नीतिपत्र
सरकारको ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत आम्दानी भएको छ भने २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ।

चालु आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ। मङ्सिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २५ दशमलव ८७ प्रतिशत छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिना अवधिमा चालु खर्च ३१ दशमलव ५३, पुँजीगत खर्च ११ दशमलव ९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८ दशमलव ५२ प्रतिशत छ। चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट ल्याइएकामा मङ्सिर मसान्तसम्ममा ३ खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ।

पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ वार्षिक बजेट रहेकामा हालसम्म ३६ अर्ब छ करोड ३ लाख रुपैयाँ मात्रै खर्च भएको छ। त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ लाख ३६ हजार वार्षिक विनियोजन रहेकामा हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ मात्र खर्च भएको छ।

 चालु आवको पहिलो पाँच महिना अवधिमा सरकारको राजस्व सङ्कलन पनि लक्ष्यअनुसार हुन सकेको देखिँदैन। चालु आवका लागि कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत अर्थात् ३ खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ। यो अवधिसम्मको सरकारको आयव्ययको विश्लेषण गर्दा आम्दानीको तुलनामा ६९ अर्ब ७ करोड १५ लाख रुपैयाँ बढी खर्च भएको छ। अर्थात् पाँच महिनामा ६९ अर्बभन्दा बढीको बजेट घाटा छ।

सरकारले चालु आवमा कर राजस्वतर्फ १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख र गैरकर राजस्वतर्फ १ खर्ब १७ अर्ब छ करोड २१ लाख रुपैयाँ सङ्कलन गर्ने उद्देश्य राखेको छ। त्यस्तै ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान उठाउने सरकारी लक्ष्य सरकारको छ।

चालु आर्थिक वर्षको सुरुआती पाँच महिना अवधिमा कर राजस्व सङ्कलन वार्षिक लक्ष्यको २५ दशमलव ८३ प्रतिशत अर्थात् ३ खर्ब ३७ अर्ब १८ करोड ६७ लाख छ भने गैर कर राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ४२ प्रतिशत अर्थात् २६ अर्ब २४ करोड २५ लाख रुपैयाँ छ। चालु आवको मङ्सिर मसान्तसम्ममा सरकारले २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ वैदेशिक अनुदान लिएको छ। रासस

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update