नीतिपत्र
फास्ट ट्र्याकमा ४३ सय ४५ रुख काट्न मन्त्रिपरिषद्ले सेनालाई दियो स्वीकृति

काठमाडौं। काठमाडौं-तराई फास्ट ट्र्याकमा ४ हजार ३४५ वटा रुख काट्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा नेपाली सेनालाई रुख काट्न स्वीकृति दिएको हो।

सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको जानकारी दिइन्। ‘वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा काठमाडौं-तराई मधेश द्रूत मार्ग सडक आयोजनाको सडक खण्ड निर्माणका लागि संलग्न सर्त पालना गर्ने गरी मकवानपुर र बाराको राष्‍ट्रिय वनको कुल ४०.१९ हेक्टर जग्गा प्रयोग गर्न र त्यो वनमा रहेका ४३ सय ४५ वटा रुख पोल कटान गर्न दिने निर्णय भएको छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

सेनाले रुख काट्ने अनुमतिका लागि गत जेठ २२ गते फाइल वन मन्त्रालयमा पठाएको थियो। प्रधानसेनापति प्रभुराम शर्माले एक साताअघि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रुख काट्ने अनुमति नपाएका कारण फास्ट ट्र्याकको काम सुस्त भएको बताएका थिए। उनले फाइल अड्काइरहने हो भने थपिएको म्यादभित्र पनि आयोजना पूरा नहुने जवाफ दिएका थिए। आयोजनाको म्याद २०८३ चैतसम्म छ।

सरकारले फास्ट ट्र्याक बनाउने जिम्मा साढे ६ वर्षअघि सेनालाई दिएको थियो। ४ वर्षमा पूरा गर्ने गरी दिइएको आयोजनामा अहिलेसम्म ३० प्रतिशत पनि काम भएको छैन।

सरकारले सान्जेन जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि रसुवामा १ हजार २१४ रुख काट्न स्वीकृत दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update