काठमाडौं। पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारको पहिलो खण्डको ठेक्का आह्वान गरिएको छ।
बिहीबार यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) ले बुटवलदेखि गोरुसिङ्गेसम्म रहेको ५० किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्न दुई खण्ड गरी ठेक्का आह्वान गरेको हो।
पहिलो खण्डलाई पनि दुई भागमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ। यो सडकको पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरको दुरीमा छ। यसलाई दुई खण्डमा गरी ठेक्का आह्वान गरिएको हो।
यो सडक अहिले दुई लेनमा सञ्चालन भइरहेको छ। यसमा आवेदन दिने समय सन् २०२४ फेब्रुअरी ८ तारिखसम्म रहेको छ।
यस्तै, पहिलो खण्डको लागि ठेक्कामा आवेदन दिने निर्माण कम्पनीले २० लाख डलर सेक्युरिटीका रुपमा राख्नु पर्ने हुन्छ। यस्तै दोस्रो खण्डमा आवेदन दिने निर्माण कम्पनीले १५ लाख डलर सेक्युरिटीको रुपमा राख्न पर्ने आयोजनाले जनाएको छ। यो रकम नेपाली रुपैयाँमा चेन्ज गर्न एक्स चेन्ज रेट बिडिङ डकुमेन्ट खोलिएको २८ दिन अगाडिको हुने आयोजनाले जनाएको छ।
यो पहिलो खण्डको सडक विस्तारमा लगभग ३० वटा सानाठूला पुलहरु पनि निर्माण हुनेछ। यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु पनि निर्माण हुनेछन्। यस्तै ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्नेछ।
सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राख्दै यो वर्षको लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको छ। यो खण्डको आयोजनाको लागि भने ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको आयोजनाले जनाएको छ।
बहुवर्षीय योजनाअनुसार यो सडक निर्माण हुनेछ। यसमा दुईवटा खण्ड रहेका छन्। जसमा एउटा बुटवलदेखि चनौटासम्मको सडक चारलेनमा विस्तार गर्ने र अर्को तिनाउमा सिग्नेचर ब्रिज निर्माण गर्ने रहेको छ।