रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले मंगलबार आफू ‘ठीक’ रहेको वकिलमार्फत जानकारी गराएका छन् । दुई साताभन्दा बढी समयदेखि अज्ञात अवस्थामा रहेका क्रेमलिनका आलोचक नभाल्नी अहिले रुसको सुदूर उत्तरमा रहेको पेनल कोलोनीमा रहेको उनका वकिलले जानकारी दिए ।
समाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै नभाल्नीले २० दिनको ‘अत्यन्त थकाउने’ स्थानान्तरणपछि आफू आर्कटिक रेखाभन्दा बाहिरको कारगार क्षेत्रमा रहेको जानकारी गराए । नभाल्नीले शनिबार खार्प गाउँमा आर्कटिक पेनल कोलोनी(कारागार क्षेत्र) पुगेको र सोमबार आफ्ना वकिलसँग भेट गरेको बताए ।
अमेरिकी विदेश मन्त्रालयले नभाल्नीको स्वास्थ्य र उनको अनुचित नजरबन्दको अवस्थाले चिन्तित बनाएको टिप्पणी गरेको थियो । नभाल्नी सन् २०२१ मा विष दिएर हत्या गर्ने प्रयासबाट बचेपछि नभाल्नीले ठूलो सरकारविरोधी प्रदर्शनको नेतृत्व गरेका थिए । त्यसपछि उनलाई कारागार पठाइएको थियो । नभाल्नीले उनको हिरासतको अधिकांश समय मस्कोबाट करिब २५० किलोमिटर पूर्वमा अवस्थित भ्लादिमिर क्षेत्रमा आइके–५ कारागार क्षेत्रमा बिताएका छन् ।