नीतिपत्र
सवारीसाधन र असल कर्जामा जोखिम भार घट्यो, घरजग्गामा ऋण दिने सीमा बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले सवारी कर्जा र असल कर्जाो जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक सेयर बिक्रीमा सहुलियत दिएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ, ‘आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको छ।’  ब्याजदर करिडोरलाई पनि प्रभावकारी बनाइ स्थायी निक्षेप सुविधा दिने विधिमा पुनरवलोकन गर्न राष्ट्र बैंक उदार देखिएको छ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरेको छ भने, बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ।

यस्तै राष्ट्र बैंकले असल कर्जामा गर्नुपर्ने नोक्सानी व्यवस्था (प्रोभिजन) घटाएको छ। शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो त्रैमासिक समीक्षा गर्दै असल रहेका कर्जााको प्रोभिजनिङ घटाएको हो। सार्वजनिक मौद्रिक नीतिको समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update