काठमाडौं । नेपालको राष्ट्रिय ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४ प्रतिशत पुगेको छ । देशले लिएको ऋण बढेसँगै जीडीपीको अनुपातमा राष्ट्रिय ऋण बढेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्म देशले लिएर तिर्न बाँकी ऋण २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, यो आव २०७९/८० को अनुमानित जीडीपी ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँको ४४ प्रतिशत हो ।
कुल तिर्न बाँकी ऋणमध्ये विदेशी ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ अर्थात जीडीपीको २१.८२ प्रतिशत पुगेको छ भने आन्तरिक ऋण ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ अर्थात जीडीपीको २२.२६ प्रतिशत पुगेको छ ।
राजस्वबाट सरकारको नियमित खर्च चलाउन गाह्रो भएपछि सरकारले मंसिरसम्म १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।
विश्व बैंकद्वारा प्रकाशित ‘इन्टरनेशनल डेब्ड रिपोर्ट २०२३’ अनुसार सन् २०२२ को अन्त्यमा नेपालले तिर्न बाँकी खुद बाह्य ऋण ९ अर्ब १४ करोड अमेरिकी डलर थियो । जसको आधा हिस्सा विश्व बैंकको रहेको छ भने ३२ प्रतिशत एसियाली विकास बैंक एडीबीको, ७ प्रतिशत अन्य बहुपक्षीय ऋण छ भने जापानको ४ प्रतिशत, भारतको ३ प्रतिशत, चीनको ३ प्रतिशत र अन्य द्विपक्षीय ऋण १ प्रतिशत छ ।
नेपालले लिएको कुल ऋणमध्ये अधिकांश ३५ वर्षभन्दा अधिकको दीर्घकालीन ऋण रहेको छ भने औसत ब्याजदर १.५ प्रतिशत रहेको छ ।
विश्व बैंकका अनुसार नेपालको राष्ट्रिय ऋण अहिले नेपालको निर्यातको अनुपातमा २७७ प्रतिशत र खुद राष्ट्रिय आय जीएनआईको तुलनामा प्रतिशत छ । नेपालले खुद निर्यातको ११ प्रतिशत रकम ऋणको साँवाब्याज भुक्तानीमा खर्च गर्ने गरेको छ ।