फ्रेन्च स्टार केलियन एम्बाप्पेले आफ्नो २५ औं जन्मदिनमा गोल गर्दा उनका १६ वर्षीय भाइ इथन एम्पबापेले पिएसजीमा डेब्यु गरेका छन्।
फ्रेन्च लिग वानअन्तर्गत पिएसजीले मेट्जलाई ३-१ ले पराजित गर्दा एम्बाप्पेले दुई गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा पिएसजीले भिटिन्हाको ४९ औं मिनेटको गोलमार्फत् खेलमा अग्रता लिएको थियो।
एम्बाप्पेले ६० औं मिनेटमा भिटिन्हाकै पासमा करिब २० यार्डबाट टप कर्नरमा गरेको शक्तिसाली प्रहार गोलमा परिणत हुँदा पिएसजीले २-० को अग्रता बनायो। तर म्याथ्यु उडोलले गोल गर्दै मेट्जको आसा कायम राखेका थिए।
तर पिएसजीका सर्वकालीन महान गोल स्कोरर बनिसकेका एम्बाप्पेले निर्धारित समयको सात मिनेट बाँकी रहँदा व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै टिमको जित निश्चित गरे। उनी ६ वर्षभित्र जन्मदिनमा दुईपटक गोल गर्ने एक्लो पिएसजी खेलाडीसमेत बने। उनले यसअघि १९ औं जन्मदिनमा क्याइनलाई ३-१ ले पराजित गर्दा गोल गरेका थिए।
इन्जुरी समयमा प्रशिक्षक लुइस इनरिकले एम्बाप्पेका १६ वर्षीय भाइ इथन एम्बाप्पेलाई डेब्यु गराएका थिए। जितसँगै इनरिकको पिएसजी दोस्रो स्थानको नाइससँग ५ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा कायम रह्यो।
१७ खेलबाट पिएसजीको ४० अंक हुँदा समान खेलबाट नाइस ३५ अंकका साथ दोस्रो स्थानमा रहँदा मोनाको ३३ अंकका साथ तेस्रो स्थानमा रहेको छ।