काठमाडौं। ‘क्रिश्चियनलाई मान्दिन भन्नु संविधान नमान्नु र संविधान नमान्ने देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाएर जेलमा हालिदिने हो’ भन्ने अभिव्यक्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा परेका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको यो अभिव्यक्तिको चर्को विरोध भइरहेको छ। संसदीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको छ।
नेपाल वायु सेवा निगमका विषयमा छलफलका लागि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहिबार राखेको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले मन्त्री किरातीमाथि देशमा द्वन्द्व निम्त्याउने अभिव्यक्ति दिएको आरोप लगाउँदै सार्वजनिकरुपमा माफी माग्न आग्रह गरे।
राप्रपाले मन्त्री किरातीलाई पदमुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। ‘हिन्दु धर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने किराती बर्खास्तयोग्य छन्। निजलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्तागठबन्धनको ध्यानाकर्षण गराउॅदछौं,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने।
राप्रपाले सामाजिक सदभाव बिथोल्ने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीमाथि कानुन बमोजिम कार्बाही गर्न समेत माग गरेको छ।