नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउन्डर बरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्।
उनले आफ्नो अलराउन्डर बरियतामा एक स्थान सुधार्दै १० औं स्थानमा उक्लिए। ब्याटिङ तर्फ भने ५० औं स्थानमा कायम रहे।
अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन कायम छन्।
दोस्रो स्थानमा श्रीलंकाका विनन्दु हर्षरंगा, तेस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी, चौथो स्थामा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा दक्षिण अफ्रिका एडिन मक्रम, छैटौं स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, सातौं स्थानमा भारतका हार्दिक पाण्ड्या रहेका छन्।
त्यस्तै आठौं र नवौं स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली रहेका छन्। दशौं स्थानमा रहेका नेपालका ऐरी उक्लिन सफल भए। दीपेन्द्रले अलराउन्डर तर्फ १ सय ६९ रेटिङ अङ्क प्राप्त गरेका छन्।
अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं स्थानमा रहँदा रोहित पौडेल ६५औं र करण केसी ७४औं स्थानमा रहेका छन्। ब्याटिङ तर्फ पनि नेपालका खेलाडीमा दिपेन्द्र सर्वाधिक उच्च वरियतामा छन्।
उनी ५०औं स्थानमा रहँदा रोहित पौडेल ६१औं र आसिफ शेख ८६औं स्थानमा छन्। ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा भारतका सूर्यकुमार यादव छन्। बलिङमा भने नेपालका सोमपाल कामी ९२ औ स्थानमा रहेका छन्। बलिङ बरियतामा इंग्ल्यान्डका आदिल रसिद शीर्ष स्थानमा रहेका छन्।