नीतिपत्र
अर्थतन्त्रमा अब निर्णायक सुधार आउँछः अर्थमन्त्री डा‍. महत

जनकपुरधाम–  कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अर्थतन्त्रमा अब निर्णायक सुधार आउने बताएका छन्। बिहीबार जनकपुरधाममा नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटन सत्रमा उनले अब अर्थतन्त्र लय पक्रेको, सेयर बाजार माथि उठेको, जग्गा कारोबार बढेको बताए।

अर्थमन्त्री महतले नेपालमा अहिले पर्यटकको आगमन सबैभन्दा बढी रहेको भन्दै उनले अहिले ऋण प्रवाहसमेत बढेकाले अब अर्थतन्त्र सुध्रिने बताए।

केपी ओलीको पालोमा समस्याको ठूलो चाङ रहेको भन्दै उनले भने, “त्यो ठूलो समस्याको चाङलाई एक झटकामा हटाउन सक्ने अवस्था थिएन्। त्यसमा इमान्दारीसाथ कांग्रेस पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरु काम गरिरहेको र म पनि काम गरिरहेको छु। र अब अर्थतन्त्र सुध्रिने छ।”

अर्थमन्त्री महतले कोभिडको बेलामा कतिपय सीमा बन्द भएकाले आवश्यकता अनुसार सीमा खोलिने र त्यसका लागि अध्ययन टीम बनेको बताए। उनले थप सीमा मधेश प्रदेशमा मात्र नभई भारतसँग जोडिएको धेरै ठाउँमा नाका खोलिने बताए।

यस्तै, मन्त्री महतले संघीयताले स्थानीय र प्रदेशलाई दिएको अधिकारको सवालमा संविधान कार्यान्वयनमा ढिलाई भएको बताए। उनले कहिले संसदमा अवरोध, कहिले सबैदलको सहयोग नभएको लगायतका कारण प्रहरी प्रशासनको अधिकारी प्रदेशलाई हुनुपर्नेमा त्यसको टुङ्गो नलागेको बताए।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update