
भ्रममा नपर्नुस्, ग्यास सिलिन्डरमा एक्सपायरी डेट हुँदैन
काठमाडौँको कमलपोखरीमा गत माघ २४ गते ग्यास विस्फोट भएपछि ग्यास सिलिन्डर हेरेर प्रयोग गरिसक्नुपर्ने मिति थाहा पाउन सकिने दावी फेरि भाइरल भइरहेको छ। अनलाइनखबरमा गत माघ २४ मा प्रकाशित समाचारमा ग्यास सिलिन्डरको घाँटीमा हेरेर म्याद सकिने मिति (एक्सपायरी डेट) थाहा पाउन सकिने दावी गरिएको हो।
तर हाम्रो तथ्यजाँचमा भने सो दावी भ्रामक देखिएको छ। सिलिण्डरको घाँटीमा देखिने अक्षरले सो सिलिण्डर परीक्षण गर्नुपर्ने मिति देखाउँछ, एक्सपायरी डेट होइन।
के हो दावी?
गत माघ २४ गते अनलाइनखबरमा प्रकाशित समाचारमा ग्याँस सिलिन्डरको घाँटीमा रहेका अक्षरबाट म्याद गुज्रने मिति थाहा पाउन सकिने दावी गरिएको छ।
समाचार अनुसार सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २० लगायतका अंक लेखिएका हुन्छन् र यी अक्षरबाटै ग्याँस सिलिन्डरको म्याद गुज्रने मिति थाहा पाउन सकिन्छ। “ए”, “बी”, “सी” जस्तो अक्षरले महिना जनाउने र सँगै रहेको अंकले भने वर्ष जनाउने समाचारमा उल्लेख गरिएको हो।
अनलाइनखबरमा प्रकाशित समाचारको अर्काइभ लिङ्क
हेर्नुस् स्क्रिनसट
अनलाइनखबरको अङ्ग्रेजी संस्करणमा समेत “How to identify the expiry date of a gas cylinder?” शीर्षकमा सोही खबर प्रकाशित गरिएको छ।
हेर्नुस् अर्काइभ
के हो तथ्य?
तथ्यजाँचका लागि सुरुमा हामीले अंग्रेजीमा “gas cylinder expiry date” जस्ता शब्द गुगलमा सर्च गरेर हेर्यौं। गुगल सर्चको ए आईले ग्यास सिलिन्डरको म्याद गुज्रने मिति नहुने तर सिलिन्डरमा परीक्षण गर्नुपर्ने मिति छापिएको हुन्छ भनेर दुई लाइनमै उत्तर लेखेर दियो।
हेर्नुस् गुगल एआई ओभरभ्युको उत्तर
एआईले बताएका सबै कुरा सही नहुन पनि सक्ने हुनाले हामीले यसबारे आधिकारिक लिङ्क खोज्न थाल्यौं।
यसक्रममा इन्डियन आयल कर्पोरेशनको वेबसाइटमा राखिएको एक विज्ञप्ति भेटियो। इन्डियन आयलको विज्ञप्तिमा ग्याँस सिलिन्डरको कुनै एक्सपायरी डेट अर्थात म्याद गुज्रने मिति नहुने तर परीक्षण गर्नुपर्ने समय भने हुने उल्लेख छ।
विज्ञप्तिका अनुसार ग्याँसमा लेखिने अक्षर र अंकको अर्थ परीक्षण गर्नुपर्ने म्याद हो। निरीक्षण र परीक्षणको समय भएपछि सिलिन्डरहरुलाई बोटलिङ प्लान्टमा छुट्याएर परीक्षण गरिने र परीक्षणपछि पुनःप्रयोग, गर्नका लागि उपयुक्त सिलिन्डरहरुलाई अर्को पटक परीक्षण गर्नुपर्ने मिति पेन्ट गरेर बजारमा पठाइने विज्ञप्तिमा छ।
हेर्नु्स् इन्डियन आयलको विज्ञप्ति
पूरा विज्ञप्ति यहाँ पढ्न सकिन्छ
इन्डियन आयलको आधिकारिक फेसबुक पेजमा सन् २०१६ मै सो विज्ञप्ति प्रकाशन गरिएको समेत हामीले पायौं।
हेर्नुस् फेसबुक पोस्ट
नेपाल तथ्य जाँचले यस अघि पनि ग्याँस सिलिन्डरमा एक्सपायरी डेट अर्थात् म्याद गुज्रने मिति नहुने विषयमा तथ्यजाँच गरिसकेको छ।
सो तथ्यजाँचका क्रममा नेपाल ग्यासका सिनियर सिलिन्डर स्टक किपर रामहरि कोइरालाले ‘सिलिन्डरमा अल्फावेट र वर्षको अन्तिम अंक उल्लेख गरिएको हुन्छ, जस अनुसार ए भनेको जनवरी, फेब्रुअरी, मार्च हो। बी भनेको अप्रिल, मे, जुन हो। सी भनेको जुलाई, अगस्त, सेप्टेम्बर हो भने डी भनेको अक्टोबर, नोभेम्बर, डिसेम्बर। ए २३ लेखिएको छ भने सन् २०२३ को मार्चपछि परीक्षण गर्नुपर्ने’ बताएका थिए।
उनका अनुसार ग्यास सिलिन्डर उत्पादन भएको १० वर्षसम्म सुरक्षित हुन्छ। त्यसको लागि कुनै टेस्ट गर्नुपर्दैन। १० वर्षपछि भने प्रत्येक पाँच वर्षमा हाइड्रोलिक टेस्ट गर्नुपर्छ। र, हाइड्रोलिक टेस्ट गरेर मात्र सिलिन्डर बजारमा पठाइन्छ । यदि उक्त टेस्टमा सिलिन्डर सामान्य पाइएमा पुनः पाँच वर्ष प्रयोग गर्न सकिन्छ।
हेर्नुस् नेपाल तथ्यजाँचको पुरानो तथ्यजाँच
यसर्थ ग्याँस सिलिण्डरमा भएका अंक र अक्षरहरुले म्याद गुज्रने मिति नभएर परीक्षण मिति तोकेको हो।
तथ्यजाँच
दावी : ग्यास सिलिन्डरमा रहेको अङ्ग्रेजी अक्षर र अङ्कले एक्सपायरी डेट (म्याद गुज्रने मिति) जनाउँछ।
दावीकर्ता : अनलाइनखबर।
तथ्य : भ्रामक सूचना। ग्यास सिलिन्डरमा हुने अक्षर र अङ्कले मिति जनाउने सही भए पनि यो मिति परीक्षण गर्नु पर्ने मिति हो। परीक्षण गर्नुपर्ने मितिलाई म्याद गुज्रने मिति भन्नु भ्रामक हो।
-------
यो सामग्री नेपाल तथ्यजाँचबाट साभार गरिएको हो। यसको मूल सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् ।