काठमाडौं। मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार बसेको बैठकमा सरकारको एक वर्षको समीक्षा गरिएको हो।
मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा पहिलो पटक बसेको बैठकमा अरु एजेण्डा खासै थिएनन्। नियमित बैठक बिहिबार भएकाले बुधबार सरकारको समीक्षा गरिएको हो।
बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले अपेक्षित काम हुन नसकेको ब्रिफिङ गरेका थिए। ‘मुख्यसचिवले कामलाई पिकअप दिन प्रक्रिया र इच्छाशक्तिमा रहेका समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे विस्तृतमा प्रस्तुति दिनुभयो,’ बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्।
सरकार गठन भएको पुस १० गते एक वर्ष पुग्दैछ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सबैभन्दा लामो हो।
उनले यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा काम गराइ फिटिक्कै भएन भनेर चर्को असन्तुष्टि पोखेका थिए।