काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई चालू आर्थिक वर्षमा १ अर्ब ७२ करोड रुपैयाँ बजेट थप भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १ मा अर्थ र भौतिक मन्त्रालयका प्रतिनिधिसँग बैठक बसेर निर्माण व्यवसायीको भुक्तानी गर्न निर्देशन दिएका थिए।
सोही निर्देशनअनुसार अर्थले भौतिक मन्त्रालयलाई गत वर्षको रकम भुक्तानी गर्न १ अर्ब ७२ करोड रुपैयाँ बजेट थपेको हो। अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनिराम शर्माका अनुसार तत्कालका लागि उक्त रकम थप बजेटका रुपमा भौतिकलाई पठाइएको हो।
भौतिक मन्त्रालयसँगै सहरी विकास, खानेपानी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि निर्माण व्यवसायीलाई गत वर्षको रकम भुक्तानी गर्न बाँकी छ। तर, अन्य मन्त्रालयले आफूलाई आवश्यक रकम विवरण पेस नगरेकाले थप बजेट व्यवस्था नभएको प्रवक्ता शर्माले बताए।
‘थप बजेट माग जुन मन्त्रालयबाट आयो, सबै विवरण खुलेपछि मात्रै हामीले दिने हो। अहिले भौतिक मन्त्रालयलाई १ अर्ब ७२ करोड रुपैयाँ निकासा भएको छ,’ उनले भने। अरु मन्त्रालयको पनि विवरण खुलेर आएको भए अर्थले बजेट व्यवस्था गर्ने उनको भनाइ छ।
सो रकम भौतिक मन्त्रालयअन्तर्गतको सडक विभागबाट विभिन्न आयोजनालाई वितरण हुनेछ। तर, भौतिक मन्त्रालयले थप बजेट प्राप्त नगरेको जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उमेशबिन्दु श्रेष्ठले थप बजेटको पत्र मन्त्रालयमा आएकोबारे जानकारी नभएको बताए।