नीतिपत्र
सिद्धार्थनगरले बनायो शिक्षा र प्राविधिक कर्मचारी व्यवस्थापनको कानुन

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दुईवटा विधेयक पारित गरेको छ । हिउँदे सभाको १७ औं अधिवेशनबाट नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक र नगरको शिक्षा ऐन २०७४ लाई प्रथम संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो ।

सोमबार भैरहवास्थित महेन्द्र सभा गृहमा भएको सभामा सभा अध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नगरको प्रगति विवरणसहित यी दुइवटा विधयक सभामा प्रस्तुत गरेका थिए । सभाले छलफल पछि विधेयकलाई पारित गरेको हो । विधेयक पारित भएसँगै सिद्धार्थनगरलाई प्राविधिक कर्मचारी करारमा राख्न बाटो खुलेको छ । विधेयकमा करारतर्फ इञ्जिनियरिङ्ग, कृषि, पशु, स्वास्थ्य तथा प्राविधिकतर्फ अन्य कर्मचारी करारमा राख्न पाउने उल्लेख छ । 

त्यस्तै शिक्षा विधेयक संशोधनपछि नगर शिक्षा समितिमा उपप्रमुख समेत सदस्य रहने व्यवस्था गरिएको छ । विधेयकमा नगरप्रमुख अध्यक्ष भन्ने वाक्यको पछाडी नगर उपप्रमुख उपाध्यक्ष भन्ने थप गरिएको छ । 
नगर सभामा नगरको चालू आर्थिक वर्षको प्रगति सार्वजनिक गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँले ५७ औं स्थापना दिवस २०८१ भव्य रुपमा सम्पन्न भएको, नगर सरसफाई, सडक बत्ती व्यवस्थापन तथा नगरका विभिन्न स्थानमा गत वर्ष स्मार्ट लाईट जडान गरी सो कार्यको यस वर्ष फस्र्यौट कार्यसम्पन्न भएका बताए  ।

उनले छाडा चौपाया व्यवस्थापन, फोहोरमैला दिगो र मितव्ययी एवं गुणस्तरीय व्यवस्थापनको लागि सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्रवान, नगरको सौन्दर्यकरणको लागि तीनपांग्रे रिक्सा व्यवस्थापनका साथै ठेलाको व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा अनाधिकृत सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने कार्यका साथै नगरपालिकाको नीतिगत निर्णयलाई कार्यान्वयन गर्न १५ जना नयाँ नगर प्रहरी समेत नियुक्ति गरिनुलाई पनि चालु आर्थिक वर्षका महत्वपूर्ण उपलब्धी रहेको उल्लेख गरे ।

त्यस्तै उनले सिद्धार्थनगर नगरपालिकामा संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट भएको भौतिक पूर्वाधारतर्फका योजनाहरु कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाइसकिएको र पुस मसान्तसम्म पूर्वाधार निर्माणतर्फ ५९ वटा योजनाहरु बोलपत्र तथा दरभाउपत्रका माध्यमबाट सूचना प्रकाशन भएकोमा ४६ योजना सम्झौता भइ बाँकी १३ वटा योजनाहरु सम्झौताको प्रक्रियामा रहेको उल्लेख गरे । 

ठेक्का खोलिएका योजनाहरुको कामसम्पन्न भए पश्चात ग्राभेल सडकतर्फ ५.७ किलोमिटर, नाली निर्माणतर्फ ६.५ किलोमिटर, आरसीसी सडकतर्फ ३५२ मिटर तथा आरसीसी भवन निर्माणतर्फ १२ वटा रहेका छन् । सार्वजनिक जग्गा तथा नगरपालिकाका विभिन्न भवनहरुमा पर्खाल निर्माण तर्फ १३९.७५ मिटर रहेको छ । यसै आर्थिक वर्षमा कार्यालय सञ्चालनका लागि निर्माणमा रहेको प्रशासनिक भवन निर्माण कार्यसम्पन्न गरी सोही भवनबाट सेवा प्रवाहको शुभारम्भ हुने उनले बताए ।

नगर उपप्रमुख उमा अधिकारीले एसियाली विकास बैंक, नेपाल सरकार  र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुन गइरहेको युआरएलआईपी योजनाको सम्झौता भएको र यसको छिट्टै कार्य प्रारम्भ हुने बताइन् । प्रमुख प्रशासकीय अधिकृत जनक थापाले डण्डा करिडोर निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन शहरी विकास मन्त्रालयमार्फत भइरहेकोले यो समेत छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update