नीतिपत्र
फ्याक्टचेक: बर्दिया राष्ट्रिय निकुञ्जको भन्दै भाइरल भएको भिडियो नेपालको होइन, विदेशको

बर्दिया राष्ट्रिय निकुञ्जमा बाँदरहरुले बाघमाथि आक्रमण गरेको दावी सहित एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। भिडियोमा बाँदरहरुको एक झुन्डले चितुवामाथि सडकको बीचमा आक्रमण गरेको देख्न सकिन्छ। गत अगस्त ५ (साउन २१) गते पोष्ट गरिएको भिडियो २७ लाख पटक हेरिएको छ। 

तर, हाम्रो तथ्यजाँचमा यो भिडियो भ्रामक दावीका साथ फैलाइएको देखियो। भिडियो नेपालको नभई विदेशको हो। 

के हो दावी?

२३ हजार भन्दा बढी फलोअर रहेको ‘स्वतन्त्र पार्टी समर्थक अरब’ नामक फेसबुक प्रयोगकर्ताले गत साउन २१ गते “बर्दिया राष्टिय निकुञ्जमा बाँदरको आक्रमण बाघमाथि” लेख्दै भिडियो पोस्ट गरेको हो।

भिडियोमा समथल भूभागको बीचको सडकमा बाँदरको एक झुण्डले चितुवामाथि आक्रमण गरेको देख्न सकिन्छ। त्यहाँ एउटा निलो रङ्गको कारसमेत देख्न सकिन्छ।

भिडियोमा राखिएको आवाजमा “बाघ आयो…….बाघ आयो” भनिएको छ। यो फेसबुक प्रयोगकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सांसद सोबिता गौतमको फोटो समेत प्रोफाइल पिक्चरका रुपमा प्रयोग गरेको देखिन्छ। 

यो तथ्यजाँच तयार पार्दासम्म २७ लाख पटक हेरिएको उक्त भिडियोमा २८ हजार जनाले लाइक गरेका छन् भने ६४० जनाले सेयर गरेका छन्।

हेर्नुहोस स्क्रिनरेकर्ड

के हो तथ्य?

नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा “बाघ” माथि बाँदरले आक्रमण गरेको भनिएको भिडियोको तथ्य जाँच गर्न हामीले भिडियोबाट केही स्क्रिनसट लिएर विभिन्न सर्च इन्जिनमा खोज्यौँ। 

यसक्रममा  हामीले भारतको एनडिटिभी (www.ndtv.com ) नामक टिभी च्यानलले अगस्त १६, २०२३ मा  प्रकाशित गरेको एक समाचार फेला पार्‍यौँ। समाचारमा दक्षिण अफ्रिकाको दुर्गम क्षेत्रमा करिब ५० वटा बाँदरले चितुवामाथि आक्रमण गरेको उल्लेख छ।

समाचारमा लेटेस्ट साइटिङ्गस नामक युट्युब च्यानलको भिडियो एम्बेड गरेर राखिएको पायौं। 

हेर्नुहोस अर्काईभ लिङ्क

यो युट्युब च्यानलमा अगस्त १५, २०२३ अपलोड भएको भिडियोमा बाँदर र चितुवाबिचको लडाईं देख्न सकिन्छ। भिडियोको विवरणमा सो भिडियो दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कको भिडियो रहेको समेत उल्लेख छ। साथै सोही घटनाको अर्को भिडियो पनि अपलोड गरिएको व्यहोरा विवरणमा छ।

हामीले थप खोज्दा  न्युयोर्क पोष्ट नामक अमेरिकी समाचार संस्थाले अगस्त १६, २०२३ मा प्रकाशित एक समाचार फेला पार्‍यौँ। न्युयोर्क पोष्टले समेत  दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कमा सो भिडियो खिचेको उल्लेख गर्दै सो युट्युब च्यानलमा अपलोड गरिएको भिडियो एम्बेड गरेर राखेको छ। 

हेर्नुहोस अर्काईभ लिङ्क 

हामीले स्वतन्त्र पार्टी समर्थक अरब नामक फेसबुक प्रयोगकर्ताले गत साउन २१ गते राखेको भिडियो र लेटेष्ट साइटिङ्गस नामक युट्युब च्यानलमा अपलोड भएको भिडियो एकै ठाउँमा राखेर हेर्दा युट्युवमब राखिएको भिडियोलाई फ्लिप गरेर अर्थात उल्टाएर फेसबुक पेजमा राखेको पायौं।

हेर्नुहोस फेसबुक र युट्युवको भिडियोको स्क्रिनसट

 

तसर्थ बर्दिया राष्ट्रिय निकुञ्जमा बाँदरको झुण्डले बाघमाथि आक्रमण गरेको दावी गरिएको भिडियो नेपालको नभई दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कमा अगस्त २०२३ मा खिचिएको भिडियो हो। 

तथ्यजाँच

दावीः नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बाँदरको झुण्डले बाघमाथि आक्रमण गरेको।

दावीकर्ताः स्वतन्त्र पार्टी समर्थक अरब नामक फेसबुक प्रयोगकर्ता।

तथ्यजाँचः भ्रामक सूचना। बर्दिया राष्ट्रिय निकुञ्जमा बाँदरको झुण्डले बाघमाथि आक्रमण गरेको दावी गरिएको भिडियो नेपालको नभई दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कमा १ वर्ष अगाडि खिचिएको भिडियो हो। 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update