नीतिपत्र
स्थानीय उत्पादन र बजारीकरणसँग पर्यटनको तालमेल जरुरी

सामान्य भाषामा पर्यटन भन्नाले कुनै प्राकृतिक व्यक्ति वा समूहको एक स्थानबाट अर्को स्थानसम्मको भ्रमण भन्ने बुझिन्छ । अर्थात्, जब कुनै व्यक्ति काम, घुमफिर, मनोरञ्जन वा अन्य कुनै प्रयोजनका लागि अल्पकालीन रुपमा एक स्थानबाट अर्को स्थानको भ्रमण गर्दछ भने त्यसलाई पर्यटन भनिन्छ ।  विशेषतः यस्तो भ्रमणमा व्यक्तिले आफ्नो विदा वा फुर्सदको समय गुजार्नका लागि नयाँ स्थानको भ्रमण गर्ने गर्दछ । 


व्यक्तिले पैसा खर्च गरी आफ्नो फुर्सदको समयलाई योजनावद्ध रुपमा मनोरञ्जनात्मक गतिविधिमा व्यतीत गर्न कुनै स्थानको भ्रमण गर्छ र त्यस्तो मनोरञ्जनात्मक गतिविधिमा सरिक हुन्छ भने त्यसलाई पर्यटन भनिन्छ । पर्यटनसम्बन्धी गतिविधि आन्तरिक र बाह्य गरी दुई प्रकारका हुन्छन् । कुनै एक देशको भौगोलिक वा प्रशासनिक सीमाभित्र गरिने भ्रमण आन्तरिक पर्यटन हो भने कुनै एक देशको सीमा पार गरी अर्को देशमा गरिने भ्रमण बाह्य पर्यटन हो । 


आधुनिक युगमा पर्यटन संसारकै सबैभन्दा ठूलो उद्योगको रुपमा स्थापित भएको छ । विश्वव्यापी रुपमै आन्तरिक र बाह्य पर्यटनको संभावना र क्षेत्र क्रमशः विस्तार हुँदै गएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व पर्यटन संगठन (यूएनडब्लूटिओ) को तथ्यांक अनुसार सन् २०१९ मा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकहरुले एक देशबाट अर्को देशमा भ्रमण गरेका थिए । 


उपलब्ध आंकडा अनुसार सो वर्ष १ अर्ब ४६ करोड पर्यटकले एक देशबाट अर्को देशको भ्रमण गरेका थिए । सन् २०१९ को अन्त्यमा देखापरेको कोरोना भाइरसको विश्वव्यापी कहरका कारण सन् २०२० पर्यटन उद्योगकै लागि सबैभन्दा निराशाको वर्ष बन्न पुग्यो । सो वर्ष अन्तर्राष्ट्रिय पर्यटकको संख्या मात्र ४० करोडमा सीमित रह्यो । 


तथापि दुई वर्षपछि फेरि विश्व पर्यटन उद्योगले आफ्नो लय समातेको छ । यूएनडब्लूटिओका अनुसार सन् २०२२ मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या ९७ करोड पुगेको छ । विश्वव्यापी तथ्यांक संकलन गर्ने वेवसाइट स्टाटिस्टा डटकमका अनुसार सन् २०२२ को विश्व अर्थतन्त्रमा विश्व पर्यटन उद्योगको योगदान ७.७१ ट्रिलियन अमेरिकी डलर रहेको छ । 


गत वर्षको अन्तर्राष्ट्रिय पर्यटकको संख्या सन् २०२० को कोभिड – १९ को महामारी पश्चात्को संख्यामा १४२ प्रतिशतले वृद्धि हो । यसर्थ, कोरोना भाइरसको त्रासदीका कारण लय गुमाउन पुगेको विश्व पर्यटन उद्योगले अब विस्तारै गति लिएको अनुमान गर्न सकिन्छ । पर्यटन उद्योगको विस्तारले नै एक देशबाट अर्को देशमा वित्तीय स्रोतका साथै प्रविधि, ज्ञान र सीपको स्थानान्तरण हुने गरेको छ । यसर्थ, आधुनिक विश्व अर्थतन्त्रका लागि पर्यटन एक बहुआयामिक कडी बन्न पुगेको छ । 


अब चर्चा गरौं नेपालको पर्यटन उद्योगको । नेपालमा पर्यटनको औपचारिक सुरुआत सन् १९५० को राजनीतिक परिवर्तनपछि भएको हो । १०४ वर्षीय जहाँनिया राणा शासनको उत्तरार्धका केही वर्षहरुलाई छाड्ने हो भने सिंगो शताब्दीभर नेपाली समाज सम्पूर्ण रुपले बन्द रह्यो । परम्परागत रुपमा चलेको धार्मिक तथा सांस्कृतिक र केही सीमित राज्य नियन्त्रित आर्थिक गतिविधिबाहेक मुलुकभर कुनै प्रकारका सामाजिक, शैक्षिक एवं राजनीतिक गतिविधि भएन । 


त्यसबेला राणाहरुको दृष्टिकोण नै के थियो भने जनता (रैती)लाई शिक्षा दिइयो भने उनीहरु टाठा बाठा हुन्छन् र त्यसले राणाशासनमाथि चुनौति थपिन्छ । अनि कुनै विदेशीलाई मुलुकभित्र विचरण गर्न दिइयो भने उसले देशको आन्तरिक अवस्था थाहा पाउँछ र त्यसले पनि शासनमाथि चुनौति सिर्जना हुन्छ । 


मूलतः राणाहरुले शताब्दी लामो शासन संचालन गर्नसक्नुको पछाडि पनि यिनै दुई कारणहरु हुन्, जसलाई उनीहरुले ‘गुरुमन्त्र’को रुपमा अंगिकार गरे । त्यसैले राणा शासन अवधिभर मुलुकमा कुनै प्रकारका पर्यटनसम्बन्धी गतिविधिहरु संचालन हुने गुञ्जायसै थिएन । फेरि विभिन्न श्रेणीका राणा परिवार र उनीहरुसँग उठबस गर्ने केही सीमित कुलीन परिवारबाहेक सबैजसो जनताको अवस्था एउटै थियो । 


गरिबीमा पिल्सिएका जनतालाई दुईछाक माडको जोहो गर्नुकै सन्ताप थियो । आधुनिक सूचना र ज्ञानबाट बञ्चित जनताको दैनिकी केवल घरखेतमै सीमित थियो । त्यसैले देशदेशावर डुल्ने र घुम्ने भन्ने त प्रश्न नै आउँदैनथ्यो । केही सीमित हुनेखानेहरु भने सीमित अवधिका लागि विशेषतः भारतका तीर्थस्थलहरुमा धार्मिक तिर्थाटन गर्दथे । 


त्यसैले सन् १९५० को राजनीतिक परिवर्तनले शताब्दी लामो जहाँनिया राणा शासन ढाल्यो र प्रजातन्त्रको उदय भयो । त्यसपछि क्रमशः नेपाल पनि विश्व मानचित्रमा एक नयाँ पर्यटन गन्तव्यको रुपमा उदाउन पुग्यो । जसमा विश्व सर्वोच्च शिखर सगरमाथा भएको देश हुनु र विश्वका १० अग्ला हिमालचुलीहरु मध्ये धेरै नेपालमा पर्नुले बाह्य क्षेत्रमा पर्वतीय पर्यटन गन्तव्यको रुपमा नेपाल परिचित हुन पुग्यो । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक्स २०२२’ को तथ्यांक अनुसार सन् १९९५ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ३ लाख ६३ हजार ३९५ रहेको थियो भने सन् २००० मा उक्त संख्या ४ लाख ३६ हजार ६४६ पुगेको थियो । त्यसैगरी सन् २०१० मा ६ लाख २ हजार ८६७ रहेको थियो भने अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक सन् २०१८ र १९ मा भित्रिएका थिए । उक्त दुई वर्षमा भित्रिएका पर्यटक संख्या क्रमशः ११ लाख ७३ हजार ७२ र ११ लाख ९७ हजार १९१ रहेको थियो । 


सन् २०१९ को अन्त्यतिर देखा परेको कोभिडको महामारीले विश्व पर्यटन उद्योगमै ठूलो असर पर्यो । नेपालमा पनि कोरोनाकालमा पर्यटन क्षेत्र निकै प्रभावित हुन पुग्यो । कोभिडकै कारण सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ मा कूल १ लाख ५० हजार ९६२ पर्यटक नेपाल भित्रिएका थिए । तथापि सन् २०२२ को सुरुआतदेखि नै नेपालको पर्यटन क्षेत्र ब्यूँझिन सुरु गरेको थियो । सन् २०२२ मा नेपाल भित्रिएका कूल पर्यटक संख्या ६ लाख १४ हजार ८६९ रहेको छ । जसमध्ये सबैभन्दा बढी भारतीय र त्यसपछि अमेरिकी पर्यटक रहेका छन् । ती विदेशी पर्यटकहरुको औसत बसाई भने १३.१ दिन रहेको छ ।
सन् २०२१ को तुलनामा २०२२ को पर्यटक संख्याको वृद्धि ३०७ प्रतिशत हो । यस वर्षको पहिलो ९ महिना अर्थात् गत सेप्टेम्बर २०२३ सम्म पर्यटकको आगमन संख्या ६ लाख ९२ हजार ३७२ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा कूल भ्रमण आय रु. ६१ अर्ब ५२ करोड भएको छ ।

जुन आय अघिल्लो वर्ष रु. ३२ अर्ब ४५ करोड रहेको थियो । यसबाट नेपालको बाह्य पर्यटन कोरोना महामारी अघिको लयमा फर्किन खोजेको संकेत मिलेको छ, जुन हाम्रा लागि सुखद पक्ष हो ।


तथापि नेपालको पर्यटन उद्योगलाई कसरी स्थानीय हुँदै राष्ट्रिय अर्थतन्त्रसँगको महत्वपूर्ण हिस्सा बनाउने भन्ने अहम् सवाल भने अनुत्तरित नै छ । यस वर्ष सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । जसमध्ये पहिलो ९ महिनामा करिब ७ लाख पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । अब पर्यटनको मुख्य सिजन सुरु हुन लागेको हुँदा यसवर्ष सरकारको लक्ष्य लगभग पूरा हुने देखिएको छ । संख्यात्मक रुपमा पर्यटक बढे तापनि पछिल्लो समय पर्यटकको औसत बसाई दिन र खर्च भने घट्न गएको देखिन्छ ।


यी केही तथ्यांकीय झलकहरुले पनि के पुष्टि गर्दछ भने नेपालमा विदेशी पर्यटकहरुको औसत बसाईको अवधि र दैनिक खर्च नबढ्दासम्म अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट उल्लेख्य योगदान संभव देखिँदैन । सरकारले प्रत्येक वर्ष पर्यटन क्षेत्रको सुधार र विस्तारका लागि नीतिगत व्यवस्था गर्ने गर्दछ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई सुरक्षित र आकर्षक पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । 


सरकारले ‘अतिथी देवो भव’ को नेपाली संस्कृति अनुरुप पर्यटकीय सेवाको गुणस्तर सुधार र वृद्धि गर्दै सन् २०२३ देखि ३३ सम्मको १० वर्षलाई पर्यटन दसक घोषणा गरेको छ । हुन त यस्ता घोषणा र पर्यटन वर्षहरु विगतमा पनि धेरै पटक मनाइए । तथापि नेपालमा पर्यटन क्षेत्रको प्रशस्त संभावना हुँदाहुँदै पनि हामीले यस क्षेत्रलाई अर्थतन्त्रको मुख्य हिस्सा बनाउन सकेका छैनौं । 
नेपालको पर्यटनको उच्च संभावना मूलतः धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक क्षेत्रहरु नै हुन् ।

यी क्षेत्रहरुको पहिचान, व्यवस्थापन र पर्यटन पूर्वाधारको विकासमा ध्यान दिन जरुरी छ । नेपालमा मूलतः हिन्दु र बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थल र धार्मिक सम्पदाहरु छन् । त्यस्तै प्रकृति पुजक समुदायको रुपमा रहेको किराँत समुदाय र अन्य समुदायहरुको पनि फरक धार्मिक पहिचान रहेको छ । यी सबै सम्पदाहरुलाई हामीले विश्व सामु परिचित गराउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने प्रशस्त संभावना छ । तर, यसका लागि अलि खुल्ला हृदय र उदार भावनाका साथ काम गर्नुपर्ने हुन्छ । मुलुकलाई सबै धर्मावलम्बीहरुको आस्था र विश्वासको केन्द्रको रुपमा परिचित गराउनुपर्ने हुन्छ । 


संस्कृतिमा नेपाल निकै धनी छ । फरक सांस्कृतिक समुदाय भएको यो मुलुक जसरी भौगोलिक रुपमा विविधतायुक्त छ, उसैगरी सांस्कृतिक रुपमा पनि उत्तिकै विविधतायुक्त छ । यसर्थ, यस देशभित्र रहेको विभिन्न सांस्कृतिक समुदायहरुको फरक सांस्कृतिक पहिचानलाई विश्वसामु उजागर गर्दै तिनलाई पर्यटकीय आकर्षणको रुपमा स्थापित गर्न सकिन्छ । 


भौगोलिक र प्राकृतिक सुन्दरता यो मुलुकको अर्को विशेषता हो । यात्रा गरेको केही घन्टामै फरक मौसम र हावापानीको अनुभव गर्न पाइने ठाउँ विश्वमा विरलै पाइन्छ । नेपालमा तराईको न्यानोदेखि पहाडको मध्यम हावापानीहुँदै हिमाली भेकको चिसो सिरेटो पनि केही घन्टाको यात्रामै अनुभूति गर्न पाइन्छ । यसर्थ, यहाँको भौगोलिक विविधता र हावापानीसँगै वनजंगल, वन्यजन्तु र पर्यावरणीय विविधतालाई अर्को आकर्षक पर्यटकीय वस्तुको रुपमा प्रवद्र्धन गर्न सकिन्छ । 


नेपालको पर्यटनमा अर्को संभावनाको क्षेत्र भनेको यहाँको आदिवासी सीप, कला, क्षमता र दक्षता हो । त्यसलाई पनि हामीले पर्यटकीय वस्तुको रुपमा प्रवद्र्धन गर्न सक्छौं । प्रादेशिक रुपमा हेर्दा पनि अहिलेको राजकीय संरचना अनुरुप निर्माण भएको सात प्रदेशमा फरक फरक महत्व र संभावनाका क्षेत्रहरु प्रशस्त छन् । पर्यटनका लागि तिनको पहिचान, विकास र प्रवद्र्धन अपरिहार्य छ । 


यसै सन्दर्भमा लुम्बिनी प्रदेशको कुरा गर्दा यो प्रदेश पर्यटनका लागि निकै उर्वर क्षेत्र हो । मूलतः यो प्रदेशले हावापानी र भौगोलिक अवस्थितिमा नेपालकै झल्को दिने गरेको छ । विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी यहाँको मुख्य आकर्षण हो । गौतमबुद्धलाई भगवानको रुपमा पुज्नेदेखि उनलाई एक महान पथप्रदर्शक र दार्शनिक ठान्नेसम्मका लागि लुम्बिनीको भ्रमणले निकै अर्थ राख्छ । यसका अलवा बृहत लुम्बिनी क्षेत्रलाई विश्व शान्ति सहरको रुपमा विकास गर्न सकिने संभावना पनि छ । त्यसैले बौद्धमार्गी र सबै शान्तिकामी मानव समुदायका लागि लुम्बिनी एक पवित्र तीर्थस्थल बन्न सक्छ । 


लुम्बिनीका अलवा लुम्बिनी प्रदेश प्रशस्त धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यावरणीय पर्यटनको संभावना बोकेको प्रदेश हो । त्यसैगरी साहसिक पर्यटन र युद्ध पर्यटनको समेत संभावना भएको क्षेत्र हो, लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेश विविध कृषि उत्पादनका लागि पनि उर्वर भूमि हो । त्यसैले यस प्रदेशको पर्यटन प्रवद्र्धनमा कृषि–पर्यटनलाई जोड दिन जरुरी छ । 


रुपन्देही जिल्लाको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण संचालन र विश्व बजारमा यसको प्रवद्र्धनले मात्रै लुम्बिनीको भविष्य अजमाउन सकिनेछ । तर, दुर्भाग्य गौतमबुद्ध विमानस्थल छिमेकी मुलुक भारतसँगको भूराजनीतिक चपेटोमा परेको अनुभूति हुँदैछ । यसर्थ, नेपालले भारतसँग राजनीतिक तवरबाटै संवाद गरी नयाँ हवाईरुट इजाजतका लागि प्रयत्न गर्नुपर्ने हुन्छ । लुम्बिनीमा भित्रिने विदेशी पाहुनाले नेपाललाई मात्र होइन, छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रलाई समेत भाइब्रेन्ट बनाउने यथार्थ बुझाउनु जरुरी देखिन्छ । 


पर्यटनको विकासका लागि महत्वपूर्ण पक्ष हो, पर्यटन पूर्वाधार र जनशक्तिको विकास र उत्पादन । तर, पछिल्लो समय पर्यटन पूर्वाधारका नाउँमा मूलतः मनोरञ्जनात्मक क्षेत्रमा लगानी बढेको देखिन्छ । नेपालको पर्यटनमा पर्वतीय र हिमाली पर्यटनको संभावना सबैभन्दा बढी छ । साथै साहसिक पर्यटनको संभावना पनि उत्तिकै छ । 


तर, यहाँको मुख्य समस्या भनेकै योजनावद्ध प्राथमिकीकरण अनुसार पर्यटन पूर्वाधारको विकास नहुनु हो । जथाभावी पूर्वाधारहरुको निर्माणले एकातिर पूर्वाधार क्षेत्र नै बरालिन पुगेको छ भने अर्कोतिर कमजोर ढुकुटी रित्तिँदै गएको छ । लुम्बिनी क्षेत्रलाई बृहत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दा दीर्घकालीन गुरु योजना र आवधिक योजना अनुरुप क्रमिक रुपमा पूर्वाधारजन्य क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकारले जथाभावी संरचनाहरु निर्माण गर्दा ती संरचनाको यथोचित उपयोग हुन नसकी लगानी खेर गइरहेको अवस्था विद्यमान छ । 


अनि निजी क्षेत्रले पनि होटल, रिसोर्टलगायतको भौतिक संरचनाहरु निर्माण गर्दा यथोचित अध्ययन र प्रक्षेपण हुन सकेको देखिँदैन । निजी क्षेत्रले पनि एकैचोटी ठूलो पैमानामा लगानी गर्नुको साटो क्रमिक रुपमा आवश्यकता अनुसार लगानी बढाउँदै जानुपर्ने थियो । अहिले लुम्बिनी क्षेत्रमा गरिएको पर्यटन पूर्वाधारको लगानी तत्कालका लागि बोझिलो बन्न पुगेको अनुभूति हुँदैछ । 


अर्थतन्त्रको जुनसुकै क्षेत्रको विकास र प्रवद्र्धनको औचित्य त्यतिबेला पुष्टि हुन्छ, जतिबेला त्यसले अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दछ । अहिलेको पर्यटन क्षेत्रले अर्थतन्त्रमा उल्लेख्य भ्यालु एड गर्न सकेको छैन । किनकि समग्र पर्यटन उद्योग नै रैथाने अर्थतन्त्रको लयसँग परिचित छैन । ठूला र सुविधासम्पन्न होटल र पर्यटनका संरचनाहरु केन्द्रीकृत र आयातीय वस्तुमै निर्भर छन् भने साना व्यवसायहरु प्रत्यक्ष रुपमा बाह्य पर्यटनसँग जोडिन सकेका छैनन् । 


यसर्थ, नेपालको पर्यटनलाई स्थानीय उत्पादन र बजारीकरणसँग नजोड्दासम्म पर्यटन क्षेत्र केवल मनोरञ्जनात्मक क्षेत्रकै रुपमा सीमित रहनेछ । पर्यटनलाई तुलनात्मक लाभको क्षेत्रको रुपमा व्यवहार गर्नका लागि यसलाई कृषिजन्य र कलाजन्य रैथाने उत्पादनको आपूर्ति शृङ्खलासँग जोड्न ढिला भइसकेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update