काठमाडौं । जाडोमा घर, कार्यालय सबैतिर हिटरको प्रयोग सामान्य भइसकेकाे छ । चिसो याममा न्यानाेपनका लागि हिटर उपयोगी भएता पनि यसलाई प्रयोग गर्न नजान्दा दुर्घटना निम्तिने गरेका छन् ।
चिकित्सकहरूका अनुसार झ्याल-ढोका बन्द गरी हिटरको प्रयोग गर्नु वा आगो ताप्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो । यसबाट कोठामा कार्बन मोनोअक्साइड बढ्ने भएकाले सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, निस्सासिएर बेहोस हुने र पछि थाहै नपाई मृत्यु हुनेसम्मका घटना हुने गरेका छन् ।
यसले विशेषगरी बालबालिका र वृद्धवृद्धाकाे स्वास्थ्यमा जाेखिम निम्त्याउन सक्छ । त्यसैले चिसोमा तपाईं विद्युतीय हिटरको साटो अन्य कुनै प्राकृतिक विकल्प नै प्रयोग गर्नुहोस् ।
१. हावाको ओसिलोपना सोस्छ
जब तपाईं हिटर खोल्नुहुन्छ, तब यसले तपाईंको वातावरणमा भएको ओसिलो हावालाई सोसिदिन्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुक्खा हुने तथा चिलाउने समस्या आउन सक्छ । बालबालिकाको नरम र संवेदनशील छालाको लागि हिटर एकदमै नराम्रो कुरा हो ।
२. निसासिने गराउँछ
श्वास प्रश्वासको समस्या भएकाहरूलाई हिटरले स्वास फेर्न अप्ठ्यारो बनाउन सक्छ । हिटर प्रयोग गर्ने हो भने सधैं एक बाल्टिन पानी राखेर झ्यालहरू खुल्ला राख्नुहोस् ।
३. शरीरको तापमान तलमाथि बनाउँछ
हिटरको कृत्रिम तापमानमा बस्ने बानी तपाईँको शरीरलाई परेको छ भने जब तपाईँ बाहिर जानुहुन्छ, तब तपाईँको शरीरको तापमान अचानक गडबड हुन सक्छ । यस्तो बेला तपाईँ बिरामी पनि पर्न सक्नुहुन्छ ।
४. आगो तथा चोटपटक लाग्न सक्छ
जब तपाईं हिटरमा धेरै लामो समयसम्म बस्नुहुन्छ, तब तपाईँको शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ ।
५. बटम लाइन
हिटर प्रयोग गरिसकेपछि यसलाई टर्न अफ गर्न नबिर्सनुहोस् । यसको माथि कुनै पनि वस्तु नराख्नुहोस् । हावामा ओसिलोपनाको सन्तुलन कायम गर्न बाल्टिनभरि पानी राख्नुहोस् । हिटर प्रयोग गर्न पावर कर्ड एक्सटेन्सन अर्थात् मल्टिप्लग प्रयोग नगर्नुहोस् ।
ध्यान दिनुपर्ने कुरा
- बन्द कोठामा रातभर वा धेरैबेर हिटर प्रयोग नगर्नुहोस् ।
- मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरूले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन । गर्नैपरे सधैं एक बाल्टिन पानी राखेर झ्याल खुल्ला राख्नुहोस् ।
- हिटरमा लामो समयसम्म बस्दा शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ, ख्याल गर्नुहाेस् ।
- हिटर प्रयोग गर्न सकेसम्म पावर कर्ड एक्सटेन्सन अर्थात् मल्टिप्लग प्रयोग नगर्नुहोस् ।
- दम, एलर्जी, पिनास, ब्रोन्काइटिसको समस्या भएका बिरामीका लागि बजारमा विशेष खालको हिटर पाइन्छ, यस विषयमा जानकारी लिएर मात्र हिटर खरिद गर्नुहोस् ।
- हिटरलाई कहिल्यै पनि ढाकेर नराख्नुहोस् । यसबाट आगलागीको सम्भावना अधिक हुन्छ ।
- यदि कोठामा हिटर चलिरहेको छ भने समय-समयमा पानी पिउनुहाेस् । चिया, कफी वा सुप लिनु पनि राम्रो हुन्छ । यसले छाला सुक्खा हुनबाट केही कम गर्न सक्छ ।
- आवतजावत भइरहने ठाउँमा हिटर नराख्नुहाेस् । विशेषगरी बच्चाहरूको पहुँचबाट यसलाई टाढा राख्नुहाेस् । समथर सतहमा हिटर राख्नु राम्रो हुन्छ ।
- हिटर नजिकै जल्ने खालका कागज, ब्ल्यांकेटजस्ता सामग्री नराख्नुहाेस् ।