काठमाडौं- सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक सुरु भएकाे छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेर अघि बैठक सुरु भएको हो। बैठकमा नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल रहेका छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनेकाे हाे।
कार्यदलले आज कार्यादेश तय गर्ने जनाइएको छ। सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भएका हुन्। आज बस्ने प्रतिनिधिसभा बैठक सहजरूपमा अघि बढ्ने विश्वास लिइएको छ।