नीतिपत्र
आइफोनको अलार्मले काम नगरेको गुनासो

 केही आईफोन प्रयोगकर्ताले आइफोनको अलार्मले काम नगरेको गुनासो गरिरहेका छन् ।

थुप्रै रेडिट प्रयोगकर्ताले आईफोन सबरेडिटमा आफ्नो आईफोनमा देखिएको उक्त समस्याको विषयमा रिपोर्ट गरिरहेका छन् । ती प्रयोगकर्ताका अनुसार अलार्म कि त पूर्ण रूपमा बन्द भइरहेको छैन अथवा फोनको स्क्रिनमा लाइट बले पनि आवाज भने बजिरहेको छैन ।

यस्तो समस्या कुनै निश्चित आईफोनमा मात्र सीमित भएको जस्तो देखिंदैन, किन भने पुराना मोबाइल प्रयोगकर्ता समेत यसबाट प्रभावित भएको देखिन्छ । वास्तवमा आईफोन एक्सआर र आईफोन इलेभन सिरिजका प्रयोगकर्ताले आफ्नो अलार्मले काम नगरेको गुनासो गरेका छन् ।

यो समस्या ब्रान्ड-न्यु ओएस १७.२ मा सीमित रहेको जस्तो पनि छैन, किन भने थ्रेडमा केही आईफोन प्रयोगकर्ताले आईओएस १७ मा समेत उक्त समस्या देखिएको दाबी गरेका छन् ।

रेडिट प्रयोगकर्ताले अलार्मले काम नगर्ने समस्याको समाधानका लागि विभिन्न किसिमका काम चलाउ जुक्ति र समाधानहरू समेत सुझाइरहेका छन् । केही प्रयोगकर्ताले अटेन्सन-अवेर फिचरलाई बन्द गर्न सल्लाह दिइरहेका छन् भने बाँकी अन्यले स्ट्यान्डबाई मोड अफ गर्नुपर्ने भनिरहेका छन् ।

त्यस्तै केही प्रयोगकर्ताले कस्टम अलार्म साउण्ड परिवर्तन गरी कुनै एउटा स्टक अलार्म साउण्ड राख्न अथवा छोटो अन्तरालमै बन्द हुने केही अलार्म डिलिट गर्न सुझाव दिइरहेका पनि छन् ।

यदि आईओएस १७ अथवा आईओएस १७.२ का कारण यो समस्या निम्तिएको हो भने पक्कै पनि एप्पलले नै त्यसलाई सम्बोधन गर्ने आशा पनि गर्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update