काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई तत्काल एकसनमा जान निर्देशन दिएका छन् । उनले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स तत्काल खारेज गर्न ऊर्जा मन्त्री बस्नेतलाई निर्देशन दिएका हुन् । उनले विजुलीको बक्यौता नतिर्नेका लाइत तत्काल काट्न भनेका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन् । दुइदिनभित्र यसको नतिजा दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन छ । जोसँग पनि लचिलो भएर बस्ने समय नभएको प्रधानमन्त्रीको भनाइ छ ।
उनले भने, ‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ । लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ । यहाँ हामी लचिलो हुन जरुरी नै छैन । निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ । त्यो काम गर्नुस् । मलाई नतिजामूखि काम चाहिन्छ ।
विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । कसैसँग सम्झौता नगर्नुस् । डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काट्नुस् । ठूलाबाट सुरु गरेर सबै बक्यौता उठाउनेतर्फ लाग्नुस्, प्रधानमन्त्री भने ।
प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार गठनको एक वर्ष पुग्न लागेकाले नयाँ ढंगबाट सोचिरहेको बताए । अब एक्सनमा जानुपर्छ, कुरेर हुँदैन, उनले भने, मेरो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दै छ, अर्को वर्ष हामी नयाँ ढंगले जानुपर्छ । त्यसका लागि सोच बदलेर कार्यशैली पनि परिवर्तन गर्नुस् ।
उनले भने, ‘म गम्भीर ढंगले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु । मैले कार्यशैली परिवर्तन गर्दै छु, तपाईंहरू के गर्नुहुन्छ ? देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्नुस् । हामीले राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास हुन्छन् । त्यसरी काम गरौँ ।’