बुटवल । भदौ ९ मा स्थानीय, जनप्रतिनिधि र प्राविधिकहरुको टोली बुटवलको उत्तरपट्टि रहेको लक्ष्मीनगरको चुरेको उकालो चढेर पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्यो । यो त्यही क्षेत्र हो, जहाँबाट खसेको पहिरोले २०७८ सालमा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका ५७ घरमा क्षति पुर्याएको थियो ।
अहिले २०७९ देखि बनाउँदै आएका चेक ड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टहरुको मर्मत गर्न, आवश्यक स्थानमा थप गर्न, पहिरो खसेर सिधै बस्तीमा आउन नदिन र पानीको बहावलाई व्यवस्थित गर्नका लागि थप योजना बनाउन यो टोली खटिएको थियो ।
‘कहीँकतै चेक ड्यामहरुको छेउँमा पानीले क्षति पुर्याएको र पानी पसेको पाइयो’-स्थानीय समेत रहेका बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का सदस्य अमृत खड्का भन्छन् । उनका अनुसार केही स्थानमा रिर्टनिङ वालहरु र चेक ड्यामहरु थप गर्नुपर्ने छन् ।
प्राविधिकसहितको टोलीले लगत तथ्यांक संकलन गर्दा आधा दर्जन भन्दा बढी ठाउँमा अझैपनि जोखिम देखिन्छ । यो जोखिम न्यूनीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले संघीय सरकारको विशेष अनुदानअन्तरगत चालु आर्थिक वर्षका लागि ३ करोड रुपैयाँ छुट्याएको छ ।
तर यो रकम पर्याप्त नभएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय बताउँछन् । ‘यो पहिरो कतिबेला कुन हिसाबले खस्छ र कति क्षति गर्न सक्छ भन्ने अनुमान नै गर्न सकिन्न’-उनी भन्छन्-विगतमा खसेको पहिरोलाई सोहोरेर व्यवस्थापन गर्न सकिएका कारणले मात्रै क्षति भएको देखिएको छैन, यदि सोहोरेर अन्यत्र व्यवस्थापन गर्न नसक्ने गरी पहिरो आयो भने हामीले थाम्न सक्दैनौं ।’
२०७९ र २०८० को वर्षायाममा आएको पहिरोले क्षति नपुर्याएपनि लेदोसहितको पानी मुख्य सडकमा पसेपछि बुटवल बहुमुखी क्याम्पसदेखि अस्पताल लाईनसम्म पुगेको थियो ।
२०७८ भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिराका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।
राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा भू-विपद् विज्ञहरु डा सुस्मिता ढकाल, डा रञ्जनकुमार दाहाल, डा मनिता दाहाल र ई सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवन डाँडा क्षेत्रको पहिराको स्थलगत अध्ययन गरेका थिए ।
अध्ययनपछि सो टोलीले तयार पारेको प्रतिवेदनअनुसार ‘भिरालो जमिनमा सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नगरे त्यस्तो भिरालो जमिन असन्तुलित हुनपुग्छ, श्रवन डाँडाको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय पनि सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नै हो’ भनिएको छ ।
यी दुई क्षेत्रमा पहिरो खसेर क्षति पुर्याएको २०७८ मा पहिलो घटना भने होइन । यसअघि २३ वर्ष पहिला पनि २०५५ भदौ १९ र २० मा पहिरोले १०१ वटा घर र १९ वटा घडेरी पुरेको थियो । त्यसबेला एक जनाको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए । घटनापश्चात् बुटवल नगरपालिकाको दैवीप्रकोप राहत उद्धार मूल समितिले प्रकाशन गरेको ‘दैवीप्रकोप अभिलेख विवरण’ अनुसार पहिरोले १२० परिवारलाई घरबारविहीन बनाएको थियो । पाँच करोड ८१ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो ।
बुटवल उपमहानगरपालिकाको स्मारिका बुटवल उत्सवमा प्रकाशित डीआर घिमिरेको लेखमा भनिएअनुसार त्यसबेला पहिरो जानुअघि ६ दिन लगातार पानी परेको थियो । ‘१९ गते दिउँसोबाटै पहिरो जान शुरू गर्यो, जसले गर्दा घरघरबाट मानिसहरू आफ्नो समान सहित लिएर निस्कन पाए,’-स्मारिकामा भनिएको छ-‘यहाँसम्म कि कसैकसैले त क्रमिक रूपमा झरेको पहिरोबाट घर नबँच्ने भएपछि झ्याल, ढोका जस्ता निकाल्न सकिने चिजहरूलाई आफैंले घर फोरेर पनि निकाल्ने काम गरे ।’
त्यसअघि २०३५ सालमा पनि पहिरो आएको थियो । त्यसबेला बस्ती छाडेर भागाभाग भएको थियो । सोही वर्षदेखिमात्रै ज्योतिनगर क्षेत्रको पहिरोको अभिलेख राख्न थालियो । पहिरोले बस्ती बगाउने खतरा देखेपछि तत्कालीन राजा विरेन्द्र शाहले बस्ती स्थानान्तरण गरी चुरे संरक्षण गर्न निर्देशन दिएका थिए । राजाको निर्देशनअनुसार सो क्षेत्रमा बसोबास गरेकाहरुलाई नवलपरासीको बर्दघाट लगिएको थियो ।
कस्तो हो यो क्षेत्र ?
चुरे सबैभन्दा कान्छो र कमजोर पहाडका रुपमा परिचित छ । ६६ डिग्रीसम्मको भिरालो रहेको यस क्षेत्रको औसत भिरालोपन १२ डिग्री छ । समुद्री सतहभन्दा करीब २०० देखि १३०० मिटर उचाईमा रहेको यस क्षेत्रले नेपालका ७७ जिल्लामध्ये ३६ जिल्लाका भूभाग छोएको छ ।
चुरेको १००० वर्गमिटरभन्दा बढी भूभाग ओगट्ने ८ जिल्लामा रुपन्देही पर्दैन । ८ जिल्लामा दाङ (२४१५ वर्गमिटर), चितवन (१८८५), कैलाली (१४५६), सिन्धुली (१४२८), मकवानपुर (१४०२), उदयपुर (१२६७), सुर्खेत (११४६) र नवलपरासी पूर्व (१००५) छन् । लुम्बिनी प्रदेशमा तराई क्षेत्र ५३५४ वर्गमिटर क्षेत्रफल छ भने चुरेको क्षेत्रफल ५३४१ वर्गमिटर छ । यसले तराई र चुरेको क्षेत्र लगभग बराबर रहेको देखाउँछ ।
चुरे नेपालमा मात्रै सीमित छैन । नेपालभन्दा बाहिर शिवालिक पर्वतको नामले चिनिने चुरे पूर्वमा ब्रह्मपुत्र र पश्चिममा सिन्धु नदीसम्म फैलिएको छ । हिमालय पर्वत शृंखलाको सबैभन्दा बाहिरी (दक्षिण) र सबैभन्दा होचो चुरे पर्वत शृंखलाको कुल लम्बाइ करीब २४०० किलोमिटर (नेपालभित्रको भूभागसहित) छ ।
देशको कुल भूभागको करीब १३ प्रतिशत चुरेले र १४ प्रतिशत तराई क्षेत्रले ओगटेको छ भने मुलुकको ५० प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास यही क्षेत्रमा छ । बुटवलको ज्योतिनगरको पहिरो भनेर चिनिएको क्षेत्र तल्लो चुरे पहाडअन्तरगत पर्छ । यसको शिर श्रवणडाँडा हो । यो पहिरो क्षेत्रको अध्ययन गरेका भूगर्भविद् रञ्जनकुमार दाहालका अनुसार श्रवणडाँडा पहिलेको ठाउँबाट ५० देखि ८० मिटर तल धस्केको छ ।
२०७८ सालमा मात्रै १० देखि ३० मिटर तल धस्केको देखिन्छ । पहिरोको शिर साढे एक किमि लामो छ । तल देखिने अरू पहिरोहरू सहायक हुन् ।
भूगर्भविद्का अनुुसार चुरे पर्वत शृङ्खलामा तल्लो शिवालिक ग्रूप अन्तर्गत पाइने मडस्टोन (माटे ढुंगा), स्यान्डस्टोन (बलौटे ढुंगा) र मार्ल (चुन मिसिएको माटे ढुंगा) चट्टान पहिरो क्षेत्रमा पाइन्छन् । यो भित्री चट्टानको माथिल्लो पत्रका रूपमा चिम्ट्याइलो माटो, सिल्ट र केही बालुवा मिसिएको छ ।
दाहालका अनुसार श्रवणडाँडाको माथिल्लो भागमा कोलुभिएम (गेग्रान)को पत्र कम छ । जसले गर्दा वर्षाको पानी सजिलै कमजोर चट्टानमा छिर्छ । त्यसरी छिरेको पानी केही तलबाट मूल फुटेर बग्छ । माथि सतहबाट छिरेको पानीले माटे ढुंगालाई पगाल्छ । अनि पहाड थामिन सक्दैन र भेल पहिरो बग्छ ।
चुरे पहाडको यो नियति श्रवणडाँडाले पनि भोगिरहेछ । परिणाम, डाँडा नै तल धस्किरहेकाले सिङ्गो बुटवलमा ठूलो जोखिम निम्तिन सक्ने खतरा रहेको दाहाल बताउँछन् । श्रवणडाँडाको पहिरोको अर्को पक्ष पनि छ, त्यो हो-त्यहाँ जम्मा हुने पानी । २०५५ र २०७८ सालमा आएको दुई ठूला पहिरोपश्चात् गरिएका अध्ययनहरूले श्रवणडाँडाको मूल तथा सतहको पानीले निकास नपाएका कारण पहिरो गएको औंल्याएका छन् ।
३ वर्षदेखि घट्दो छ त्रास, तर भर छैन
२०७८ सालमा आएको चुरेको पहिरोले बुटवल ज्योतिनगर र लक्ष्मीनगरका १५ घरमा क्षति पुर्यायो । ३० घरमा लेदो र पहिरोले ल्याएका ढुंगा पसे । १२ घरमा लेदोसहितको पानी पस्यो ।
त्यसपछिका वर्षायाममा स्थानीयले रातमा घर छाड्न थाले । डेरामा बसेकाहरु डेरा सरे । पहिरो प्रभावित क्षेत्र त्रासमै बसिरहेको थियो ।
विज्ञहरुसहितको टोलीले अध्ययन अनुसन्धान गरेर ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो दीर्घकालीन हिसाबले रोक्न कठिनाई हुने बतायो । तर, खस्दै गरेको पहिरो हटाउँदै जाने र पानीको बहाव परिवर्तन गरेर दलदले माटोमा जान रोक्ने हो भने पहिरोबाट क्षति कम हुनसक्ने विश्लेषणअनुसार यी क्षेत्रमा काम भइरहेको छ ।
स्थानीय समेत रहेका जनप्रतिनिधि अमृत खड्का भन्छन्-‘पहिले त पानी पर्न थाल्यो कि आज के विनास हुने हो भन्ने चिन्ता थियो, सबैका नजर श्रवणडाँडातिर हुन्थे, पहिरो खस्यो कि सुरक्षित स्थानतिर जानुपर्छ भनेर घरका तल्लो तलामा सामान नै राख्न छाडेको अवस्था थियो ।’
बुटवल उपमहानगरपालिकाले संघीय सरकार र राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई पर्याप्त बजेट विनियोजन गर्न माग गरेपनि पहिरो रोक्नसक्ने गरी बजेट नआएपछि आन्तरिक बजेटबाट सक्दो रोकथाम शुरु गरेको थियो ।
‘त्यसबेला घरमा क्षति भएन, हामीले त्यहीँ स्काभेटर, टिप्पर, ट्याक्टर राखेर जति पहिरो आउँदै गर्छ त्यसलाई सोहोरेर अन्यत्र लैजाने काम गरेका कारणले पहिरो बस्तीमा पस्न पाएन, प्रमुख पाण्डेय भन्छन्-यो नियन्त्रित अवस्थाको कुरा हो, अनियन्त्रित अवस्था आएमा हामी थाम्न नसक्ने अवस्थामा पुग्छौं ।’
उनका अनुासर बुटवल उपमहानगरपालिकाले पहिरो प्रभावित क्षेत्रमा पहिरो आउने बित्तिकै सोहोरेर बस्तीमा पस्न नदिनका लागि स्काभेटर र टिप्पर नियमित रुपमा सोही ठाउँमा राख्ने गरेको छ ।
चालु आर्थिक वर्षमा आवश्यक स्थानमा ग्याबिन जाली लगाउने, खोल्साहरु सफा गर्ने, पानीको बहावलाई व्यवस्थित गर्ने जस्ता काम गर्ने गरी बजेट विनियोजन भएको र सोहीअनुसारको काम शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार पहिरोको जोखिम कम गर्न र स्थानीयलाई सुरक्षित बनाउनका लागि नगरको बजेटले थेग्ने सम्मका काम गरिरहेको छ ।
सोही अनुसारको क्षति हुन नदिनका लागि बुटवल उपमहानगरपालिकाले विशेष प्राथमिकताका साथ बस्ती सुरक्षाका लागि काम गरिरहेको प्रमुख पाण्डेयले बताए ।
उनले नगरको बजेटले मात्रै ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथाम हुन नसक्ने भएकाले संघ र प्रदेश सरकारलाई पटक पटक अनुरोध गरेपनि उचित सम्बोधन हुन नसकेको बताए ।
‘हामी निर्वाचित भएर आएदेखि हरेक वर्ष र वर्षायाम शुरु हुनुअघि प्रदेश सरकार, संघ सरकार र विपद हेर्ने गृह मन्त्रालयमा छुट्टाछुट्टै रुपमा पत्राचार गर्ने र भेटेरै पनि जानकारी गराउने र विपद न्युनीकरणका लागि दिगो हुने गरी काम गर्नुपर्ने बताएका छौं, उनले भने-तर संघ र प्रदेश सरकारले हामीलाई जति सहयोगको खाँचो छ त्यसअनुसार केही पनि गरिरहेको छैन, संघबाट विपदका लागि केही रकम आएपनि प्रदेशबाट त आएकै छैन ।’
पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदान अन्तरगत ४ करोड ५० लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरणका लागि संरचनाहरु निर्माण गरिएका थिए ।
समाधान के हुनसक्छ ?
सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । २०७१ सालको असारमा सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरी चुरेलाई संरक्षण क्षेत्रको रूपमा घोषणा गर्यो । विकास समितिकै अग्रसरतामा २०७४ सालमा चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना बनेको छ ।
उक्त गुरुयोजनाले २० वर्षसम्मको निम्ति चुरे क्षेत्रको सर्वाङ्गीण विकासका लागि अढाई खर्ब रुपैयाँ लाग्ने खाका पनि तयार पारेको छ ।
जसमा पहिलो पाँच वर्षमा झन्डै ८१ अर्ब, त्यसपछिको पाँच वर्षमा ६७ अर्ब, अनि ५१ र ४९ अर्ब गरी विभिन्न क्षेत्रमा लगानी गर्न सुझाइएको छ ।
तर, सो अन्तरगतको कार्यक्रमले स्थानीय रुपमा दिगो समाधानको दृष्टिबाट काम नगरेको बुटवलका नगर प्रमुख पाण्डेय बताउँछन्। ‘यहाँको यति ठूलो बस्ती जोखिममा छ, यसलाई अन्यत्र सारेर लैजान नगरको बजेटले सम्भव नै छैन, संघीय सरकारसँग पटक पटक माग गर्दा चासो भएन, चुरे तराई मधेश संरक्षण विकास समितिले गरेको काम पनि पर्याप्त छैन’-उनी भन्छन् ।
विज्ञहरुका अनुसार यो क्षेत्र सधै जोखिम हुने क्षेत्र हो । पहिरो प्रभावित क्षेत्र मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा तीन वटा ठूला र एक दर्जन जति ससाना खोल्सीहरू छन् । यी खोल्सीहरुबाट चुरेको पानीको निकास हुन्छ । पछिल्लो समय मानव बस्तीका कारण खोल्सीहरु साँघुरिएका छन् । पछिल्लो १९ वर्षयता त्यस्ता खोल्सीहरु मानव बस्तीमा पस्न थालेका हुन् । तिनै खोल्सीहरुको बाटो भएर बग्ने लेदोसहितको पहिरोले २०७८ सालमा क्षति गरेको हो । खोल्सीको मुखतर्फको भाग भरिनु र खोल्सी साँघुरिनु बस्तीको जोखिमका रुपमा देखिएको थियो । त्यसपछि पहिरोले आफै नयाँ स्थानबाट निकास निकालेको थियो । जुन घरहरुभित्र पस्यो ।
यस्तो जोखिमलाई न्यूनीकरण गर्न अध्ययनहरुले पानीको निकासलाई नै व्यवस्थित गर्ने उपयुक्त विकल्प भनेर सुझाएका छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई कार्यालयका प्रमुख रामकृष्ण राजथलाका अनुसार अध्ययन प्रतिवेदनले पानीको निकासलाई व्यवस्थित गर्ने निचोड निकालेको छ ।
उक्त प्रारम्भिक अध्ययन प्रतिवेदनमा भनिएको छ- ‘लक्ष्मीनगरभन्दा माथि रहेको डाँडामा एउटा दुई मिटरभन्दा गहिरो र १२-२० मिटर लामो र पाँच मिटर चौडा पोखरी पनि बनेको देखिन्छ, यस्ता पोखरीहरू फुटेमा तल्लो क्षेत्रमा धेरै क्षति हुन सक्ने सम्भावना पनि छ । यसरी बगिरहेको पानीको सही व्यवस्थापन नगरेसम्म श्रवणडाँडाको पहिरो अति जोखिममा रहेको छ ।’
यसअघि २०५५ सालमा बुटवल उपमहानगरपालिकाको नेतृत्वमा गरिएको अध्ययनले पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि ‘जहाँ जहाँबाट पानीको मूल फूटेको छ, त्यहीं त्यहींबाट पानी ड्रेन आउट (निकास दिने) गर्नुपर्ने’ सुझाव दिएको थियो ।
यिनी सुझावहरुका आधारमा पानीको निकासलाई व्यवस्थित गर्ने र पहिरोले बगाएर ल्याउने ढुंगा, माटोलाई अन्यत्र सार्ने काम भइरहेको नगर प्रमुख पाण्डेय बताउँछन् । जसका लागि नगरले आवश्यकताअनुसार विपदको बजेट खर्च गरिरहेको उनी बताउँछन् ।
यस्तै, चुरे संरक्षणका लागि रुपन्देहीमा स्थापित कार्यान्वयन इकाई कार्यालयले चालु आर्थिक वर्षका लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ । कार्यालयका प्रमुख रामकृष्ण राजथला यस वर्ष पहिरो नियन्त्रणका लागि २० लाख बजेट विनियोजन भएको बताउँछन् । गतवर्ष पहिरो क्षेत्रको अध्ययनका लागि ४३ लाख रुपैयाँ खर्च भएको उनले बताए ।
सोही अध्ययनअनुसार यस वर्ष नियन्त्रणका काम गरिने उनको भनाई छ । यो कार्यालयले यस क्षेत्रका रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, दाङ, सल्यान, प्युठान, तनहुँ र पश्चिम नवलपरासी जिल्लाको चुरे क्षेत्रमा काम गर्छ । जसका लागि चालु आर्थिक वर्षका लागि १७ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए ।