- नेपाल तथ्यजाँचबाट साभार
“नवभारत टाइम्सले भन्यो-नेपालको नदीनाला भारतलाई बेच्ने केपी ओली हो” भन्ने शीर्षकसहितको पत्रिकाको कटिङ जस्तो देखिने सामग्री सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर, हामीले गरेको तथ्यजाँचमा यो सामग्री मूल सामग्रीमा तोडमोड गरी अर्कै हेडलाइन राखेको पाइएको छ। प्रचार गरेको सामग्री मिथ्या सूचना भएको पाइएको छ।
के हो दाबी ?
प्रताप विकाश @pratapbikash7 नामको एक्स ह्याण्डलमा यो सामग्री ६ सेप्टेम्बर २०२४ मा पोस्ट भएको देखिन्छ। यसमा “नवभारत टाइम्सले भन्यो नेपालको नदीनाला भारतलाई बेच्ने केपी ओली हो” भन्ने शीर्षकसहितको समाचारजस्तो देखिने सामग्री छ।
यो सामग्री यो तथ्य जाँच तयार हुँदासम्म (१३ सेप्टेम्बर २०२४ सम्म) ३० पटक रिपोस्ट भएको छ भने ४ पटक कोटसहित प्रकाशन भएको छ र १११ वटा लाइक छन्।
हेर्नुस् स्क्रिनसट
यो सामग्री सामान्य हिसाबले हेर्दा पत्रिकाको अरु अक्षरहरु र लेआउटसँग तालमेल नभएको र थप गरिएको जस्तो देखिन्छ।
यसलाई हामीले रिभर्स इमेज सर्च गरेर हेर्दा केही फेसबुक र एक्स एकाउन्टहरुमा यस्तै खालको सामग्री प्रकाशन भएको पायौं। तर, त्यसमा हेडलाइन भने फरक देखिन्छ।
हेर्नुस् स्क्रिनसट
यी सामग्री हेर्दा राजधानी समाचारदाता भनेर लेखिएको पायौं र त्यो सामग्री कात्तिक १८ गते प्रकाशन भएको पायौं । सोही समाचारका आधारमा केही अनलाइनहरुले समाचार प्रकाशन गरेको पाइयो। जसमा मिति सन् २०१५ को रहेको छ।
राजधानी समाचारदाता उल्लेख भएको सामग्री
सो समाचार एभिन्युज टेलिभिजनमा प्रशारण भएको पत्रिकामा छापिएको समाचारसहितको भिडियो फेला पार्यौं । जसको स्क्रिन रेकर्ड गरिएको भिडियो।
यसअघि फेसबुक र एक्समा भेटिएको समाचारको कटिङ र एभिन्युज टिभीमा प्रशारण भएको पत्रिकामा छापिएको समाचार हामीले मिल्दो पायौं ।
यो सामग्री भारतीय पत्रिका नवभारत टाइम्समा प्रकाशित भए/नभएको पुष्टि गर्न हामीले सोही समयको पत्रिका र राजधानी दैनिकमा छापिएको भनिएको हेडलाइन “नेपाल नाराज क्यों” शीर्षक राखेर खोज्यौं । यसरी खोज्दा ४ नोभम्बर २०१५ मा सोही सामग्री प्रकाशन भएको पायौं ।
स्क्रिनसट
भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको सम्पादकीयको नेपाली अनुवाद गरेर राजधानी दैनिकले समाचार प्रकाशन गरेको हो कि होइन भन्ने पुष्टि गर्न हामीले राजधानी दैनिकको वेबसाइटको अर्काइभ खोज्दा सो सामग्री फेला परेन। सामग्री इन्टरनेटमा फेला नपरेपछि राजधानी दैनिकका सम्पादक सरोज मिश्रलाई सम्पर्क गरी त्यस्तो सामग्री प्रकाशन भए/नभएको सोध्यौं। उनले भारतीय प्रधानमन्त्रीलाई थर्काएको भन्ने समाचार प्रकाशन भएको र नदीनाला बेच्ने भन्ने समाचार प्रकाशन नभएको हामीलाई बताए।
तथ्य जाँच
दावी : “नवभारत टाइम्सले भन्यो नेपालको नदीनाला भारतलाई बेच्ने केपी ओली हो” भन्ने पत्रिकाको कटिङ जस्तो देखिने सामग्री।
दावीकर्ता : एक्स प्रयोगकर्ता प्रताप विकाश @pratapbikash7
तथ्य जाँच: यो सामग्री राजधानी दैनिकमा सन् २०१५ मा प्रकाशन भएको अर्कै सामग्रीको हेडलाइन सम्पादन गरेर तोडमोड गरेर राखिएको हो। तसर्थ यो मिथ्या सूचना हो ।