नीतिपत्र
सामाजिक सञ्जाल विधेयकमा के छ ? विश्लेषण र सुझाव

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरूङले विसं २०८१ माघ १५ गते संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक “सामाजिक सञ्जाल ऐन, २०८१” दर्ता गरेका छन् । उक्त विधेयकलाई संघीय संसद्समक्ष पेस गर्न २०८१ माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो ।

“सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा कानून निर्माण गर्न आवश्यक भएकोले” विधेयक दर्ता गरिएको मन्त्रालयले संसद्लाई पठाएको पत्रमा जनाएको छ ।

मन्त्रालयले लोकतन्त्रलाई बलियो र प्रेस जगतलाई थप विश्वसनीय बनाउन सामाजिक सञ्जाल विधेयक ल्याइएको र यो प्रेस स्वतन्त्रताको मूलभूत मान्यता, सिद्धान्त र नीतिमा आधारित भएको दाबी गरेको छ । साथै नागरिकको सूचनाको हकलाई कुण्ठित हुन नदिन, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका मूलभूत सिद्धान्तलाई अझ प्रभावकारी बनाउन र सामाजिक सञ्जालका नकारात्मक प्रयोगलाई नियमन गर्न आवश्यक रहेका कारण यो विधेयक ल्याइएको सरकारी पक्षको दाबी छ ।

विधेयकको आलोचना गर्नेहरूले भने यो विधेयक नियन्त्रणमुखी भएको र यसले नागरिकको संविधान प्रदत्त आधारभूत अधिकारहरूलाई कुण्ठित गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् । यसले लोकतन्त्रको सिद्धान्तहरूलाई अवलम्बन नगरेको, नागरिक अधिकारलाई खुम्चयाउने र प्रविधिको विकासबाट लिन सकिने अवसर र सकारात्मक फाइदाहरूलाई बेवास्ता गरी निश्चित घटनाहरूको आधारमा पर्याप्त अध्ययन र तथ्याङ्क नभई हचुवाको भरमा सरकारी कार्यालयलाई शक्तिशाली तजबिजी अधिकार दिने गरी ल्याइएको विधेयकले लोकतन्त्रलाई कमजोर बनाउने दाबी गरेका छन् ।

यस सन्दर्भमा सामाजिक सञ्जालसम्बन्धी विधेयकका कमीकमजोरी र गर्नुपर्ने सुधारका बारेमा लोकतान्त्रिक मूल्यमान्यता र नागरिक अधिकारका साथै इन्टरनेट स्वतन्त्रता र प्रविधिको सकारात्मक प्रयोगको पैरवीका धरातलमा उभिएर यो विश्लेषण गरिएको छ ।

विधेयकका प्रावधानहरू

विधेयकमा मूलतः दुई विषय समेटिएका छन् । पहिलो, सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने कम्पनीहरूको अनुमति र पालना गर्नुपर्ने सर्तहरूको विषय एवं दोस्रो सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिकहरूको पालना गर्नुपर्ने सर्त र कसूर एवं सजायको विषय ।

विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने, यस्तो अनुमतिपत्रको अवधि दुई वर्षको हुने र नवीकरण गर्नुपर्ने प्रावधान छ । सञ्चालन अनुमति नलिएका प्लेटफर्म सञ्चालनमा रोक लगाउन सकिने, सर्तहरू पालना नगर्नेको अनुमति रद्द गर्न सक्ने एवं अनुमति नलिने प्लेटफर्मलाई २५ लाखसम्म जरिवाना हुनसक्ने विधेयकमा उल्लेख छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरूको अनुमतिपत्र जारी गर्ने, नवीकरण, अनुगमन तथा निरीक्षण, अनुमति रद्द एवं जरिवाना लगायतका कार्यहरू गर्न मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागलाई तोकिएको छ । सामाजिक सञ्जाल प्रयोग गर्दा राष्ट्रहित प्रतिकूल हुने कार्य; साइबर बुलिङ् वा सेक्सटोर्सन/एक्सटोर्सन; ह्याकिङ् वा गोपनीयता भङ्ग; विभत्स वा अश्लील सामग्री प्रकाशन; कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा ‘हेट स्पीच’ मानिने कार्य गर्न नपाउने; मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार गर्न नपाउने; प्रचलित कानूनले निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुने एवं अन्धविश्वास फैलाउने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विषयवस्तु प्रसार गर्न नहुने विषयहरू उल्लेख छ । गर्न नहुने भनी तोकिएका माथिका कार्य कुनै प्रयोगकर्ताले गरेमा विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रावधान पनि विधेयकमा राखिएको छ । त्यसैगरी विधेयकमा बेनामे वा परिचय लुकाएर सामाजिक सञ्जाल चलाउनुलाई पनि कसूर मानिएको छ ।

विधेयकका प्रमुख कमीकमजोरी

१. फरक विषयवस्तुलाई एउटै कानूनमा समेट्ने प्रयासः प्रविधि र विशेषताका हिसाबले सामाजिक सञ्जाल प्लेटफर्म कुनै प्रयोगकर्ताको प्रयोगका अवस्थामा तेस्रो पक्षका रूपमा मानिन्छ । सामाजिक सञ्जालले प्रयोगकर्तालाई तुरून्तै केही कुरा प्रकाशन गर्ने सुविधा दिने हिसाबले जानकारी नभएको अवस्थासम्मका लागि प्लेटफर्मको सामग्रीप्रतिको जबाफदेहिता न्यूनतम र प्रयोगकर्ताको जिम्मेवारीसँग बाँडिएको हुन्छ ।

प्लेटफर्म र त्यसका सामग्री दुई फरक विषयवस्तु हुन् । यसकारण सामाजिक सञ्जाललाई प्लेटफर्मका रूपमा नियमन गर्ने कानूनमा प्रयोगकर्ताको प्रयोग र सामग्रीको विषय सामाजिक सञ्जाल प्लेटफर्मको प्रविधिजन्य जिम्मेवारीका विषयमा मात्रै जोडिनुपर्छ । यो विधेयकले यी दुई फरक विषयवस्तुलाई एउटै कानूनमा जोड्ने प्रयास गरेको छ जसले गर्दा यो विधेयक व्यवहारिक बन्न सकेको छैन ।

२. फराकिलो अर्थ बोक्ने परिभाषा र वस्तुगतरूपमा अर्थ्याउन नसकिने शब्दावलीः विधेयकमा भएका थुप्रै विषयमा परिभाषा स्पष्ट छैन र फराकिलो अर्थ बोक्ने र वस्तुगत रूपमा अथ्र्याउनै नसकिने खालका छन् । यसका शब्दावलीको प्रयोगले विधेयकलाई जसरी पनि अर्थ्याउन शक्तिमा रहेकाले दुरूपयोग गर्न सकिने संभावना रहन्छ । कतिपय प्राविधिक र चलनचल्तीका शब्दहरूको व्याख्या व्यापक हुनुका साथै भ्रामक पनि छ । उदाहरणका रूपमा साइबर बुलिङको परिभाषालाई हेर्न सकिन्छ । विधेयकमा साइबर बुलिङलाई ‘सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिन्ह, चित्र, स्केच, फोटो, अडियो, भिडियो, श्रव्यदृश्य, सङ्केत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्काउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने’ भनिएको छ जसमा प्रयोग भएका सताउने, तर्साउने, लज्जित गराउने जस्ता शब्दहरूलाई वस्तुगतरूपमा अथ्र्याउन कठिन हुन्छ र यो व्यक्तिगत सोचाइमा भर पर्छ । त्यस्तै ‘सार्वभौमसत्ता’, ‘अखण्डता’, ‘राष्ट्रहित’, ‘संघीय इकाइबीचको सुसम्बन्ध’, ‘वीभत्स’, ‘अश्लील’ र ‘भ्रामक’ जस्ता शब्दहरूले फराकिलो अर्थ बोक्छन् ।

३. प्रशासनिक निकायलाई न्यायिक भूमिकाः विधेयकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विभागलाई न्यायिक भूमिका दिएको छ । अनुमति पत्र दिने, अनुगमन गर्ने, कसूर निर्धारण गर्ने र सजाय गर्ने सबै कुरा प्रशासनिक निकायलाई दिनु कानूनको सामान्य सिद्धान्तसँग मेल खाँदैन । त्यस्तै दफा १६ (१) मा प्रयोगकर्ताका लागि तोकिएका शर्तहरू पालना नगर्ने नागरिकलाई दफा १६ (३) बमोजिम  विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ । यी प्रावधान नेपालको संविधानको धारा १२६ को ‘न्यायसम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने’ व्यवस्थासँग मेल खाँदैन ।

विभागका निर्णयमा पारदर्शिता र उत्तरदायित्वको व्यवस्था गर्नुका साथै निर्णयउपर कानुनी उपचार खोज्ने व्यवस्था गर्नुपर्नेमा उल्टै विभागलाई झनै मनमौजी बन्ने अवस्था विधेयकले सिर्जना गरेको छ । फराकिलो अर्थ बोक्ने शब्दावलीको प्रयोग भएको कानूनमा प्रशासनिक इकाईबारे यस्तो प्रावधानले उसको तजबिजी अधिकारलाई शक्तिशाली बनाउँछ ।

४. न्यायिक निरूपणको व्यवस्था नभएकोः विभागलाई कसूर निर्धारण र सजायको अधिकार दिने कुरा कानुनी हिसावले गलत छ नै, विभागका निर्णयउपर कानूनी उपचारको व्यवस्थासमेत नहुनु चाहिं न्याय सिद्धान्तसँग मेल नखाने कुरा हो । जरिवानाको निर्णयमा कानुनी उपचारको व्यवस्था नै नभई ठूलो रकम जरिवाना बुझाउनुपर्ने अवस्था सिर्जित छ । दफा १२ र १३ मा सामाजिक सञ्जाल प्लेटफर्मलाई पाँच लाखदेखि एक करोड रुपैयाँसम्म जरिवानाको निर्णय विभागले गर्नसक्ने व्यवस्था छ तर त्यस निर्णयमा चित्त नबुझे गुनासो र कानुनी उपचार खोज्न सक्ने व्यवस्था गरिएको छैन । यसले कसूर प्रमाणित नभई कसूरदार नहुने न्यायको सिद्धान्तलाई आत्मसात गर्दैन ।

५. सरकार वादी फौजदारी मुद्दाः सामाजिक सञ्जाल प्रयोगकर्तासम्बन्धी कसुरहरूमा धेरै अवस्थामा पीडित मानिएको पक्षको राय नबुझी सरकार वादी भई फौजदारी मुद्दा चल्न सक्ने व्यवस्था गरिएको छ ।

६. प्रचलित कानूनका व्यवस्थालाई अवहेलनाः यस विधेयकमा कसूर मानिएका सबैजसो कसूरहरू र सजायका लागि अन्य प्रचलित कानूनमा व्यवस्था भएको देखिन्छ । अन्य कानूनमा यसमा भन्दा स्पष्ट परिभाषा र सजायको व्यवस्था हुँदाहुँदै यसमा अस्पष्ट र व्यापक अर्थ लाग्ने शब्दावलीहरूको प्रयोगले यसलाई तजबिजी बनाउन खोजेको देखिन्छ । उदाहरणका लागि (दफाका पूर्ण विवरणहरूका लागि अनुसूची हेर्नुहोस् । अनुसूची यो डाउनलोड फाइलमा उपलब्ध छ):

विधेयकमा तोकिएको कसूर सोही कसूर रहेको अन्य प्रचलित कानून र
दफाका उदाहरणहरू

दफा १८. राष्ट्रहित प्रतिकूल कार्य

 

 

  • मुलुकी अपराध संहिता, २०७४ को भाग २ को परिच्छेद १ मा राज्यविरूद्धका कसूर, दफा ५० (राजद्रोह) (३), दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) (२) (क)
दफा १९. साइबर बुलिङ गर्न नहुने
  • जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को १२
  • बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (२) (च)
  • विद्युतीय कारोबार ऐन २०६३ दफा ४७
  • मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ (यौन दुर्व्यवहार)
  • मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ र ३०६ (गाली बेइज्जती)
दफा २०. साइबर स्टकिङ् गर्न नहुने
  • वैयक्तिक गोपनियता सम्बन्धी ऐन, २०७५ को दफा १९ (विद्युतीय माध्यमको गोपनीयता हुने) (१) र (२)
  • विद्युतीय कारोबार ऐन २०६३ दफा ४७
दफा २१. कसैको आईडी तथा सूचना ह्याक गर्न नहुने
  • वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ को दफा १९ (विद्युतीय माध्यमको गोपनीयता हुने): (१) र (२)
  • मुलुकी अपराध संहिता, २०७४ को भाग ३ (वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसूर)
दफा २२. फिसिङ् वा इम्पोस्टर स्क्याम गर्न नहुने
  • वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ को दफा १९ (विद्युतीय माध्यमको गोपनीयता हुने): (१) र (२)
  • मुलुकी अपराध संहिता, २०७४ को भाग ३ (वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरूद्धको कसूर)
  • मुलुकी अपराध संहिता दफा २४९ (ठगी)
दफा २३. सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने
  • मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ ( एक्सटर्सन) लिन नहुने
दफा २५. अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न नहुने
  • मुलुकी अपराध संहिता, २०७४ को दफा ७० (झुट्ठा अफवाह फैलाउन नहुने), दफा १२१ (अश्लीलता), दफा २८५ (२) (घ)
दफा २६. डिपफेक भिडियो अपलोड वा प्रसार गर्न नहुने
  • मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ (अनुमतिविना कुनै व्यक्तिको तस्बीरको स्वरूप बिगार्न नहुने)

विधेयकका कमीकमजोरीले सिर्जित समस्याहरू

१. लोकतान्त्रिक मूल्यमान्यता र नागरिक अधिकार हनन 

सामाजिक सञ्जाल विधेयक २०८१ ले लोकतान्त्रिक मूल्यमान्यता र नागरिक अधिकारलाई हनन गर्ने गम्भीर समस्या सिर्जना गरेको छ । यस विधेयकले नागरिकको संविधान प्रदत्त आधारभूत अधिकार, विशेष गरी अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई सीमित गर्ने प्रयास गरेको छ । यसले नागरिकलाई आफ्नो विचार व्यक्त गर्न र सूचना प्राप्त गर्ने हकबाट वञ्चित बनाउँदै लोकतन्त्रको मूल सिद्धान्तलाई कमजोर पार्छ । विधेयकमा उल्लेखित अस्पष्ट शब्दावली र प्रावधानहरूले सरकारलाई नागरिक अधिकारमा अनावश्यक हस्तक्षेप गर्ने अवसर दिन्छ जसले गर्दा लोकतान्त्रिक प्रक्रियामा नागरिकको सहभागिता घट्छ र नागरिक अधिकार हनन हुने खतरा बढ्छ ।

२. सहजीकरण र नियमनमुखी होइन, स्वार्थप्रेरित नियन्त्रण

विधेयकले सामाजिक सञ्जाललाई सहजीकरण गर्ने र यसको सकारात्मक प्रयोगलाई बढावा दिनुको सट्टा स्वार्थप्रेरित हिसावले नियन्त्रण गर्ने उद्देश्य राखेको छ । यसले सरकारलाई सामाजिक सञ्जालमा नागरिकको गतिविधि नियन्त्रण गर्ने व्यापक अधिकार दिएको छ । विधेयक नियन्त्रणमुखी भएकाले यसले प्रविधिको विकासलाई बाधा पुर्याउँछ र नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रतामा अनावश्यक रोक लगाउँछ । यसले सामाजिक सञ्जालको प्रयोगलाई सरकारले दमन गर्ने औजारको रूपमा प्रयोग गर्ने अवसर दिन्छ जुन लोकतान्त्रिक प्रक्रियाको लागि हानिकारक छ ।

३. तजबिजी अधिकारको व्यापक दायरा 

विधेयकले प्रशासनिक निकायलाई तजबिजी अधिकारको व्यापक दायरा प्रदान गरेको छ । यसले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सामाजिक सञ्जाल प्लेटफर्म र प्रयोगकर्ताको गतिविधि नियन्त्रण गर्ने, अनुमति दिने, रद्द गर्ने र जरिवाना लगाउने जस्ता न्यायिक कार्यहरू गर्ने अधिकार दिएको छ । यसले प्रशासनिक निकायलाई न्यायिक भूमिका दिन्छ जुन संविधानको न्यायिक स्वतन्त्रताको सिद्धान्तसँग मेल खाँदैन । यसले प्रशासनिक निकायलाई मनोमानी गर्ने अवसर दिन्छ र नागरिकको अधिकारलाई खतरामा पार्छ ।

विधेयकमा विभागलाई प्रेस काउन्सिलजस्तो स्वतन्त्र र अर्धन्यायिक रहनुपर्ने निकायलाई समेत सरकारी कार्यालयको इकाईको रूपमा राख्न खोजिएको छ । सामाजिक सञ्जालको नियमनका विषयमा प्रेस काउन्सिलको भूमिका फराकिलो बनाउने व्यवस्था होस् वा अर्धन्यायिक निकायको रुपमा रहेको काउन्सिललाई सरकारी इकाईका रूपमा व्यवहार गर्ने कार्य नै किन नहोस्, यसले प्रेस स्वतन्त्रता र मर्यादित पत्रकारिताका लागि काउन्सिलले गर्नुपर्ने कार्यमा बाधा पुग्छ ।

४. प्रचलित कानूनहरूको अवहेलना 

विधेयकले प्रचलित कानूनहरूको अवहेलना गरेको छ । यसमा उल्लेखित धेरै कसूरहरू पहिल्यै अन्य कानूनहरूमा परिभाषित गर्दै त्यसअनुरुप दण्ड सजायका प्रावधान समेत तोकिएका छन् । तर, यस विधेयकले ती कसूरहरूलाई अस्पष्ट रूपमा पुनः परिभाषित गरी सरकारलाई अतिरिक्त अधिकार दिएको छ । यसले कानूनी प्रक्रियामा असमानता र अव्यवस्था त सिर्जना गर्छ नै न्यायिक प्रक्रियालाई पनि जटिल बनाउँछ । यसले प्रचलित कानूनहरूको प्रभावकारितालाई कमजोर पार्छ र कानूनी प्रणालीमा अविश्वास बढाउँछ ।

५. अभिव्यक्तिलाई नै अपराधका रुपमा व्याख्या गर्ने प्रवृति 

विश्वभर नै अभिव्यक्तिका कारण भएका कसूरलाई फौजदारी अभियोग नमानी देवानी मुद्दाका रूपमा स्थापित गर्ने चलन चलिरहेको बेला विधेयकले अभिव्यक्तिलाई फौजदारी अपराधको रूपमा र सरकारवादी मुद्दाका रूपमा व्याख्या गर्ने प्रवृत्ति देखाएको छ । यसमा उल्लेखित अस्पष्ट शब्दावली र प्रावधानहरूले नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने क्रममा डराउने वातावरण सिर्जना गर्छ । यसले सरकारलाई नागरिकको अभिव्यक्तिलाई दमन गर्ने अवसर दिन्छ र लोकतान्त्रिक समाजमा आलोचना र विरोधको अधिकारलाई कुण्ठित गर्छ । यसले नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने हकबाट वञ्चित बनाउँछ र लोकतन्त्रको मूलभूत सिद्धान्तलाई कमजोर पार्छ ।

६. ‘सुपर’कानून 

विधेयकमा उल्लेखित प्रावधान हेर्दा यो कानूनलाई ‘सुपर’कानूनको रूपमा स्थापित गर्ने प्रयास गरिएको छ । यसले अन्य प्रचलित कानूनहरूलाई अवहेलना गरी आफ्नो व्यापक अधिकार क्षेत्र स्थापित गर्छ । यसले सरकारलाई नागरिकको गतिविधि नियन्त्रण गर्ने र न्यायिक प्रक्रियामा हस्तक्षेप गर्ने अधिकार दिन्छ । यसले कानूनी प्रणालीमा असमानता र अव्यवस्था सिर्जना गर्छ र नागरिकको अधिकारलाई खतरामा पार्छ ।

७. विरोधको अधिकार र आलोचनालाई नियन्त्रण 

विधेयकले विरोधको अधिकार र आलोचनालाई नियन्त्रण गर्ने प्रयास गरेको छ । यसमा उल्लेखित प्रावधानहरूले नागरिकलाई सरकार वा अन्य निकायको आलोचना गर्ने क्रममा डराउने वातावरण सिर्जना गर्छ । यसले लोकतान्त्रिक समाजमा आलोचना र विरोधको अधिकारलाई कुण्ठित गर्छ र सरकारलाई नागरिकको विचारलाई दमन गर्ने अवसर दिन्छ । यसले नागरिकको सहभागितालाई घटाउँछ र लोकतन्त्रको मूलभूत सिद्धान्तलाई कमजोर पार्छ ।

८. नियमन गर्नुपर्ने विषयवस्तु पनि नियमन नहुने अवस्था 

नियमन गर्नुपर्ने विषयवस्तुलाई नियमन गर्ने सवालमा भने विधेयक असफल रहेको छ । यसमा उल्लेखित अस्पष्ट शब्दावली र प्रावधानहरूले नियमनको प्रक्रियालाई जटिल बनाएको छ । यसले सरकारलाई नियमन गर्ने क्रममा मनोमानी गर्ने अवसर दिन्छ र नागरिकको अधिकारलाई खतरामा पार्छ । यसले नियमनको प्रक्रियालाई अप्रभावकारी बनाउँछ र लोकतान्त्रिक प्रक्रियामा नागरिकको सहभागितालाई घटाउँछ ।

९. नागरिक, नागरिक समाज र प्रेसका लागि भय र त्रासको वातावरण 

विधेयकले नागरिक, नागरिक समाज र प्रेसका लागि भय र त्रासको वातावरण सिर्जना गरेको छ । यसमा उल्लेखित प्रावधानहरूले नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने क्रममा डराउने वातावरण सिर्जना गर्छ । सामाजिक सञ्जाल नियमनका नाममा सरकार जेल र जरिवानाको त्रास देखाएर आफ्नो अक्षमतामाथि प्रश्न उठाउने सर्वसाधारणको आवाज बन्द गराउन चाहन्छ र सरकार आफूविरुद्धका आलोचनामा हदैसम्म असहिष्णु हुन खोजेको विधेयकको व्यवस्थाबाट स्पष्ट हुन्छ । यसले प्रेस स्वतन्त्रतालाई सीमित गर्छ र नागरिक समाजलाई आफ्नो कार्य गर्ने क्रममा अवरोध सिर्जना गर्छ । यसले लोकतान्त्रिक समाजमा खुलापन र पारदर्शितालाई कमजोर पार्छ र नागरिकको अधिकारलाई खतरामा पार्छ ।

सुधारका लागि सुझाव

सामाजिक सञ्जाल विधेयक २०८१ का प्रावधानहरूमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ जुन निम्न बमोजिम रहेका छन्ः

१. सामाजिक सञ्जाल प्लेटफर्म नियमनमा केन्द्रित गर्नेः विधेयक प्लेटफर्म र त्यसमा प्रकाशित सामग्री गरी दुवैमा भन्दा पनि प्लेटफर्मको मात्रै नियमनमा केन्द्रित गर्नुपर्छ । यसका लागि सामाजिक सञ्जालका प्रयोगसम्बन्धी प्रावधान र कसुरहरू हटाउनुपर्छ । त्यसका लागि विधेयकमा निम्न परिमार्जन गर्नुपर्छः

(क) प्रस्तावनाबाट “र प्रयोगकर्तालाई” भन्ने वाक्यांश हटाउने ।

(ख) दफा २ (ञ) बाट “यस ऐन वा” भन्ने वाक्यांश हटाउने ।

(ग) दफा ११, १६, १८, १९, २०, २१, २२, २३, २४, २५, २६ र २७ पूरै हटाउने ।

२. सामाजिक सञ्जाल प्लेटफर्मको दर्ता र अनुमतिपत्रको व्यवस्था र सञ्चालनलाई सहज र पारदर्शी बनाउनेः

(क) अनुमतिपत्रका लागि निवेदन दिँदा अति आवश्यक न्यूनतम कागजात माग गर्ने व्यवस्थाका लागि दफा ४ परिमार्जन गर्ने;

(ख) अनुमतिपत्र प्रदान गर्दा आवश्यक थप शर्तहरू तोक्न सक्ने दफा ६ (२) को व्यवस्था हटाउने;

(ग) दफा ६(३) बमोजिम अनुमतिपत्र प्रदान नगर्ने वा दफा ८ बमोजिम खारेजीको निर्णय भए त्यो निर्णयमा कानूनी उपचार र क्षतिपूर्ति माग गर्न पाउने व्यवस्था गर्ने;

(घ) दफा ८ (४) मा रहेको मन्त्रालयको सचिवले गरेको निर्णय अन्तिम हुनेछ भन्ने वाक्यांश हटाउने;

(ङ) दफा ९ बमोजिम प्लेटफर्म सञ्चालनमा रोक लगाउने निर्णय भए पनि न्यायिक निरूपण खोज्न र क्षतिपूर्तिको माग गर्न पाउने व्यवस्था गर्ने;

(च) दफा १२ (ट) र (ठ) जस्ता व्यापक अर्थ बोक्ने र तजबिजी अधिकार दिने उपदफाहरूका साथै वाक्यांशहरू हटाउनु पर्छ;

(छ) सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रकाशकका रूपमाभन्दा पनि तेस्रो पक्ष प्लेटफर्मको रूपमा हेरी यसका सामग्रीहरूको प्राथमिक जिम्मेवारी प्रयोगकर्ताको रहने हुँदा प्लेटफर्महरूलाई गैरकानुनी वा गलत सामग्रीहरूका सम्बन्धमा अटोमेटेड मोडरेसन वा उजुरी गर्न सक्ने प्रविधिको व्यवस्था अनिवार्य गर्दै उजुरी प्राप्त सामग्रीहरूको अटोमेटेडका साथै मानवीय जाँचपरखको व्यवस्था गर्नुपर्ने प्रावधान राख्नुपर्छ । यो भनेको १२ (ग) र (छ) जस्ता प्रावधानलाई थप स्पष्ट पार्दै सबै सामग्रीमा नभई उजुरीप्राप्त सामग्रीमा गर्ने व्यवस्था गर्नुपर्छ;

(ज) सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई एकै नमानी निश्चित संख्यामा प्रयोगकर्ता भएपछि अनुमति लिनुपर्ने व्यवस्था गर्दा नयाँ र स्वदेशमै विकास हुनसक्ने प्रविधिलाई स्टार्टअपका रूपमा सुरु गर्न र परीक्षणका रूपमा प्रयोग गर्न सहज वातावरण निर्माण हुन्छ । अनुमतिप्राप्त नगरेका नेपालबाहिरका प्लेटफर्महरूले नेपालमा आर्थिक कारोबार गर्न नपाउने व्यवस्था गर्न सकिन्छ ।

३. सामग्री हटाउने व्यवस्था वा प्रयोगकर्ताको तथ्याङ्क उपलब्ध गराउने व्यवस्थालाई पारदर्शी, उत्तरदायी र न्यायिक बनाउनेः दफा १० (ग) र दफा १३ बमोजिम सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउने निर्देशन दिनसक्ने प्रावधान र दफा १२ (ञ) बमोजिम प्रयोगकर्ताको विवरण दिनुपर्ने व्यवस्थालाई पारदर्शी, उत्तरदायी र न्यायिक बनाउनका लागि निम्न परिमार्जन गर्नुपर्छः

(क) सामान्य अवस्थामा सामग्री हटाउने निर्देशनका लागि अदालतको अनुमतिको व्यवस्था गर्ने ।

(ख) असामान्य अवस्थामा जस्तै तत्काल हिंसा वा जीउज्यानको जोखिम वा सार्वजनिक सम्पत्तिको क्षति वा मानवीय हानि हुने भएका अवस्थामा अस्थायी रूपमा हटाउन आपतकालीन निर्देशन दिनसक्ने व्यवस्था राख्दै त्यसलाई स्थायी गर्नका लागि निश्चित दिनभित्र अदालतको अनुमति आवश्यक पर्ने व्यवस्था गर्ने ।

(ग) त्यस्ता सामग्रीहरू हटाउने निर्देशन दिँदा प्लेटफर्मले सम्बन्धित प्रयोगकर्तालाई जानकारी दिनुपर्ने व्यवस्था गर्ने ।

(घ) यस्ता हटाइएका सामग्रीहरूका सम्बन्धमा पारदर्शीरूपमा निश्चित समानान्तरमा सार्वजनिक तथ्याङ्क प्रकाशित गर्नुपर्ने व्यवस्था गर्ने ।

(ङ) सामग्री हटाउने निर्देशनका विषयमा ‘तत्काल’ भन्ने वाक्यांशको स्थानमा निश्चित अवधि (घण्टा)को समयभित्र भन्ने व्यवस्था गर्नुपर्ने ।

(च) सामाजिक सञ्जाल प्लेटफर्मले कानूनबमोजिम वा प्रविधिबमोजिम कुनै कारणले सामाग्री नहटाउने वा तथ्याङ्क उपलब्ध गराउन नसक्ने अवस्था भए कारण खुलाई जानकारी दिनुपर्ने र सोको जिम्मेवारी लिनुपर्ने व्यवस्था गर्ने ।

४. सामाजिक सञ्जाल प्लेटफर्मलाई उत्तरदायी बनाउनेः

(क) सामाजिक सञ्जालका लापरवाही वा न्यायिक प्रक्रियामार्फत् प्राप्त निर्देशन बमोजिम सामाग्री नहटाएका कारण क्षति वा हानि भएमा त्यसको उत्तरदायी प्लेटफर्मलाई बनाउने गरी व्यवस्था गर्ने ।

(ख) सामाजिक सञ्जाल प्लेटफर्मका विषयमा कसूरहरूको व्यवस्था गर्ने । उदाहरणका लागि:

  • राज्यले तोकेको उमेरका बालबालिकालाई प्रयोग गर्न दिएमा
  • प्रचलित कानून विपरितका सामग्रीहरू जानकारीमा हुँदाहुँदै नरोकेमा
  • नागरिकको अधिकार हनन् हुने कार्य गरेमा
  • नागरिकको गोपनीयता रहनुपर्ने तथ्याङ्क वा जानकारी दुरूपयोग गरेमा

(ग) सामाजिक सञ्जाल प्लेटफर्महरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नुपर्ने कार्यहरूका लागि आर्थिक कारोबारको निश्चित प्रतिशत खर्च गर्न पर्ने व्यवस्था ।

५. लोकतन्त्रको मूल्यमान्यताविरोधी प्रावधानहरू हटाउनेः नागरिकको विरोध गर्न पाउने अधिकार मानव अधिकार वा संवैधानिक अधिकार नभए पनि लोकतन्त्रमा आवश्यक अधिकार मानिन्छ । त्यसैगरी लोकतन्त्रको पक्ष वा भ्रष्टाचार, अख्तियार दुरूपयोगजस्ता गलत कार्यलाई सार्वजनिक गर्न बेनामे वा परिचय नखुलाएर प्राप्त हुने सूचनाहरूले महत्व राख्छ । यसको उदाहरण अमेरिकाको वाटरगेट काण्ड बाहिर ल्याउन डिपथ्रोट नामक परिचय नखुलेको स्रोतले खेलेको भूमिका वा नेपालमा राजा ज्ञानेन्द्रले कू गरी पत्रपत्रिकामा सेना पठाएर सेन्सरसीप गर्दा बेनामे ब्लगहरूले खेलेको भूमिका हुन् । यसर्थ राइटको डिसेन्टको अधिकार वा गोप्य रूपमा सूचना प्रवाह वा विचार व्यक्त गर्नसक्ने अवस्थालाई हनन् गर्ने खालका दफा १२ (ज) जस्ता प्रावधानहरू हटाउनुपर्छ ।

उपसंहार

सामाजिक सञ्जाल विधेयकमा देखिएका कमीकमजोरी यत्तिकै पारित भएमा यस्तो कानून लोकतन्त्रकै उपहास हुने गरी कठोर बन्छ । यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित गर्ने मात्रै नभई भयको वातावरण सिर्जना गरी नागरिक समाज र प्रेसलाई समेत कमजोर बनाउने देखिन्छ ।

सामाजिक सञ्जाल प्लेटफर्म नियमनका लागि कानून आवश्यक छ भन्ने कुरामा दुई मत छैन । तर त्यस्तो कानून स्वतन्त्रतामैत्री र प्रविधिको उपयोगका लागि सहजीकरण गर्ने गरी र राष्ट्रिय एवं नागरिकको हितलाई सर्वोपरि राखेर निर्माण गर्नुपर्छ । त्यो व्यवहारिक रूपमा सम्भव र अन्तर्राष्ट्रिय रूपमा प्रचलित एवं ग्राह्य हुन सकेन भने यस्तो कानून प्रभावकारी हुन सक्दैन ।

सामाजिक सञ्जाल प्लेटफर्म नियमनका लागि बनाइने कानूनले नागरिकको सामाजिक सञ्जाल प्रयोगलाई नियन्त्रण गर्नुहुँदैन । सामाजिक सञ्जाल दुरूपयोगका घटनामा प्रयोगकर्तालाई कारबाही गर्न नेपालमा पर्याप्त कानुनी व्यवस्था रहेको देखिन्छ । कतिपय अवस्थामा परीक्षण नै नभएका कानुनी व्यवस्थालाई अपुग वा कानून नभएको भनी व्याख्या गर्दा देशमा कानूनमाथि कानून थपिने तर लागू नहुने अवस्था सिर्जना हुनुका साथै अव्यवहारिक कानूनका कारण कसूर हुने अवस्थामा पनि सजाय नहुने तर प्रभावशालीहरूले कानूनको दुरूपयोग गरी नागरिकलाई दुख दिने सम्भावना रहन्छ । विद्युतीय कारोबार ऐनको दफा ४७ एउटा यस्तै उदाहरण हो जुन कानून पत्रकार र आलोचना दबाउनका लागि प्रभावशालीहरूले दुरूपयोग गर्दै आएको देखिन्छ । “निर्देशनबमोजिम नगर्नेलाई तोकिए बमोजिम कारबाही गरिने छ” भन्ने अर्थ बोक्ने किसिमका कानून कुनै हालतमा पनि व्यवहारिक त हुँदैन नै दुरूपयोग हुन्छ/गर्छन् ।

यस हिसावले संघीय संसदमा दर्ता भएको सरकारी विधेयक सामाजिक सञ्जाल ऐन २०८१ समस्याग्रस्त देखिन्छ । मूलभूत रूपमै कमीकमजोरी रहेको यस विधेयकलाई फिर्ता लिई समयसापेक्ष, व्यवहारिक, मानवअधिकार र लोकतन्त्रका मूल्यमान्यता एवं कानुनीराजको सिद्धान्त अनुसार एवं अन्तर्राष्ट्रिय रूपमा ग्राह्य र प्रविधि उपयोगको अवसरबाट नागरिक वञ्चित नहुने व्यवस्थाहरू गरेर मात्रै ल्याउन आवश्यक छ । यसका लागि विज्ञ र सरोकारवालाहरूसँग व्यापक रूपमा गहन छलफल गर्न पनि उत्तिकै आवश्यक देखिन्छ ।

(सेन्टर फर मिडिया रिसर्च – नेपालका लागि अनुसन्धानदाता उज्ज्वल आचार्यले यो विश्लेषण गरेका हुन् । यो सामग्री यहाँबाट लिइएको हो।)

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update