नीतिपत्र
जोखिम भार घट्दा बैंकहरुको नाफा साढे २ अर्ब बढ्ने, ग्लोबल र नबिललाई बढी फाइदा

काठमाडौं। नयाँ निमायकीय व्यवस्थाले बैंकहरुको नाफामा अतिरिक्त साढे २ अर्ब रुपैयाँ थप हुने भएको छ। नेपाल राष्ट्र बैंकले गरेको असल कर्जामा गरिने नोक्सानी व्यवस्था (प्रोभिजन) सम्बन्धी नयाँ प्रावधानले २ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ नाफा थप हुने देखिएको हो।

राष्ट्र बैंकले कर्जा प्रवाह गर्ने बित्तिकै त्यसलाई असल वर्गमा राखेर १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसलाई शंसोधन गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् ०.०५ प्रतिशतले घटाएर १.२० प्रतिशत कायम गरेको छ।

उक्त व्यवस्थाले बैंकहरुको कर्जामा हुने खर्च घटाएर गरिसकेको प्रोभिजन फिर्ता हुँदा नाफा बढ्ने भएको हो। यद्यपि शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरिएको व्यवस्था कार्यान्यवनका लागि सम्बन्धित विभागले सकुर्लर जारी गरेपछि मात्रै लागू हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।

‘असल कर्जाको नयाँ व्यवस्थामा रहेर प्रोभिजन गर्दा बैंकहरुको खर्च कम हुने र नाफा थप गर्न त्यसले सहयोग पुग्ने हुन्छ, प्रोभिजन कम हुने बित्तिकै बैंकहरुको कर्जा दिने क्यापिटल एडुकेसीमा पनि सहज हुन्छ भने नाफा थपिन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘तर, उक्त व्यवस्था लागू हुन सम्बन्धित विभागले सकुर्लर जारी गर्नैपर्छ, त्यसपछि मात्रै बैंकहरु असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्दा हुन्छ।’

पुरानो व्यवस्थामा गरिएको प्रोभिजन फिर्ता हुँदा बैंकहरुले नाफामै गणना मिल्ने र त्यसले पुँजीमा सहजीकरण हुँदा कर्जा लगानीमा समेत सहयोग पुग्ने उनको भनाइ छ। राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाहमा सहजता गरेर वास्तविक क्षेत्रलाई चलायमान बनाउँदै अर्थतन्त्र विकास र विस्तारमा सहयोग पुग्ने नीति ल्याएको उनको भनाइ छ।

हाल बैंक तथा वित्तीय संस्था (लघुवित्त) बाहेकले कुल ५१ खर्ब ११ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन्। जसमा असल कर्जाको पुरानो १.२५ प्रतिशत व्यवस्थामा रहेर ६३ अर्ब ८९ करोड रुपैयाँ प्रोभिजन गरिएको छ। तर, नयाँ व्यवस्थामा रहेर असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्दा ६१ अर्ब ३३ करोड रुपैयाँ मात्रै प्रोभिजन गर्नुपर्छ। यसरी हेर्दा बैंकहरुले कर्जामा गरेको खर्च घट्दा २ अर्ब ५६ करोड रुपैयाँ नाफा बढ्ने देखिएको हो।

कोभिडअघिसम्म १ प्रतिशत रहेको असल कर्जा प्रोभिजनलाई राष्ट्र बैंकले कोभिडको समयमा बढाएर १.३० प्रतिशत कायम गरेको थियो। त्यसलाई गत असोजमा घटाएर १.२५ प्रतिशत कायम गरेको थियो। पुनः असल कर्जाको प्रोभिजन ०.०५ प्रतिशत घटाउँदै राष्ट्र बैंकले बैंकहरुको नाफा वृद्धिमा नीतिगत सहजीकरण गरिदिएको छ।

राष्ट्र बैंकले असल कर्जाको प्रोभिजन ०.०५ प्रतिशतले घटाउँदा हालसम्म कुल ४५ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुको नाफा २ अर्ब २६ करोड रुपैयाँ थप हुन्छ। हालसम्म वाणिज्य बैंकहरुले ५६ अर्ब ५० करोड रुपैयाँ असल कर्जाको प्रोभिजनमा खर्च गरेका छन्। नयाँ व्यवस्थाअनुसार अब भने असल कर्जामा ५४ अर्ब २४ करोड रुपैयाँ मात्रै खर्च गर्नुपर्छ। जसले गर्दा वाणिज्य बैंकहरुको नाफा २ अर्ब २६ करोड रुपैयाँ नाफा थप हुने देखिन्छ।

कर्जा नोक्सानीको व्यवस्था

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित कर्जालाई वर्गीकरण गरी सोहीअनुसार कर्जा नोक्सानी राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। जसअनुसार हालसम्म अब बैंकहरुले असल कर्जामा १.२५ प्रतिशत, सुक्ष्म निगरानीमा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत प्रोभिजन गर्नुपर्छ। राष्ट्र बैंक नियमन विभागले मौद्रिक नीतिको समीक्षाले गरेको असल कर्जाको नयाँ व्यवस्थासम्बन्धी सकुर्लर जारी गरेपछि असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्छ।

नयाँ व्यवस्थाअनुसार अब बैंकले कर्जा प्रवाह गर्ने बित्तिकै त्यसलाई असल कर्जामा वर्गीकरण गरेर १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्छ। कर्जा प्रवाह गरेको ३ महिनासम्म साँवा सुक्ष्म निगरानीमा राखेर ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ। ३ देखि ६ महिनासम्म साँवाब्याज भुक्तानी नहुँदा कमसल कर्जामा वर्गीकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ।

त्यस्तै, ६ महिनादेखि १२ महिनासम्म साँवाब्याज भुक्तानी नभएमा शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत प्रोभिजन गर्नुपर्छ भने एक वर्षमाथि साँवाब्याज भुक्तानी नभएको कर्जामा शतप्रतिशत प्रोभिजन गरी कर्जा असुली प्रक्रियामा बैंक जान्छन्।

कुन बैंकको नाफा कति थप?

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार असल कर्जाको प्रोभिजन घट्दा सबैभन्दा बढी फाइदा ग्लोबल आइएमई बैंक र नबिल बैंकलाई भएको छ। बैंकहरुद्वारा सार्वजनिक गत चैत मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा उक्त अवधिमा प्रवाहित कर्जामा गरिएको १.२५ प्रतिशत प्रोभिजन फिर्ता हुँदा ग्लोबल आइएमईको मात्रै १९ करोड ३ लाख रुपैयाँ नाफा थप हुन्छ।

ग्लोबलले चैत मसान्तसम्म ३ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरी १.२५ प्रतिशत अर्थात् ४ अर्ब ७५ करोड रुपैयाँ प्रोभिजन गरेको थियो। नयाँ व्यवस्थाअनुसार असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्दा ग्लोबलको १९ करोड रुपैयाँ बढी प्रोभिजनमा राखिएको पैसा फिर्ता हुने भएको हो।

यसैगरी उक्त अवधिमा नबिल बैंकले ३ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा असल कर्जामा गर्नुपर्ने प्रोभिजन ४ अर्ब ७४ करोड रुपैयाँ थियो। नयाँ व्यवस्थाअनुसार बैंकको प्रोभिजन ४ अर्ब ५५ करोड रुपैयाँ गर्नु पर्दा १७ करोड १६ लाख रुपैयाँ फिर्ता हुन्छ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत मसान्तसम्म ३ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो। जसमा १.३ प्रतिशतले गर्दा ३ अर्ब ८९ करोड रुपैयाँ प्रोभिजन भएको थियो। अब प्रोभिजन १.२० प्रतिशत हुँदा १६ करोड २१ लाख रुपैयाँ फिर्ता हुन्छ।

असल कर्जाको प्रोभिजन घट्दा ७ वटा बैंकको १० करोड रुपैयाँदेखि १५ करोड रुपैयाँसम्म र बाँकी १० वटाको १० करोड रुपैयाँभन्दा कम पैसा फिर्ता हुने तथ्यांकले देखाउँछ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update