नीतिपत्र
रुपन्देहीको तिलोत्तमामा स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा शुरु

बुटवल-रूपन्देहीको तिलोत्तमामा पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा विहिबारदेखि शुरु भएको छ ।

नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजनामा शुरु भएको जात्राको लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले उद्घाटन गरेका हुन ।

स्टेक प्रतियोगिताको शुभारम्भ गर्दै उपाध्यक्ष डा.  लामाले खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेल्ने बताए । उनले विदेशमा लोकप्रिय रहेको स्केट खेल नेपालमा पनि शुरुवात भएकोमा खुशी व्यक्त गर्दै साहसिक यो खेलमा सहभागी खेलाडीहरुलाई प्रोत्साहन गरे ।

उनले बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी  हुँदा  शारीरिक र मानसिक विकासमा  थप सहयोग पुग्ने हुदा यस्ता खेलकुद कार्यक्रमहरु आयोजना गर्नु पर्ने धारणा राखे ।

उपाध्यक्ष डा. लामाले खेलाडीहरुलाई लुम्बिनी दर्शनको निम्ति आग्रह समेत गरेका छन । कार्यक्रममा उपाध्यक्ष डा.लामाले स्केट खेलाडीहरुको रोचक फोटोहरु प्रदर्सनको अवलोकन समेत गरे ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले स्केट खेलको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले खेलकुदको दायारा फराकिलो भएको बताउँदै खेलकुद स्वास्थ्य, व्यवसाय र पर्यटन पनि रहेको बताए ।

त्यसैगरी कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपलिका सदस्य सुरेन्द्र श्रीले विकास निर्माणसँगै खेलकुदको माध्यमबाट पहिचान बनाउने गरी लागि परेको बताए । उनले आफुहरुले स्केट खेलको विकासका लागि स्केट एड नेपालसँग सहकार्य गरेर स्केटपार्क निर्माण गरेको बताउँदै आगामि दिनमा थप सहकार्य हुने बताए ।

कार्यक्रममा नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ अध्यक्ष अच्युत खनालले यो जात्राले स्केट खेलमा नयाँ आयाम थप्ने बताए । उनले स्केट खेलको विकास नेपालमा पनि शुरुवात भएको बताउँदै आगामी दिनमा सात वटै प्रदेशमा पुर्‍याइने बताए ।

प्रतियोगितामा दक्षिण एसियाका नेपाल सहित भारत, बंगलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड बाट नौ टोलीको सहभागिता रहेको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।

विहिबार, शुक्रबार र शनिकार गरी तीन दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन छनोट चरणका खेल हुनेछन् । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधी होडमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा पुरुष÷महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ भने दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइने आयोजकले जनाएका छन् ।


पुरुष– महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ ।

पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय अमेरिकी डलर र २ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिता रुपन्देहीको तिलोत्तमा ४ स्थित स्केट पार्कमा भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update