिशत भाडाको घरमा बस्दै आएका छन् । गाउँपालिका क्षेत्रमा करिब ९७ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘भौगोलिक क्षेत्रअनुसार भाडाको घरमा बस्ने परिवार पहाडमा २० प्रतिशत र हिमालमा ५ प्रतिशत छन् ।’

मधेस र सुदूरपश्चिमका ९५ प्रतिशत वा त्यसभन्दा बढी परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गर्छन् भने वाग्मतीमा सबैभन्दा कम ६९ प्रतिशत परिवार आफ्नै स्वामित्वका घरमा बसिरहेको देखिन्छ । ‘भाडामा बसोबास गर्ने परिवार संख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा ३० प्रतिशत छ भने सबैभन्दा कम मधेशमा २.३ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नगर तथा विकसित क्षेत्रमा भन्दा कम विकसित तथा ग्रामीण क्षेत्रमा आफ्नै स्वामित्वमा घर हुने परिवार बढी र भाडामा बस्ने कम भएको देखिन्छ ।’

प्रयोगका आधारमा घरहरूको वर्गीकरण गर्दा ७१.७ प्रतिशत आवासीय प्रयोजन अर्थात् पारिवारिक बसोबासमा प्रयोग भएका छन् भने १०.१ प्रतिशत गोठ र धनसार/मतानका रूपमा प्रयोगमा छन् । विभिन्न प्रयोगका लागि बनाइए पनि हाल खाली रहेका तर प्रयोगमा आउन सक्ने घर ७.३ प्रतिशत रहेको देखिन्छ । मुलुकमा रहेका ७५ लाख घरमध्ये ६० प्रतिशत एकतले छन् । यसअनुसार दुईतले घर २९ प्रतिशत र चारतले वा सोभन्दा बढीतले २ प्रतिशत छन् । ‘प्रदेशअनुसार मधेसमा ८४ प्रतिशतभन्दा बढी घर एकतले मात्र छन् भने यो संख्या कोशी र लुम्बिनीमा क्रमशः ६४ र ६३ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘एकतले मात्र घरको अनुपात कर्णालीमा सबैभन्दा कम २९ प्रतिशत देखिन्छ भने यो प्रदेशका झन्डै आधाजसो घर (४८.७ प्रतिशत) दुईतले र २२ प्रतिशत घर तीनतले छन् ।’

नेपालका कुल घरमध्ये करिब ४२ प्रतिशत ०७२ को भूकम्पपछि बनेको देखिन्छ । २१.६ प्रतिशत घर आठदेखि १४ वर्षबीचमा र १८ प्रतिशत १५ देखि २४ वर्षपहिला बनेको देखिन्छ । भौगोलिक क्षेत्रका आधारमा हिमालका ५५ प्रतिशत र तराईका ४४ प्रतिशत घर ०७२ को भूकम्पपछि निर्माण भएका हुन् । आवासीय घर निर्माणमा अनुदान उपलब्धता हिमाली प्रदेशमा ३२.२ प्रतिशत र ४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनले नेपालमा परिवारको संख्या तीव्र रूपमा घट्दै गएको पनि देखाएको छ । ‘औसत परिवार संख्या र परिवारको आकारअनुसार एउटा घरमा सरदर १.२ परिवारले बसोबास गरेको र एउटा परिवारको आकार औसतमा ४.४ जनाको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘एउटा घरको छानामुनि सरदरमा बसोबास गर्ने परिवार संख्या वाग्मतीमा सबैभन्दा बढी (१.४ परिवार) देखिएको छ भने ती प्रत्येक परिवारमा ३.९ जना सदस्य बस्ने गरेको पाइएको छ ।’

परिवारका आधारका आधारमा सुदूरपश्चिम र तराईमा बसोबास गर्ने परिवार ठूला आकारका (४.७ सदस्य प्रतिपरिवार) छन् । जनगणनाअनुसार परिवारको आकार विश्लेषण गर्दा एकपछि अर्को जनगणना वर्षमा सानो (चार जनासम्मको) परिवारको अनुपात क्रमशः बढ्दै गएको र ठूलो परिवार (पाँच जना वा बढी) को अनुपात घट्दै गएको देखिन्छ । आवासीय घरको प्रकृति हेर्दा ७६.५ प्रतिशत घर पक्की (पर्खाल र छानो दुवै स्थायी निर्माण सामग्रीले बनेका) छन् । ०५८ मा पक्की घरको संख्या ३६.६ र ०६८ मा ५८.४ प्रतिशत थियो । हाल १५.८ प्रतिशत घर अर्धपक्की (पर्खाल वा छानोमध्ये एक स्थायी र अर्को अस्थायी निर्माण सामग्रीले बनेका) छन् भने कच्ची (पर्खाल र छानो दुवै अस्थायी निर्माण सामग्रीले बनेका) घर ७.८ प्रतिशत रहेको छ ।

प्रदेशगत रूपमा हेर्दा गण्डकी र वाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः ९६ र ९३ प्रतिशत परिवार पक्की घरमा बसेका छन् । यो अनुपात कर्णालीमा ७८.२ प्रतिशत देखिन्छ । ‘करिब ७४ प्रतिशत परिवार आफ्नै स्वामित्वका पक्की घरमा, १७ प्रतिशत अर्धपक्की र ९ प्रतिशत कच्ची घरमा बसिरहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘भाडाको घरमा बस्ने परिवारमा भने यो वितरणको स्वरूप अलग्गै देखिन्छ । भाडाको घरमा बस्ने कुल परिवारमध्ये ९३ प्रतिशत परिवारको बसोबास पक्की घरमा छ भने करिब ९ प्रतिशतको मात्र अर्धपक्की घरमा छ ।’ बैंक खाता रहेको परिवार संख्या ६१.४ प्रतिशत छ भने १३ प्रतिशतले प्राविधिक शिक्षा वा व्यावसायिक तालिम प्राप्त गरेका छन् ।

२३.४ प्रतिशत परिवारमा कम्तीमा एक सदस्य देशबाहिर रहेको, ४९ प्रतिशत परिवारमा खेतीयोग्य जमिन र पशुधन रहेको, रेडियो प्रयोग गर्ने परिवार ३४.२ तथा टेलिभिजन प्रयोग गर्ने ४९.४ प्रतिशत छन् ।

मोबाइल प्रयोग गर्ने परिवार ७३.२ प्रतिशत, मोटरसाइकल र स्कुटर भएका परिवार २७.३ प्रतिशत, साइकल प्रयोग गर्ने परिवार ३४ प्रतिशत, विद्युतीय सामग्री (पंखा, फ्रिज, वासिङ मेसिन आदि) प्रयोग गर्ने ५३.१ प्रतिशत, पाइप (धारा) बाट खानेपानीको उपलब्धता भएको ५७ प्रतिशत, जार तथा बोतलको पानीमा निर्भर परिवार ४.६ प्रतिशत, दाउराबाट खाना पकाउने परिवार ५१ प्रतिशत, एलपीजी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत र बिजुलीको पहुँच पुगेको परिवार ९२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update