नीतिपत्र
४६ वर्षसम्म लुम्बिनी गुरुयोजना अधुरै

बुटवल । संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव ऊ थान्तले सन् १९६७ अप्रिल १३ मा लुम्बिनी आउँदा लुम्बिनीको अवस्था अस्तव्यस्त देखेपछि नेपाल सरकारसँग लुम्बिनीलाई आधुनिक बनाउने प्रस्ताव गरेका थिए । लुम्बिनी विकासको गुरुयोजना बनाउनुपर्ने र त्यसमा सहयोग गर्ने प्रतिबद्धतापछि जापानी आर्किटेक्ट केन्जो टांगेले गुरुयोजना तयार गरे । टांगेले सन् १९७२ मा शुरु गरेर १९७८ लुम्बिनीको गुरुयोजना तयार गरी सरकारलाई हस्तान्तरण गरेका थिए । 


२०४२ मा लुम्बिनी विकास कोष ऐनअनुसार लुम्बिनी विकास कोष गठन भयो र २०५५ सालपछि गुरुयोजनाको काम शुरु भएको थियो । गुरुयोजनाको काम शुरु भएपनि बजेट अभावले कामले गति लिएका थिएनन् । 


२०७०/७१ सालदेखि सरकारले राष्ट्रिय गौरवका आयोजनाका रुपमा राखेर प्राथमिकताका साथ बजेट छुट्याउन थालेपछि मात्रै गुरुयोजनाका कामले गति लिन थालेका थिए ।  तुलनात्मक हिसाबले प्रगति देखिएपनि काम शुरु भएको २५ वर्ष पूरा भइसक्दा गुरुयोजना अधुरै छ । टांगेले सरकारलाई हस्तान्तरण गरेकै वर्ष गणना गर्ने हो भने ४६ वर्ष भइसकेको छ । 


काम शुरु भएको वर्षदेखि गणना गर्ने हो भने २५ वर्षमा ८५ प्रतिशतभन्दा बढी काम सकिएको र १५ प्रतिशतजति काम बाँकी रहेको लुम्बिनी विकास कोष बताउँछ ।   


विकास कोषका पदाधिकारीहरु सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा गुरुयोजनाको काम अधुरै रहेको बताउँछन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा सरकार परिवर्तन भइरहदा लुम्बिनीले पर्याप्त बजेट नपाएको बताउँछन् । उनका अनुसार एउटा सरकारले श्रोत सुनिश्चित गरेपनि अर्को सरकारले बजेट कटौती गर्ने गरेको छ । 


यसअघि ३ अर्बको बजेट सुनिश्चित भएपछि निर्माणका लागि ठेक्का गरिएकोमा त्यसपछि परिवर्तन भएको सरकारले ७० प्रतिशत बजेट कटौती गरेकाले गुरुयोजना अगाडि बढ्न नसकेको उनी बताउँछन् । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर पनि पर्याप्त बजेट नदिने हो भने अरु धेरै वर्ष गुरुयोजना अधुरै रहने उनको भनाई छ । 


लुम्बिनीमा गुरुयोजना अनुसार तीन भाग छन्ः पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम । पवित्र उद्यानमा सौन्दर्यीकरणका सीमित कामबाहेक भौतिक संरचना बनाउन पाइदैन । भौतिक संरचना विहार क्षेत्र र नयाँ लुम्बिनी ग्रामको क्षेत्रमा बनेका छन् । 
पवित्र उद्यान क्षेत्रमा मायादेवी मन्दिर, परिक्रमा पोखरी र अरु सौन्दर्यीकरणका काममा ४० करोड रुपैयाँ खर्च भएको छ । गुरुयोजनाअनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खनन गर्न, केही नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण, विद्युतीय व्यवस्थापनका कामहरु बाँकी छन् ।


विहार क्षेत्रमा सबैभन्दा बढी डेढ अर्ब खर्च भएको छ । १२ वटा विहार नेपालले निर्माण गरेको छ । चिनियाँ र जर्मनीका विहार निर्माणका लागि दुवै मुलुकले ५२ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् । थाइल्यान्डले १० करोड २५ लाख लागतमा विहार बनाएको छ । अरु केही विहारहरु निर्माणकै क्रममा छन् ।

केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ ।  नयाँ लुम्बिनीग्राम क्षेत्रमा एक अर्ब २७ लाखभन्दा बढी खर्च भएको छ । त्यस क्षेत्रमा निर्माण भएका होक्के र कासाई होटेलले ३० करोड ७० लाख लगानी गरेका छन् ।

लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख रुपैयाँ सहयोगमा निर्माण भएको छ । जापानी संस्था रेयुकाईले ३० करोड ८० लाख लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै करिब तीन अर्ब लागतमा विभिन्न भौतिक संरचना निर्माण हुनेछन् । 


गुरुयोजनाले यो क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको छ । जसमध्ये  एकसय बेडको सबै सुविधायुक्त विलासी होटल, १ सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, २ सय बेडको साधारण आवासगृह र चारवटा क्याम्पिङ निर्माण गर्ने योजना बनाएको थियो । तीनस्तरका होटल सञ्चालनमा आइसकेका छन् भने क्याम्पिङ निर्माण हुन बाँकी छ । कोषका अनुसार गुरुयोजनाअन्तर्गत् करीब १६ प्रकारका काम अझै हुन बाँकी छन् ।

६ वटा भवन, सडक, ढल, पुल, कल्भर्ट, विहार जोड्ने सबै रोडहरु, सौन्दर्यीकरण, विद्युतीकरणलगायतका काम बाँकी छन् । पर्यटक सूचना केन्द्र र लुम्बिनी विकास कोषको प्रशासनिक भवन बनिसकेको छ भने बैंक, प्रहरी, उपचार भवन, ट्राभल एजेन्ट र रेस्टुरेन्टका लागि भवनहरू बन्न बाँकी छ । 


लुम्बिनी ग्राममा मावि तहको विद्यालय र अस्पतालको परिकल्पना गुरुयोजनाले गरेको छ । विद्यालयको नाममा लुम्बिनी बौद्ध विश्वविद्यालयको आवास क्षेत्र निर्माण गरिएको छ । यी भवन २० वर्ष विश्वविद्यालयले उपयोग गरेपछि विद्यालय सञ्चालन गर्ने भनिएको छ । 

पाँच वर्षमा ३ प्रतिशत प्रगति
लुम्बिनी गुरुयोजना छिटै सम्पन्न हुने कुरा हरेक वर्ष बताइएपनि बितेका ५ वर्षमा ३ प्रतिशत मात्रै प्रगति भएको छ । 
गएको पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा तीन प्रतिशत मात्र बढेको छ ।

२०७६ सालमा २५६३ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसको अवसरमा गुरुयोजनाको ८२ प्रतिशत काम सकिएको बताइएको थियो । दिवसको अवसरमा सार्वजनिक प्रतिवेदनलाई आधार मानेर गणना गर्ने हो भने २५६८औं बुद्ध जयन्ती मनाइरहँदा ८५ प्रतिशत काम पूरा भएको भनिएको छ । यो पाँच वर्षमा गुरुयोजनाको कामको गति सुस्त देखिन्छ । 

गुरुयोजना तयार गर्दा लुम्बिनी विकास गुरुयोजनाको काम १५ वर्षमा सम्पन्न हुनुपर्ने भनिएको थियो ।  तर ४६ वर्षसम्म पनि गुरुयोजना अधुरै रहेको छ । गुरुयोजना अधुरो मात्रै छैन, लुम्बिनीको अरु काममा पनि संघीय सरकारको चासो घट्दो छ । 

विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई सरकारले गुरुयोजनामा मात्र नभई पुरातात्विक संरचनाहरुको उत्खनन र अन्य क्षेत्रमा पनि चासो दिन छाडेको बताउँछन् । उनी सरकारले गौरवका आयोजना भन्ने तर बजेट नदिने गरेर लुम्बिनीप्रति चासो कम गरेको बताउँछन् । 

Lumbini-Mayadevi-Mandir-1703657585.jpg
 

गुरुयोजना पूरा गर्न अझै ३ अर्ब आवश्यक
लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्न अझै ३ अर्ब भन्दा धेरै रकम आवश्यक छ । विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म ५ अर्व भन्दा बढी रकम खर्च भईसकेको छ । गुरुयोजनाका बाँकी काम पूरा गर्न अझै ३ अर्ब भन्दा बढी बजेट आवश्यक पर्ने उनी बताउँछन् ।  

२ वर्ष अगाडि नै गुरुयोजना अन्तर्गतका ६ वटा भवन, फोहर व्यवस्थापन, नदी डाइभर्सन बाहेकका काम सम्पन्न भएको भनिएपनि धेरै योजनाहरु बहुवर्षीय ठेक्का लागि सकेकाले निर्माणाधीन अवस्थामा छन् ।

तर पर्याप्त बजेट छैन । विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई सरकारले बजेटको सुनिश्चित गरे १ वर्षमै गुरुयोजनाको काम सम्पन्न हुनसक्ने बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update