नीतिपत्र
पर्यटनमा रुपन्देही: बुद्ध जन्मस्थल लुम्बिनीदेखि अंग्रेज हराउने जितगढी किल्ला

महामानव गौतमबुद्धको जन्मभूमि, मावली र ससुराली रहेको जिल्ला हो रुपन्देही । बुद्धको जन्म यही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्बिनी बगैचामा भएको थियो । 


बुद्धको मावली र ससुराली गाउँ देवदह, नरमानव रामापिथेकसको अवशेष रहेको बुटवल, अंगे्रजसँग भएको युद्धमा जित हासिल गरेको उजिर सिंह जितगढी किल्ला तथा राजा मुकुन्दसेनको शीतकालिन दरबारजस्ता ऐतिहासिक महत्वका स्थानहरुका कारण रुपन्देही प्रदेश ५ कै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित छ । 


यो जिल्लाको नामाकरण महामानव गौतम बुद्धसँग जोडिएको छ । बुद्धका बाबु राजा शुद्धोधनको रानी रुपादेवी (प्रजापति गौतमी) कोलिय राज्यकी राजकुमारी थिइन् । 


उनीहरुको विवाहपश्चात् शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्रामस्थलको रुपमा रहेको बगैचाको नाम यिनै रानीको नामबाट रुपादेवी राखियो । कालान्तरमा अपभ्रम्स हुदै रुम्मिनी देई, रुमिनी देई हुँदै रुपन्देही जिल्लाको नाम रहेको विश्वास छ ।  


रुपन्देही जातिय हिसाबले पनि विविधताले भरिएको जिल्ला हो । यहाँ मधेश र पहाडको मिश्रित जनजीवन देख्न पाइन्छ । उत्तरी भागमा पहाडिया समुदायको बाहुल्य र दक्षिणी भेगमा मधेशी समुदायको बाहुल्य छ । 


रुपन्देहीका सडक, विमानस्थल, सम्मेलन केन्द्र, पर्यटन पूर्वाधार र पर्यटन योजनाहरु समेतले पर्यटन विकासका लागि ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।  

भैरहवाको गौतमबुद्ध विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधा भार थेग्नेछ । यसो भन्नुको अर्थ हो, आर्थिक कारोबारको हिस्सा पनि काठमाडौंबाट भैरहवामा सर्नेछ । चीन, श्रीलंका, म्यानमार लगायतका बुद्धिष्ट मुलुकहरुबाट लुम्बिनी घुम्न आउने पर्यटकहरु सिधै भैरहवामा झर्नेछन् । 


मुहार बदल्न सक्ने लुम्बिनी 
हिन्दुहरूका लागि चारधाम पवित्र स्थल, इस्लामको भ्याटिकन सिटी, मुस्लिमको मक्का मदिनाभएजस्तै बौद्धमार्गीका लागि बुद्ध जन्मस्थल लुम्बिनीप्रति अगाध श्रद्धा र आस्था छ । बौद्धमार्गीका लागि लुम्बिनी पवित्र स्थल भएपनि पूर्वाधार अभावका कारण आउन नसकेका पर्यटक विस्तारै बढ्दै गएका छन् ।  


मायादेवी मन्दिरको पुनःनिर्माण हुनुभन्दा लुम्बिनीमा नगन्य पर्यटक आउने लुम्बिनीमा  पर्यटकको संख्या बर्षेनी बढिरहेको छ । लुम्बिनीमा वार्षिक १० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाएपछि त्यसको नतिजा देखिन थालेको छ । 


२०१५ मा भूकम्प र नाकाबन्दीका बाबजुत पनि लुम्बिनीमा मुलुकमै सबैभन्दा बढी पर्यटक आए । सन् २०१४ मा १ लाख ३२ हजार ९२६ जना विदेशी पर्यटक लुम्बिनी आएकोमा सन् २०१५ मा १ लाख २९ हजार १८० पर्यटक लुम्बिनी आए । त्यसयता लुम्बिनीमा पर्यटकको संख्या बढ्दो छ । 


लुम्बिनी गुरुयोजना सम्पन्न गरेर संसारकै एक पवित्र आकर्षक धार्मिक, पर्यटकीय केन्द्रको रुपमा लुम्बिनीलाई चिनाउन लुम्बिनी विकास कोष लागिपरेको छ । 


लुम्बिनीको विकासका लागि अहिले चालिएका प्रयासलाई तीब्रता दिने हो भने यस क्षेत्रको कायापलट हुने छ । सबैतिर विकासले गति समातेपछि रुपन्देहीमा होटल खोल्ने लहरै चलेको छ । लुम्बिनी, सीमा नाका बेलहियादेखि बुटवलसम्म धमाधम होटल खुलिरहेका छन् । 


पर्यटक लक्षित सुविधासम्पन्न होटलका लागि स्थानीय मात्रै हैन, वैदेशिक लगानीसमेत हुन थालेको छ, रुपन्देहीमा । एक करोडसम्मको लगानीमा रुपन्देहीमा डेढ दर्जनभन्दा बढी होटल खुलेका छन् ।  लुम्बिनीमा रहेका अधिकांश होटललाई स्तर वृद्धि गरिएको छ ।     

रुपन्देहीका अन्य पर्यटकीय स्थल
मर्चवारी माई 

रुपन्देहीको दक्षिणी इलाका मर्चवार क्षेत्रको ओडवलिया गाउँमा मर्चवारी माईको स्थापना गरिएको छ । यिनै माइको नामबाट मर्चवारको नामाकरण भएको हो ।  यहाँ इटा, ढुंगा, माटो र काठबाट निर्मित चतुष्कोणाकारको समतल छानो भएको मन्दिर छ । स्थानीयले यो मन्दिरमा आश्विन शुक्ल नवमी र चैतेदशैंमा भव्य रुपमा पूजाआजा गर्छन् । 

पर्रोहा शिवालय क्षेत्र
बुटवलदेखि करीब १४ किलोमिटर दक्षिण पश्चिम र पूर्वपश्चिम राजमार्गको रानीबगियाबाट  करीब २ किलोमिटर दक्षिणमा प्राचीन सैनामैना क्षेत्रमा पर्रोहा पर्छ । पवित्र बोलबम धामको रुपमा परिचित यो स्थलमा कलात्मक र आकर्षक देवालय बनाइएका छन् । 
१९७५ मा नागाबाबाले यो मन्दिरमा शिवलिंग प्रतिस्थापन गरेको र त्यसयता पूज्न थालिएको भनाई छ । यहाँ साउन महिनाभर मेला लाग्छ र जलार्पण गर्न देशविदेशबाट भक्तजनहरु आउँछन् । 

सैनामैना क्षेत्र 
सैनामैना क्षेत्र पूरातात्विक हिसाबले महत्वपूर्ण स्थान हो । सैनामैना नगरपालिकामा पर्ने यो स्थानमा प्राचीन शाक्यहरुको कपिलवस्तु राज्यको उत्पादनशील गाउँको रुपमा रहेको थियो  भन्ने तथ्य छ । रानी मायादेवीले मैना नाम गरेकी महिलासँग सैना (मित) लगाएकाले यहाँको नाम सैनामैना रहेको मान्यता पनि छ ।   


पछि भारतमा भएको सैनिक विद्रोहको समयमा लखनउकी रानी बेगम आफ्ना सेनासहित आएर बसेको र सुरक्षाका लागि विभिन्न संरचनाहरु बनाएको भन्ने अर्को भनाई पनि प्रचलनमा छ  । 


यहाँ बुद्धका प्राचीन मुर्तिहरु, स्त्री पुरुषका युगल मुर्ति, योगीमुर्ति, दरबारको  भग्नावशेष, टुँडीखेल, कुवा, ओेखल आदि वस्तुहरु भेटिएका छन् । रानीकुवा, पत्थर कुवा र ठूलो कुवा प्राचीन कुवा हुन् भन्ने विश्वास छ । तर यस क्षेत्रकोे उत्खनन् नहुँदा यथार्थ प्रमाणित हुन सकेको छैन । 

सिद्धबाबाधाम
बुटवल–पाल्पा सडक खण्डको माथिल्तिर चिडियाखोलाको पाखो र कुइरे भिरको तलपट्टि सिद्धबाबा धाम रहेको छ । दक्षिण भारत उज्जैनका राजा भ्रतृहरिले वैराग्य धारण गरी गोरखनाथद्वारा दीक्षा प्राप्त गरेपछि यहाँ आएर शिवको तपस्या गरेको र अष्टसिद्धि प्राप्त गरी सिद्धपुरुष भएकोले सिद्धबाबा भनिएको र उनैले खाएको गाँजाको धुवाले कुईरो लागेकाले कुईरे भीर भनिएको पाइन्छ । यहाँ हरेक दिन नित्यपूजाबाहेक शिवरात्रीमा विशेष मेला लाग्छ । 

जितगढी किल्ला
बुटवल नगरपालिकाको तिनाउ नदी किनारमा रहेको जितगढी किल्ला नेपालकै गौरवगाथा बोकेको स्थल हो । 
सन् १८१४ देखि १८१६ सम्म अंग्रेजसँग युद्ध हुँदा नेपाली सेनाले विजय हासिल गरेको किल्लाको रुपमा यो किल्ला रहेको छ । जित हासिल गरेकाले यो किल्लाको नाम जितगढी किल्ला रहन गएको पाइन्छ । २०५२ मा पहिलो पटक उत्खनन् गर्दा यहाँ किल्ला, सुरुङ र हातहतियार राख्ने स्थान र केही भाडावर्तनहरु फेला परेका छन् । 

मुक्तिनाथधाम
बुटवलको पश्चिम क्षेत्र नयाँ गाउँमा मुक्तिनाथधाम आधुनिक आस्थाकेन्द्रको रुपमा परिचित छ । मुस्ताङको मुक्तिनाथधामको झल्को दिने गरी कलात्मक र आधुनिक शैलीमा निर्माण गरिएको यो धाममा ३ छाने मन्दिर छ । 
यहाँ १०८ गौमुखी धारा, २७ फिट अग्लो पशुपति ज्योर्तिलिङ्ग, कैलाशमार्ग, गौशाला, त्रिनेत्रयुक्त गौमाता, यज्ञशाला, सत्संग आश्रम यहाँका हेर्नलायक स्थल हुन् । 

देवदह
देवदह प्राचीन कोलियवंशी राजाहरुको राज्य थियो । देवदह, भवानीपुर, कन्यामाई, वैरीमाई देवदह नगरपालिकामा अवस्थित छन् । देवदह बुद्धस्थलका रुपमा चिनिन्छ । यो बुद्धको मावली र ससुराली गाउँ हो । 


कपिलवस्तु राज्यका राजा शुद्धोधनकी रानीहरु मायादेवी र प्रजापति गौतमीको माइती रहेको यो स्थान सिद्धार्थ गौतमकी पत्नी यशोधराको समेत माइती हो । यहाँका विभिन्न स्थानहरुमा उत्खनन् गर्दा माटाका पशुका मुर्तिहरु, भाडावर्तन, खेलौना, स्त्री प्रतिमा, शाक्यमुनि बुद्धका प्रतिमाहरु, स्मारक र कलावस्तुहरु फेला परेका थिए । यहाँ ऐतिहासिक पाकरी वृक्ष, घोडाहालगायतका पर्यटकीय स्थल छन् । 

पार्कहरु: मणिमुकुन्दसेन उद्यान, पिसपार्क, शंकरनगर उद्यान, हिलपार्क 
रुपन्देहीमा घुम्नलायक पार्कहरु छन् । तीमध्ये बुटवलको मणिमुकुन्द सेन उद्यान एक हो । यो १० बिगाहा क्षेत्रफलमा फैलिएको छ । मणिमुकुन्दसेनको शीतकालीन दरबारको भग्नावशेष समेत रहेको यो उद्यानमा बुद्ध, उजिरसिंह, रामापिथेकस, मायादेवी, मणिमुकुन्दसेनलगायतका प्रतिमाहरु रहेका छन् ।

यहाँ बाघ, भालु, चितुवा, हरिण, अजिंगरलगायतका जीवजन्तु पनि छन् । 
पिसपार्क पूर्वपश्चिम राजमार्गको ढबाहादेखि भित्र रहेको छ । ब्रम्हकुमारीजले निर्माण गरेको यो पार्क प्राकृतिक हिसाबले मनोरम स्थल हो । प्राकृतिक सुन्दरताका तथा शान्तिप्रेमीका लागि यो पार्क महत्वपूर्ण छ । 


शंकरनगर वनवाटिका तथा उद्यान तिलोत्तमा नगरपालिकाको शंकरनगर सामुदायिक वनको क्षेत्रमा रहेको छ । करीब ५७६ हेक्टर क्षेत्रफलमा फैलिएको यो उद्यानभित्र वीपी पार्क, चिडियाखाना, पुष्पलाल पार्क, शहीद पार्क, वनभोज स्थल, जडिबुटी उत्पादनलगायत छन् । यहाँ बाघ, भालु, चितुवा, अष्ट्रिच, अजिंगर, खरायो लगायतका जीवजन्तु पनि छन् । 


हिलपार्क बुटवलको पूर्वी उत्तर चुरे पहाडको फेदीमा छ । बुटवल बजारको भ्यूटावरको रुपमा मानिने यो पार्कमा ढुंगामा विभिन्न आकृतिहरु कुँदिएका छन् । यहाँ बालवगैचा, गुम्बालगायत छन् । 

तालहरु: दानापुर ताल, नन्दभाउजु ताल, गैडहवा ताल, लौसा ताल
पूर्वपश्चिम राजमार्गमा पर्ने बाँसगढीबाट ४ किलोमिटर भित्र सैनामैना नगरपालिकाको गजेडीमा दानापुर ताल छ । यसलाई गजेडी ताल पनि भनिन्छ । यहाँ पर्यटकलाई आकर्षण गर्न डुंगा सञ्चालन गरिएको छ । यहाँ विभिन्न प्रजातिका पंक्षीहरु आउँछन् । लौसा ताल गजेडीको बकुलागाडमा छ । यहाँ बकुल्लाहरु हेर्न लायक हुन्छन् ।

धार्मिक हिसाबले पनि यो ताललाई स्थानीयले मान्दछन् । नन्दभाउजु ताल चिल्हिया, मधवललिया, पडसरी र टिकुलीगढको साझा मानिने बाउन्नकोटी सामुदायिक वन क्षेत्रमा रहेको छ । दरबारमा बस्ने रानीले एउटा तलाउ खन्न लगाएको र नन्दले पनि छेउमै अर्को ताल खन्न लगाएका कारण नन्दभाउजु ताल भनिएको हो । यसको प्रवद्र्धनका लागि होमस्टे बनाइएको छ । 


गैडहवा ताल विष्णुपुरामा छ । यो ५५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । घना जंगल र बस्तीको नजिकमा रहेको यो ताल नजिकै जटायु रेष्टुरेन्ट रहेको छ भने मनोरम वातावरण रहेको छ । गिद्ध, माछापालन हेर्न यो मनमोहन मानिन्छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update