काठमाडौं। सम्पत्ति शुद्धीकरण अर्थात् मनी लाउन्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत भएको हो।
यसअघि यो विधेयक २४ माघ २०८० मा प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको थियो। २७ माघ २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको विधेयकलाई राष्ट्रिय सभाबाट सर्वसम्मत भएसँगै दुवै सदनबाट पारित भएको हो।
अब यो विधेयक प्रतिनिधिसभामा पेस गरिनेछ। प्रतिनिधिसभाले पारित गरे सभामुख देवराज घिमिरेबाट राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमाणीकरणका लागि पेस हुनेछ। त्यसपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ऐनका रुपमा लागू हुनेछ।