नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समयपश्चात् डिबेन्चर बन्द गरिएको नबिल बैंकले जनाएको छ ।
प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलोपटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ ।
बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र १ अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो । सर्वसाधारणलाई छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६ करोड रुपैयाँबराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो । यस सातवर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिल बैंकले जनाएको छ ।
नबिल बैंकले हाल देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिँदै आएका छन् ।