इन्टरनेटले अहिले विश्वलाई एउटै सञ्जालमा जोडेको छ । हाम्रो दैनिकीमा इन्टरनेट अपरिहार्य भइसकेको छ । इन्टरनेट विना हामी अधिकांश काम गर्न नसक्ने भइसकेका छौं । सूचना र प्रविधिमा आएको परिवर्तनले इन्टरनेटको विकास र यसको विकासले मानवीय दैनिकीमै हेरफेर ल्याएको छ । सूचना सञ्चारका परम्परागत शैली हराएका छन् भने नयाँ नयाँ शैलीको विकास भएको छ । कुनैबेला सूचना सञ्चारका लागि कटुवाल, माइकिङ, सार्वजनिक स्थलमा सूचनापाटी आवश्यक थिए । अहिले ती सबै विस्थापित भइसकेका छन् । अहिले फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक, युट्युब, लिंक्डइनजस्ता सामाजिक सञ्जालहरुको प्रयोग बढ्दो छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगका फाइदा र बेफाइदा दुवै छन् । यी सञ्जालले दुई दशकयता हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव ल्याएका छन् । कतिपय कुरामा हाम्रो दैनिकी सहज भएको छ । इन्टरनेटकै कारण देशविदेशमा रहेका आफन्त, साथीभाईबीच सहज रुपमा सम्पर्क हुन सम्भव भएको छ । कुनैपनि वस्तुको बजारीकरणमा समेत यसले सहजता ल्याएको छ । ज्ञान निर्माण र ज्ञान वितरणमा समेत सहज भएको छ । इन्टरनेटले समयको बचत गराएको छ भने जनचेतना फैलाउने माध्यम पनि बनेको छ ।
अर्को पाटो भने अलिक डरलाग्दो छ ।
यस्ता सञ्जालको प्रयोग र दुरुपयोग अत्यधिक नै भइरहेको छ । यसले फाइदाको साथसाथै बेफाइदा र दुर्घटना पनि निम्त्याएको छ । सामाजिक सञ्जालका फाइदा हुँदाहुँदै पनि समाजमा यसको कुप्रभाव पनि उत्तिकै देखिएको छ । सारा कामकुरा छाडेर हरबखत व्यस्त भइरहने बानीले आँखा कमजोर हुने, आलस्यता बढ्ने, सामाजिक सञ्जालको अवशाद बढ्ने मात्र होइन, परिवारसँगकै सम्बन्ध बिग्रने, समय नदिनेजस्ता समस्या बढेर गएका छन् ।
इन्टरनेट यतिमात्रैको श्रोत होइन । इन्टरनेट गलत सूचना प्राप्त गर्ने र मानिसलाई भ्रममा राख्ने माध्यम पनि हो । नेपालका इन्टरनेट प्रयोगकर्ताहरुमध्ये अधिकांशले सामाजिक सञ्जालबाट मिथ्या सूचना प्राप्त गर्छन् । सेन्टर फर मिडिया रिसर्च-नेपालको २०१९मा गरिएको एक सर्वेक्षणले नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या सूचना प्राप्त गर्ने देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले विशेषगरि यूट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका छन् । धेरै नेपालीहरूका लागि मिथ्या सूचनाको प्रमुख स्रोत यूट्यूब रहेको छ । मिथ्या सूचना प्राप्त गर्नेमध्ये ८५.६ प्रतिशतले यूट्यूबमा गलत सूचना देखेको बताएको सो रिपोर्टमा उल्लेख छ ।
अध्ययनपश्चात् सेन्टर फर मिडिया रिसर्च-नेपाल भन्छ-‘यो तथ्यले ‘नेपालमा यूट्यूब चलाउनेहरूले आफ्नो च्यानल बढी चलाएर पैसा कमाउन पनि विषयलाई बढाइचढाइ गर्ने र मिथ्या सूचनासमेत दिन्छन्’ भन्ने जुन आरोप लाग्दै आएको थियो, त्यसलाई केही हदसम्म पुष्टि गरेको छ ।’ फेसबुक र ट्विटरबाट पनि मिथ्या सूचना फैलिने गरेको सर्वेक्षणले देखाएको छ । दुई तिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्विटरबाट मिथ्या सूचना प्राप्त गर्छन् । सत्र प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।
के हो मिथ्या सूचना ?
मिथ्या सूचना भनेको मूलतः झुटो वा गलत वा भ्रमपूणर् वा अनर्थरूपमा घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग गरेर आमसञ्चारका माध्यममा वा इन्टरनेटमा भेटिने सामग्री हुन् । यी सामग्रीले गलत सूचना प्रवाह गरी भ्रम छर्ने, प्रभावमा पार्ने वा अफवाह फैलाउने गर्छन् । यो इन्टरनेटको विकास भइसकेपछिको कुरा मात्रै हैन । यो धेरै पहिलेदेखि नै अभ्यासमा रहेको कुरा हो । यस्ता सूचना फैलाउने माध्यममात्रै बदलिएको हो । पहिले व्यक्तिले व्यक्तिपिच्छे खबर पुर्याउँदै हिड्नुपथ्र्यो भने अहिले छिनभरमा जुनसुकै ठाउँमा पनि यस्ता भ्रमपूणर् खबर फैलिन सक्छन् ।
खासगरी, अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आमअपेक्षा विपरित अप्रत्याशित रूपमा डोनाल्ड ट्रम्प विजयी भएपछि त्यसको एउटा कारक मिथ्या सूचना र तिनको व्यापकतालाई लिइएको थियो । जसमा फेसबुक, ट्विटर जस्ता सोसल मिडियाको विशेष भूमिका थियो भन्ने अध्ययनहरुले देखाएपछि यसलाई अलि बढी गम्भीरतापूर्वक चासो दिन थालिएको हो । विश्वभर मिथ्यासूचनाका विरुद्धमा गतिविधिहरु सञ्चालन हुन थालेका छन् ।
मिथ्या सूचनाको फैलावट युद्धभन्दा पनि खतरनाक हुनसक्छ भन्ने मान्यताका साथ विश्वभरि नै मिथ्या सूचना रोक्ने, त्यस्ता सूचनाहरुको तथ्यजाँच गर्ने र सही सूचना प्रवाहमा जोड दिने अभियानहरु सञ्चालन भइरहेका छन् । त्यसको प्रभाव नेपालसम्मै आइपुगेको छ । नेपालमा सेन्टर फर मिडिया-नेपाल, पानस साउथ एशिया, नेपाल चेकले तथ्यजाँचको काम गर्न थालेका छन् । मिथ्या सूचनाले लोकतन्त्रलाई नै जोखिममा पुर्याउन सक्ने बुझाइअनुसार तथ्यजाँचको अभियान पनि बढ्दो छ ।
मिथ्या सूचना कसरी चिन्ने, के गर्ने ?
कुनैपनि सामग्री मिथ्या सूचना हो कि होइन भनेर सहजै चिन्न सजिलो छैन । मिथ्या सूचना तयार गर्नेहरुले ती सामग्री विश्वसनीय देखाउने वा भ्रममा राख्ने उदेश्यका साथ तयार पारेका हुन्छन् । आमपाठक वा दर्शकले हेर्नेवित्तिकै ती सामग्री सही हुन् भनेर पत्याउन सकुन् भन्ने उदेश्यले तयार गर्ने भएकाले सहजै सही र गलत छुट्याउन सकिदैन । ती सामग्रीको तथ्य, तथ्यांकलगायतका विषय सही छन् या छैनन् भनेर छुट्याउने केही विधि छन् ।
त्यसका लागि आलोचनात्मक चेत चाहिन्छ । कुनैपनि सामग्री भेट्नेवित्तिकै त्यो सामग्री सही हो या हैन भनेर प्रश्न सिर्जना गर्नसक्नुपर्छ । यसरी प्रश्न सिर्जना गरिसकेपछि केही आधारहरुको खोजी गर्नुपर्छ ।
उदाहरणका लागि, तपाइँले कुनैपनि अनलाईनमा समाचार सामग्रीको लिंक देख्नुभयो । त्यो समाचार पढ्नुअघि वा पढिसकेपछि पूर्ण विश्वास गर्नुअघि एकपटक यी कुराहरु परीक्षण गर्नुस् ।
क- सामग्री प्रकाशन गर्ने सञ्चारमाध्यम कति परिचित हो ? त्यो सञ्चारमाध्यमको सम्पादक, वा सम्पादकीय टीममा को को छन् ? कहाँदेखि सञ्चालन भएको हो ? सरकारी निकायमा दर्ता भएको छ कि छैन ?
ख- सामग्री प्रकाशन भएको सञ्चारमाध्यमको नाम कुनै चलेका स्थापित मिडियासँग मिल्दोजुल्दो पो छ कि ? जस्तो, अनलाईनखबर डट कमसँग मिल्ने अनलाईनखबर पोष्ट वा अनलाईनखबरनेपाल वा यस्तै नाम जोडेर बनाइएको पो हो कि ? यो पनि हेरेर त्यसको विश्वसनीयता पत्ता लगाउन सकिन्छ । तर चलिरहेकै सञ्चारमाध्यमले सधै सही सूचना प्रवाह गर्छन् भन्ने पनि हुँदैन है । यीनका सामग्रीप्रति पनि शंका गर्नुपर्छ ।
ग- समाचार वा सामग्रीको शीर्षक र सामग्रीमाथि पनि एकपटक प्रश्न गर्नुहोस् । कहिलेकाँही चलिरहेका सञ्चारमाध्यमप्रति पनि प्रश्नको दृष्टिले हेर्नुहोस् । शीर्षक र समाचारको अंशबीचमा मेल खाएको छ कि छैन त्यो पनि हेर्नुपर्छ । समाचारमा आवश्यक तत्वहरु कहाँको कुरा हो, कहिलेको कुरा हो, कसले भनेको कुरा हो, भन्ने व्यक्ति वा श्रोत भरपर्दो छ कि छैनजस्ता कुराहरु पनि ख्याल गर्नुपर्छ । उदाहरणका लागि विमान दुर्घटना भएको समाचारमा भन्सार कार्यालयका अधिकारीको भनाई राखेर त पुष्ट्याइँ हुँदैन । कहिलेकाँही श्रोतका अनुसार, विज्ञका अनुसार, हाम्रो विश्वसनीय उच्च श्रोतका अनुसार जस्ता श्रोत प्रयोग गरेका हुनसक्छन् । तर त्यस्ता सामग्रीमा शंका गर्नुहोस् । कुनैपनि घटनाको पुष्टि गर्न सम्बन्धित निकायका आधिकारिक व्यक्ति वा श्रोतको आवश्यकता पर्छ ।
घ- त्यो सामग्री तयार पार्ने, लेख्ने पत्रकार वा लेखक को हो त्यसको खोजी गर्नुहोस् । प्रकाशित मिति, घटना भएको ठाउँ, लेखक वा पत्रकारको नाम छैन भने त्यस्ता सामग्रीमा शंका गर्नुहोस् ।
ङ- सामाजिक सञ्जालमा तस्वीरहरु प्रयोग गरी ग्राफिक्सहरु बनाएर आकर्षक बनाइएका सामग्रीहरु फेला पर्छन् । त्यस्ता सामग्रीको वास्तविकता र तथ्यबारे जानकारी नराखी विश्वास गर्नुहुँदैन । ती सामग्री सही र गलत भनेर विश्वास गर्नुअघि एकपटक परीक्षण गर्नुहोस् ।
च- कुनैपनि सामग्री भेटिसकेपछि यो मिथ्या हुनसक्छ भनेर सचेत हुनुपर्छ । त्यस्ता सामग्रीको विश्वसनीयता नजाँची वा ख्याल नगरी प्रतिक्रिया दिनुहुँदैन ।
मिथ्या सूचना फैलिनबाट रोक्न सकियो भने कोही कसैलाई गलत निणर्य गर्नबाट रोक्न सकिन्छ । मिथ्या सूचनाकै कारण मानिसलाई भ्रममा राख्ने काम हुनसक्छ । यसबाट जोगाउन मिथ्या सूचना सेयर गर्ने, यस्तो भेटियो के रहेछ भनेर सेयर गर्ने काम गर्नुहुँदैन । बरु, त्यस्ता सामग्री प्रकाशन गर्नेलाई निरुत्साहित गर्नुपर्छ ।