काठमाडौँ । नेपालमा बैंक तथा वित्तीय संस्थामा बचत खाताको संख्या ५ करोड २९ लाख १ हजार ३१ पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० कात्तिकसम्ममा वाणिज्य बैंकमा बचत खाता ४ करोड ५३ लाख ९८ हजार २०७, विकास बैंकमा ६६ लाख ८४ हजार ४७१ र वित्त कम्पनीमा ८ लाख १८ हजार ३५३ रहेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थामा कर्जा खाता १८ लाख ४६ हजार ७६४ रहेको छ । जसमध्ये वाणिज्य बैंकमा १५ लाख १४ हजार १७६ विकास बैंकमा २ लाख ९० हजार ४२६ र वित्त कम्पनीमा ४२ हजार १६२ रहेको राष्ट्र बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ कारोबारको सेवा लिने ग्राहक ३ लाख १० हजार ६४९ रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा ६ हजार ४२९ रहेको छ । राष्ट्र बैंकको अनुसार वाणिज्य बैंकको शाखा ५ हजार ८, विकास बैंकको १ हजार १३३ र वित्त कम्पनीको शाखा २८८ मात्र रहेका छन् ।
नेपालभर एटिएमको संख्या ५ हजार ५९ ओटा रहेको छ । वाणिज्य बैंकको एटिएम ४ हजार ६६७, विकास बैंकको ३४८ र वित्त कम्पनीको एटिएम संख्या ४४ रहेको राष्ट्र बैंकले जनाएको छ ।